ताजा खबर

आइसल्याण्डमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम

लन्डन, असार २,

लन्डनस्थित नेपाली दूतावासले आइसल्याण्डमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको छ । भूकम्पपछि दूतावासले पहिलोपटक यस खालको कार्यक्रम गर्दै नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिएको हो ।

राजधानी रेक्जाभिकस्थित फोस होटलमा आयोजित कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपालका करिब ८० प्रतिशत पर्यटकीय स्थल सुरक्षित रहेका र बन्द पुरातात्विक सम्पदाहरु खुलिसकेका जनाउँदै आइसल्याण्ड सरकारलाई पर्यटकहरु नेपाल पठाएर सहयोग गरिदिन आग्रह गरे । क्षेत्रीले वर्तमान राजनीतिक घटनाक्रम र आसन्न दाता सम्मेलनबारे अवगत गराउँदै नेपालको पुनर्निर्माणमा सघाउन पनि अपिल गरेका थिए ।

उक्त अवसरमा मिनिष्टर अफ इण्डस्ट्री, कमर्स एण्ड टुरिजम रेग्नियोर इलिन आर्नाडोटिरले नेपालको पुनर्निर्माणमा सघाउनेबारे विदेश मन्त्रालयमा कुरा राख्ने आश्वासन दिएको कार्यवहाक राजदूत क्षेत्रीले जनाए । मन्त्री आर्नाडोटिरले आफ्नो देशपनि ज्वालामुखीबाट आक्रान्त भएको जनाउंदै देशले कसरी पर्यटन प्रवद्र्धन गरिरहेको छ भन्नेबारे अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा नेपाल घुमिसकेका आइसल्याण्डवासी ज्वालामुखीविद अरि ट्राउष्टी गुइमुन्डसन, सन् १९९७ मा सगरमाथा चढ्ने पहिलो आइसल्याण्ड नागरिक हालग्रीमुर म्यागनुसन र अर्का पर्यटनवीद हेल्जी बेडिक्टसनले आफ्नो नेपाल अनुभव सुनाउँदै नेपालको प्राकृतिक सौन्दर्यताबारे वर्णन गरे । ती बक्ताहरुले अरुलाई पनि नेपाल भ्रमण गर्न प्रेरित गरेका थिए ।

करिब ७० जना सहभागी कार्यक्रममा स्थानीय कलाकारले नेपाली संस्कृति झल्कने विभिन्न नाचगान प्रस्तुत गरेका थिए । दूतावासले सगरमाथा आरोही, वक्ता र अन्य टुर अपरेटरहरुलाई प्रशंसापत्र समेत प्रदान गरेको छ । पर्यटन प्रवर्द्धन कार्यक्रममा दूतावास कर्मचारी, लन्डनका सफल व्यवसायी पशुपति भण्डारीसहित केही नेपालीको समेत उपस्थिति थियो ।

आइसल्याण्डले बुधवार विशेष कार्यक्रमबीच स्वतन्त्रता दिवस मनाएको छ । आइसल्याण्डमा करिब तीनसय नेपाली रहेको अनुमान छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *