ताजा खबर

जिविस धनुषाको ११ करोड भ्रष्टाचारमा ९ जना दोषी

२०७२ असार २,

जनकपुरधाम : करोडौको भ्रष्टाचारको आरोप लागेका जनकपुरका चर्चित व्यापारी तथा जिल्ला विकास समितिका निलम्वित सहलेखापाल जीवनाथ चौधरीसहित ९ जना विशेष अदालतबाट भ्रष्टाचारी ठहरिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविस धनुषामा ११ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा चौधरीसहित ८७ जना माथि मुद्दा चलाएको थियो ।

विशेष अदालतका अध्यक्ष भुपेन्द्र राई, नरेन्द्र शिवाकोटी र प्रभा बस्नेतको संयुक्त इजलासले दुई नम्बर बेन्चबाट मंगलबार अबेर गरेको फैसलाअनुसार ८७ जनामध्ये चौधरीसहित ९ जनालाई भ्रष्टाचारी ठहर गर्दै उनीहरुलाई चार महिनाको सजाय सुनाएका छ । अदालतले उनीहरुबाट विगो बमोजिमको रकम असुल्न पनि भनेको छ ।

विशेष अदालतका अनुसार अख्तियारले दाबी गरेका ८७ जनामध्ये जीवनाथ चौधरी, रामेश्वर यादवलाई सडक मर्मतमा रकम हिनामिना गरेको आरोपमा, लक्ष्मीनारायण महतो र मदन मोहनलाल कर्णलाई अन्य तीन योजनामा हिनामिना गरेको र विनोदकुमार ठाकुर र अशोककुमार साहलाई तरकारी सिड मर्मतमा भ्रष्टाचार गरेको ठहर गरिएको हो ।

यी ६ जनालाई विगो अनुसारको रकम असुल गर्दै चार महिनाको कैदसमेत फैसला भएको छ  । त्यसैगरी उपभोक्ता समितिका पदाधिकारीहरु प्रकाश मिश्र, उमाशंकर यादव र रघुनन्दन यादवलाई क्रमशः ८५ हजार, तीन लाख र एक लाख १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठ स्थानीय विकास मन्त्री हुँदा धनुषा लगायतका जिविसहरुको भ्रष्टाचारबारे झण्डै साढे तीन वर्षअघि अख्तियार र मन्त्रालयले छानविन गरेको थियो ।

धनुषा जिविसको ०६८/०६९ कोे २५ योजनामा झण्डै ११ करोडबढी भ्रष्टाचार भएको स्थानीय विकास मन्त्रालयको अनुसन्धानपछिको रिर्पोटले देखाएको थियो ।

विशेषको फैसला पूर्वाग्रही रहेको भन्दै त्यसविरुद्ध आफूले सर्वोच्च अदालतमा रिट गर्ने जिविसका निलम्बित सहलेखापाल चौधरीले प्रतिक्रिया दिए ।

विशेष अदालतले ८७ जनामध्ये ९ जनालाई मात्र काबाही गरी अन्य सबैलाई सफाइ दिएको हो । भ्रष्टाचारको आरोप लागेका उपभोक्ता समितिका अध्यक्षहरुलाई मात्र दोषी देखाइएको छ । योजनाको मूल्याङ्न गर्ने प्राविधिक लगायत कोषाध्यक्ष र अन्य सदस्यहरुलाई सफाइ दिइएको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts