ताजा खबर

असारमा संविधान, साउनमा राष्ट्रिय सरकार : बाबुराम

२०७२ असार ३,

गोरखा : पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले असारमै बनाई साउनमा राष्ट्रिय सरकार गठन हुने बताएका छन् ।

संविधान ल्याउन प्रमुख दलबीच सहमति बनिसकेकाले असारभित्रै संविधान बनी साउनमा नयाँ राष्ट्रिय सरकार गठन हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘ढुक्क हुनुहोस, असार १३ भित्र मस्यौदा समितिले संविधानको मस्यौदा ल्याउँछ ल्याउँछ र, असारमै संविधान आउँछ’ भूकम्पप्रभावित गाविसको भ्रमणपछि बिहीबार सदरमुकाममा पत्रकारसँग उनले भने ‘संविधान बनिसकेपछि प्रधानमन्त्रीले राजीनामा भनिसक्नु भएकाले त्यसपछि राष्ट्रिय सरकार बन्नेछ ।’

संविधानका प्रस्ताबना, संविधान संशोधनका केही बिषय र अन्तरिम ब्यवस्थापनसम्बन्धी केही विषयको भने टुंगो लाग्न बाँकी रहेको उनले बताए । सहमति जुट्न बाँकी र थप्नुपर्ने केही विषयको पनि १३ गतेभित्रै टुंगो लगाइने उनको भनाइ थियो ।

असार १३ मा पहिलो मस्यौदा आएपछि त्यसलाई केही समय छलफल र सुझाव लिन राखी असार मसान्तभित्र संविधानसभाबाट संविधान जारी गर्ने दलहरुबीच सहमति भएको उनले बताए । राजनीति ‘अर्थमेटिक’ नभइ ‘अल्जेब्रा’ भएकाले केही दिनयता उता हुनसक्ने उनको भनाइ थियो ।

‘राजनीति भनेको ‘अर्थमेटिक’ नभइ ‘अल्जेब्रा’ हो । त्यसैले केही दिन तलमाथि हुनसक्छ’ उनले भने, ‘केही असन्तुष्टी बाँकी छन् । राजनीतिमा अनिश्चितता पनि बाँकी हुन्छन् । यो पटक भने संविधान जारी गर्ने हाम्रो प्रतिवद्धता छ । हाम्रो बशबाहिरको परिघटना भयो भने बेग्लै कुरा हो ।’

नयाँ संविधानमा ‘धर्मनिरपेक्ष’ शव्दाबली रहने उनले स्पष्ट पारे । प्रधानमन्त्रीले ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने भनी बोलेको पत्रपत्रिकाबाट थाहा पाएको भन्दै उनले धर्मनिरपेक्षतालाई अपरिवर्तनीय बुँदाकारुपमा राख्न सहमति भइसकेको उनको दाबी थियो ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts