२०७२ असार २,
काठमाडौं : कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई पराजित गरेको छ ।
अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनालाई विजयी गराउन म्यानचेस्टर सिटीका स्ट्राईकर सर्जियो अग्वेरोले निर्णायक गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको समूह बीको यो खेलमा दोस्रो हाफमा अर्जेन्टिनाले जित निकालेको हो ।
खेलको ५६ औं मिनेटमा पाब्लो जाबालेटाले निकालिदिएको क्रस पासलाई उत्कृष्ट मार्किङ गर्दै अग्वेरोले हेडर गोल गरेका हुन् ।
उरुग्वेविरुद्धको खेलमा अर्का स्टार स्ट्राईकर लियोनेल मेस्सीका केही उत्कृष्ट प्रयास उरुग्वेका गोल किपरल विफल बनाए ।
उरुग्वेले खेलको ८० मिनेटपछि अर्जेन्टिनाको पोस्टमा निरन्तर धावा बोले पनि गोल गर्न सकेन । उरुग्वेका लागि अर्जेन्टिनाविरुद्धको खेलमा स्टार स्ट्राइकर लुइस स्वारेजको अभाव खड्केको थियो ।
उनी ब्राजिल विश्वक कपमा इटालियन डिफेन्डर जर्जियो चिलिनीलाई टोकेपछि ९ अन्तर्राष्टिय खेलमा प्रतिबन्धका कारण मैदानमा उत्रन पाएका छैनन् ।
यो जितसँगै अर्जेन्टिना ४ अंकसहित गु्रप बीको शीर्ष स्थानमा छ । समान ४ अंक भएको पाराग्वे दोस्रो स्थानमा र तीन अंकसहित उरुग्वे तेस्रो स्थानमा छ । यो समूहको जमैकाले खाता खोल्न सकेको छैन ।
स्रोत : अन्नपुर्णपोस्ट