ताजा खबर

पर्यटकको बसाइँ लम्ब्याउन निकुञ्जमा नयाँ रुट

रत्ननगर (चितवन), असार ३,

पर्यटकको बसाइँ लम्ब्याउन चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र र पर्यटन व्यवसायीले नयाँ रुट तयार पारेको छ । पर्यटकलाई नयाँ पर्यटकीय गन्तव्य स्थलमा लैजान दुई वटा पैदल मार्ग निर्माण भइसकेको छ भने अर्काे एउटा निर्माणाधीन अवस्थामा रहेको चितवन निकुञ्जले जनाएको छ । नेपालकै तेस्रो पर्यटकिय क्षेत्र रत्ननगरको सौराहादेखि पटिहानीसम्मको सात किलोमिटर र पटिहानी छितामाईदेखि निकुञ्जको जर्नेली पोष्ट, चुरे पहाड हुँदै माडी जाने १३ किलोमिटरको पैदलमार्ग तयार भएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र राष्ट्रपति चुरे संरक्षण समितिको आर्थिक सहयोगमा नयाँ रुट निर्माण गरिएको हो । करिब रु आठ लाखको लागतमा दुई रुट तयार भएका हुन् । मुख्य गरी चितवन निकुञ्ज घुम्न चाहने पर्यटक तथा सौराहादेखि पटिहानी र माडी अवलोकन गर्न चाहने पर्यटकलाई केन्द्रित गरेर नयाँ पर्यटन रुट तयार पारिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो ।

सौराहाबाट सिधा निकुञ्ज पारी माडी पर्दछ । अहिले भइरहेको पर्यटकीय क्षेत्रलाई विस्तार गर्न र पर्यटकको बसाइ लम्याउन नयाँ रुट निर्माण भएको पैदलमार्ग कोसेढुङ्गा हुने थपलियाले बताउनुभयो । उहाँले अहिले उक्त रुटको प्रचारका लागि ब्रोसर बनाउने काम भइरहेको र पर्यटन व्यवसायीलाई समेत जानकारी दिने कार्यक्रम समेत रहेको छ ।

रुट तयार भइसकेकाले अब पर्यटन लैजाने काम व्यवसायीमा नै भएको निकुञ्जले जनाएको छ । अहिले चितवनमा पर्यटकको बसाइ औषतमा दुईदेखि बढीमा तीन दिनसम्म रहेको छ । पैदलमार्ग तथा माडीमा समेत पर्यटन व्यवसाय विस्तार हुनसके थप दुई दिन बसाइ लम्ब्याउन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका निवर्तमान अध्यक्ष नारायण भट्टराईले ‘सौराहा आएका पर्यटकलाई माडीमा लैजान सके उनीहरूको बसाइ लम्ब्याउन सकिने बताउनुहुन्छ ।

जिल्लामा यसअघि सौराहा माडी पैदलमार्ग खुलाउन लागिएको भए पनि निर्माण पूर्ण हुन नसकेको पाइएपछि अहिलेलाई रोकिएको र अन्य दुई क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको छ । यहाँ आउने पर्यटक अधिकांश निकुञ्ज घुम्ने र जङ्गली जनावर अवलोकन गर्ने हुनाले आवश्यक ठानेर पैदलमार्ग निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

स्रोत : गोर्खापत्र

Related posts