ताजा खबर

अनुदान रकम वितरणमा समस्या

ललितपुर, २०७२ असार २,
भूकम्पले घर पूर्णरूपमा क्षति भएका परिवारहरूलाई अस्थायी आवास बनाउन दिन लागिएको १५ हजार रुपैयाँ वितरणमा समस्या देखिएको छ । एउटै छानामुनि भिन्नाभिन्नै बसेका तर कानुनी रूपमा अंशबन्डा नभएका दाजुभाइमध्ये एक जनाले मात्र पाउने भएपछि यस्तो समस्या देखिएको हो ।

एउटै छानामुनि बसे पनि छुट्टाछुट्टै भान्छामा खाना खाने परिवार संख्या थुप्रै छन् । तर स्थानीय विकास अधिकारी पशुपति पोखरेल एउटै छानामुनि बस्ने जतिसुकै दाजुभाइ भए पनि एकले मात्र अस्थायी आवासका लागि १५ हजार अनुदान राहत पाउने बताउँछन् । ‘यस्ता परिवारका प्रत्येक दाजुभाइले राहत लिएमा गैर कानुनी हुन्छ,’ उनले भने, ‘त्यस्तालाई कडा कारबाही गरिन्छ ।’ कानुनी रूपमा अंशबन्डा नगरी परिवारका सदस्यहरूबीच सहमतिका आधारमा छुट्टाछुट्टै बस्ने परिवारहरू अन्य बस्तीमा भन्दा तुलनात्मक रूपमा नेवारी बस्तीमा धेरै छन् । यस्ता परिवारका प्रत्येक दाजुभाइले प्राविधिक टोलीलाई राहतका लागि छुट्टाछुट्टै नाम टिपाएका छन् ।

मंगलबार लेलेमा यस्ता परिवारका प्रत्येक दाजुभाइले १५/१५ हजार रकम बुझेका छन् । एउटै छानामुनि भए पनि छुट्टाछुट्टै बसिरहेका लेले माथिल्लो टोलका ज्ञानकुमार नगरकोटी, जीवनकुमार, श्यामकुमार र तल्लो टोलका रमन श्रेष्ठ, रमेश र रवीन्द्रले १५/१५ हजार रकम बुझे । कानुनीरूपमा अंशबन्डा नगरी पुस्तौंदेखि मौखिक सहमतिमा छुट्टिएर बस्दै आएको ज्ञानकुमार नगरकोटीले बताए । ‘केही शंका लागेमा राजनीतिक दलको सर्वदलीय संयन्त्रले अनुगमन गर्न सक्छ,’ उनले भने ।

एउटै छानामुनि बसे पनि छुट्टाछुट्टै भान्छा हुनेहरूलाई राहत वितरण गरिएको राहत वितरण समितिका सदस्य राजकुमार श्रेष्ठले बताए । ‘मापदण्डअनुसार वितरण गरेमा वास्तविक पीडितले पाउँदैनन्,’ उनले भने, ‘प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा रकम बाँडेका छौं ।’ लेलेमा जिल्ला प्राविधिक एक जना, योजना आयोगका २, डिभिजन सडक कार्यालयका १ र निर्वाचन आयोगका २ जना प्रतिनिधिसहितको टोलीले अध्ययन गरेका थिए । निर्वाचन आयोगका प्राविधिक तुलसीप्रसाद भट्टराईले यथार्थ विवरण संकलन गरी बुझाएको बताए ।

सोमबार लेले– १ का भूकम्पपीडितलाई गृह सचिव सूर्यप्रसाद सिलवालले १५ हजार रकम र परिचयपत्र दिई राहत रकम वितरण सुरुआत गरेका थिए । गृहसचिव सिलवालले पीडितले पाएको १५ हजार रुपैयाँको दुरुपयोग गर्नेलाई कडा कारबाही गरिने बताए । ‘एउटै परिवारमा बसेका श्रीमान्/श्रीमती, बाबुछोरा, दाजुभाइ छुट्टिएर दोहोरो रकम लिने/दिने भइरहेकोबारे उजुरीहरू आइरहेका छन्,’ उनले भने, ‘त्यस्तालाई डबल रकम असुल उपर गराई कारबाही गरिनेछ ।’

जिल्लाका दक्षिणी भेगका अधिकांश गाविसमा यस्तो समस्या देखिएको छ । शंखुमा सचिव र स्थानीय बासिन्दाबीच झडप नै भएको थियो । स्थानीयवासीका अनुसार पहुँचवालाले दोहोरो राहत पाएका छन् भने पहुँच नहुनेले पाउनुपर्ने रकमसमेत पाएका छैनन् ।

दलचोकी २ का तिलकप्रसाद तिमल्सिना र उनका छोरा प्रकाशमध्ये एकले मात्र पाउनुपर्ने रकम दुवैले बुझेको भन्दै उजुरी परेको थियो । प्रकाशले भने कानुनीरूपमा अंशबन्डा भइसकेको तर एउटै भान्छामा मात्र खाना खाइरहेको दाबी गरे ।

एक घरकाले छुट्टाछुट्टै परिवार दाबी गरी राहत रकम हिनामिनामा दलीय संन्यत्रका प्रतिनिधि र सम्बन्धित गाविस सचिवसमेतको संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ । अस्थायी आवासका लागि भारदेउ, कालेश्वर, ठुलादुर्लुङ, गिम्दी, प्युटार, गोटीखेल, चौघरे, माल्टा, इकुडोल, चन्दनपुर, शंखु, भट्टेडाँडा, बुंखेल, देवीचौर, घुसेल, आश्राङ, मानिखेल, दलचोकी, नल्लुमा गरी जम्मा १२ करोड १७ लाख १० हजार रुपैयाँ वितरण भइसकेको छ ।

प्रमुख जिल्ला अघिकारी यादवप्रसाद कोइरालाले दक्षिण भेगका प्राय: गाविसमा राहत रकम दोहोरो वितरण भएकोबारे मौखिक तथा लिखित उजुरी आइरहेको बताए । ‘उजुरीका आधारमा छानबिन गरी रुजु गरिनेछ,’ उनले भने ।

स्रोत : कान्तिपुर

Related posts