२०७२ असार १ मंगलवार,
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनका अन्तरवस्तुमा सहमति भएर मस्यौदाको काम धमाधम भइरहेकोले अब संविधान कसैले रोक्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका निर्माण व्यवसायी महासंघलगायतकासंघ संस्थाका प्रतिनिधिहरुसंग कोइरालाले भने, ढुक्क हुनुस्, अब संविधान बन्छ । प्रधानमन्त्री कोइरालाले संविधान बनेपछि मुलुकमा शान्ति,स्थायित्व र विकास हुने विश्वास व्यक्त गरे।
उनले भूकम्पले ल्याएको विपद्लाई सुरक्षित रुपमा व्यवस्थापन गरी मुलुकको विकास निर्माणको गतिलाई अगाडि बढाइने बताए। प्रधानमन्त्री कोइरालाले मुलुकमा ८२ बर्षपछि आएको सबैभन्दा ठूलो विपद्ले पुर्याएको विनासको उल्लेख गर्दै भने,“ यो विपद्मा सरकार चुप लागेर बसेको छैन, बस्ने पनि छैन । सरकार भरपूर लागेको छ र लाग्ने छ ।”
प्रधानमन्त्री कोइरालाले आवश्यक स्रोत,साधन र जनशक्तिका बाबजूद पनि नेपालमा भएको खोजी,उद्धार र राहत कार्यको विदेशीहरुले प्रशंसा गरेको बताए। संकटका बेलामा सेना,प्रहरी,सशस्त्र प्रहरी,निजामति कर्मचारी,राजनीतिक दलका नेता कार्यकर्ता, पेशागत तथा सामाजिक संघ संस्थाहरु र विद्यालय विश्वविद्यालयका शिक्षक शिक्षिका विद्यार्थी सबैले सक्रियतापूर्वक सराहनीय काम गरेको उल्लेख गरे।
प्रधानमन्त्री कोइरालाले अतिप्रभावित क्षेत्रका सबै बस्तीमा भूगर्भविद्हरु पठाउन आवश्यक भएको उल्लेख गर्दै भने “नयाँ पुस्ता वस्ती सर्न तयार भए पनि पुरानो पुस्ताको माटोसंग मोह जोडिएको कारणले भरसक नसर्ने मनस्थिति देखियो । त्यसलाई परिवर्तन गर्न एकपटक भूगर्भविद्लाई पठाउनै पर्दछ ।”
स्रोत : अन्नपुर्णपोस्ट