ताजा खबर

मस्यौदा जनतामा लगेर अल्झिन आवश्यक छैन :ओली

२०७२ असार २,
काठमाडौं : एमालेका अध्यक्ष केपी ओलीले आफू मुलुक बाहिर रहँदा पनि संविधान लेखनको कुनै काम नरोकिने बताएका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग ओलीले भने, ‘स्वास्थ्य परीक्षणका क्रममा म केही दिन मुलुक बाहिर रहे पनि मेरो अनुपस्थितिका कारण संविधानको कुनै काम रोकिदैन । मैले पार्टीका वरिष्ठ साथीहरुलाई सबै जिम्मा दिएर हिडेको छु।’ उनले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमसँगको परामर्श र समन्वयमा सबै काम हुने बताए।

संविधानको मस्यौदा सुझाव तथा प्रतिक्रियाका लागि एक महिनासम्म जनतामा लागेर अल्झिने अवस्था नरहेको बताए। उनले भने, ‘आठ वर्ष जनताले यसमा छलफल र बहस गरिसकेका छन्। अहिले विपद्को बेला छ ।यस्तो बेला जनता एक महिना संविधान पढेर बस्दैनन्। छोटो बाटोबाट अघि बढ्नुपर्छ।’
संविधानको मस्यौदा एक महिना जनताकहाँ लैजानुपर्छ प्रधानमन्त्रीको भनाइबारे राखिएको जिज्ञासामा उनले भने, ‘एक महिना जनमतका लागि जाने समय र अवस्था छैन।’
उनले अब छलफल र बहसको नाममा समय खेर फाल्ने वा अल्झिने अवस्था नरहेको स्पष्ट पार्दै भने, ‘एमालेले फास्ट ट्रयाकबाट अघि बढौं र असार मसान्तभित्रै संविधान जारी गरौं भन्दा प्रधानमन्त्रीजीले सुपरफास्ट भन्नु भएको थियो । सुपरफास्ट नभए पनि फास्टबाट पछाडि फर्किनुहुन्छ जस्तो मलाई लाग्दैन।’
उनले आफु कुनै बिरामी होइन, सन्चो भएर चेकअपमा जान लागेको ओलीले बताए। नियमित स्वास्थ्य परीक्षण गरेर पाँच दिनपछि ओली स्वदेश फर्किने कार्यक्रम छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts