भक्तपुर, २०७२ असार २,
उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पका कारण पहिलो चरणको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई दोस्रो चरणको मौका दिने भएको छ ।
भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा र रामेछापमा पहिलो चरणको परीक्षा भएको थिएन । यी जिल्लामा असार १४ देखि कक्षा १२ र असार २४ बाट कक्षा ११ को दोस्रो चरणको वार्षिक परीक्षा लिइँदैछ । जेठ २० बाट सुरु भएको कक्षा १२ र सोमबारबाट सञ्चालन भएको कक्षा ११ को परीक्षामा सहभागी हुनुपर्ने, तर भूकम्पकै कारण सहभागी नभएका विद्यार्थीलाई यस्तो अवसर दिन लागिएको हो ।
भूकम्प प्रभावित गोरखा, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, मकवानपुर, काठमाडौं र ललितपुरमा अध्ययनरत विद्यार्थीले यो सुविधा लिन पाउँछन् । त्यस्तै यी जिल्लामा स्थायी बसोबास भई अन्य जिल्लामा अध्ययनरत विद्यार्थीको पनि परीक्षा छुट भएमा दोस्रो चरणमा सहभागी हुन पाउने व्यवस्था गरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
दोस्रो चरणमा सहभागी हुन अध्ययनरत उच्च माध्यमिक विद्यालयको सिफारिस र आफ्नो प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय र काठमाडौं कार्यालय, भीमसेनगोलामा असार ७ सम्म निवेदन दिनुपर्ने हुन्छ ।
निवेदनमा के कारणले परीक्षामा सहभागी हुन नसकेको प्रमाणसमेत पेस गर्नुपर्ने प्रावधान छ । परीक्षा केन्द्र सानोठिमीस्थित एसओएस हरमन माइनर उच्च माविमा तय गरिएको परिषद्ले जनाएको छ ।
स्रोत : कान्तिपुर