ताजा खबर

नेपालबाटै सम्भव छ पीआर

अस्ट्रेलिया, असार १,

तपाईं अस्ट्रेलियाको स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिन चाहनुहुन्छ भने आवेदन दिन अस्ट्रेलिया आइरहन आवश्यक छैन । यहाँको सरकारले तोकिदिएको योग्यता र क्षमता छ भने नेपालबाटै पीआर लिएर अस्ट्रेलियामा जीवनयापन गर्न पाउनुहुनेछ । त्यति मात्र नभएर यहाँ सरकारद्वारा प्रदान गरिने हरेक सुविधाको समेत कानुनतः उपभोग गर्न सक्नुहुनेछ ।

यस वर्ष मात्र यहाँ रहेर माइग्रेसन सेन्टर सञ्चालन गर्दै आएका व्यवसायीहरूमार्फत दर्जनौं नेपालीले नेपालबाटै अस्ट्रेलियाको पीआर अवसर पाएका छन् । ‘सुन्दा अलि अनौठो लाग्न सक्छ, तर नेपालमै अध्ययन गरेका नेपालीले कुनै एजेन्टको समेत सहायताबिनै अस्ट्रेलियाको पीआर पाउन सक्छन,’ सिड्नीस्थित राइट्स एन्ड एसोसिएट्सका मेनेजर तथा कन्सल्टेन्ट दिनेश सुवेदीले भने, ‘तर त्यसका लागि अस्ट्रेलिया सरकारको सर्त पूरा भने गर्नैपर्छ ।’ सुवेदीका अनुसार पीआर पाउन अस्ट्रेलिया सरकारले प्रत्येक वर्ष निकाल्ने ‘अकुपेसनल लिस्ट’ मा परेको विषय अध्ययन गरेको हुनुपर्ने प्रावधान छ ।

अस्ट्रेलिया सरकारले अंकका आधारमा पीआर दिने भएकाले ६० अंक पुर्‍याएको खण्डमा आवेदन दिन पाइने व्यवस्था छ । तर, त्यसबाहेक ५५ अंकबाट स्टेट स्पोन्सरसिप र ५० अंकबाट रिजनल स्पोन्सरसिपमार्फत समेत पीआर व्यवस्था गरिदिएको छ । जसका लागि अस्ट्रेलियाको सम्बद्ध निकायबाट आफ्नो शैक्षिक योग्यता प्रमाणित हुनुपर्ने हुन्छ । ‘अहिलेसम्म आईटी, इन्जिनियरिङ र कुक विषय अध्ययन गरेकाले नेपालबाटै यहाँको स्थायी बसोबासको अनुमति पाएका छन्,’ मण्डला कन्सल्टेन्सीका माइग्रेसन कन्सल्टेन्ट सुनील ज्ञवालीले भने, ‘जसको सर्त नै अस्ट्रेलिया सरकारले तोकेको अंक पूरा गर्नु हो ।’

विज्ञहरूका अनुसार नेपालको इन्जिनियरिङ, आईटी विषयसम्बन्धी पढाइले पनि अस्ट्रेलियामा समेत मान्यता पाउने गरेको छ । त्यसबाहेक, नर्सिङ, डाक्टरीलगायत विषयले अस्ट्रेलिया आएर तोकिएको विषय अध्ययन गरिसकेपछि मात्र शैक्षिक योग्यता पाउँछन् । कुकिङ पढेकाले रोजगारदाताले स्पोन्सर गरेमा अस्ट्रेलिया आउन पाउँछन् । नेपालमा पढाइने सामान्य विषयहरूले यहाँ सहजै मान्यता नपाउने अवस्था छ ।

अहिलेको अवस्थामा स्थायी अनुमतिपत्र पाउने तीनवटा सहज बाटा नेपालीले पछ्याउने गरेका छन् । ५५ अंक पुर्‍याएर अस्ट्रेलियाको कुनै सुगम सहरमा निश्चित २ वर्षसम्म बस्नुपर्ने हुन्छ भने ५० अंक पुर्‍याएर निश्चित २ वर्ष अस्ट्रेलियाको तोकिएको दुर्गम भेकमा गएर बस्नुपर्ने हुन्छ ।

अस्ट्रेलियाले ३२ वर्षसम्मको उमेरलाई ३० अंक, ब्याचलर र मास्टर्ससम्मको अध्ययनलाई १५, आईएलटीएस हरेक विषयमा ७ आएकालाई १० अंक, ३ वर्ष सम्बन्धित क्षेत्रमा गरिएको कामको अनुभवको ५ अंक र ५ वर्षे अनुभवलाई १० अंक दिने गरेको छ ।

स्रोत : कान्तिपुर

Related posts