ताजा खबर

एभिन्युजले ३ दिनभित्र बक्यौता भुक्तानी गर्ने

काठमाडौ, २०७२  असार २,
एभिन्युज टेलिभिजनको व्यवस्थापन पक्ष पत्रकार र कर्मचारीको बक्यौता रकम तीन दिनभित्र भुक्तानी गर्न सहमत भएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा आन्दोलन भइरहँदा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले बक्यौता रकम मंगलबार नै चेकमार्फत बैंक खातामा पठाउन र अबउप्रान्त नियमित रूपले मासिक पारिश्रमिक भुक्तानी गर्न सहमति जनाएका हुन् ।

महासंघका अध्यक्ष महेन्द्र विष्ट, एभिन्युज टेलिभिजनका अध्यक्ष राजकर्णिकार र एभिन्युज शाखा अध्यक्ष विष्णुबहादुर बस्नेतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । व्यवस्थापन पक्षले असार मसान्तभित्र श्रमजीवी पत्रकार ऐनबमोजिम नियुक्तिपत्र, दुर्घटना बिमा, स्वास्थ्य बिमालगायत सबै सुविधा व्यवस्था गर्ने सहमति भएको छ ।

एभिन्युज व्यवस्थापन पक्षसँग ऐन कार्यान्वयनलगायत माग राखेकै कारण पूर्वाग्रह राखी कारबाही नगर्ने, कारबाही भएको अवस्थामा फिर्ता गर्ने र अबउप्रान्त पत्रकार, कर्मचारीले पनि कानुनबमोजिम कार्य समय, बिदालगायतको कर्तव्य निर्वाह गर्ने सहमति भएको महासंघले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । महासंघले मंगलबार नै हिमालय टेलिभिजनमा पनि ५ सूत्रीय माग राखी एक घण्टा धर्ना दिएको थियो । धर्नापछि हिमालय टीभी व्यवस्थापनसँग संक्षिप्त वार्ता भए पनि कुनै सहमति हुन नसकेकाले आन्दोलन जारी राखिएको महासंघले जनाएको छ ।

स्रोत : कान्तिपुर

Related posts