चित्र बहादुर के.सी. को “फिटनेस मन्त्र ‘’

२०७२ असार १,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७५ वर्षका भए । तर, उनको उत्साह कुनै युवाको भन्दा कम छैन । यस्तो उत्साहलाई उनको स्वास्थ्यले पनि साथ दिएको छ । यो उमेरसम्म आइपुग्दा उनी कहिल्यै थला परेनन्, न त कुनै गम्भीर रोगले उनलाई गाँज्न भ्यायो । अहिले पनि उनी ठमठमी हिँडेर पार्टीको काममा खटिन्छन् । स्वास्थ्यबारे नयाँ पत्रिकाले उनीसँग गरेको कुराकानी : ७५ वर्षको भएँ । स्वास्थ्य करिब–करिब कामचलाउ खालको छ । पेटमा थोरै समस्या छ । खाएको पच्न अलिक गाह्रो पर्छ । केही समयअघि जँचाउँदा मेरुदण्ड खिइएको पाइयो । यसले समस्या थपेको छ । अहिले प्रेसर पनि हल्का बढेको छ, तर त्यति चर्कोसँग बढेको छैन । डाक्टरको सल्लाहमा पाँच–सात महिनायता प्रेसरको औषधि नियमित सेवन गरिरहेको छु । दिनको एकपटक औषधि खानुपर्छ । अहिलेसम्म मलाई ज्वरो आएको छैन । ज्वरो आएर थला परेको अनुभव मैले आजसम्म गर्न पाएकै छैन । अरूहरूका लागि ज्वरो आउनु समस्या होला । तर, कहिल्यै ज्वरो नआउनु मेरा लागि समस्याजस्तै भएको छ । कहिलेकाहीँ एकैपटक लैजाने गरी पो आउने हो कि भन्ने लाग्छ । पेट खराब भएर अथवा अन्य यस्तै कारणले भने वेला–वेलामा साह्रो पार्छ । तर पनि, पेट कमजोर भएकैले गर्दा ओछ्यान पर्नुपरेको छैन । मेरुदण्ड खिइने समस्याले पनि मलाई थला पारेको छैन । अहिले पनि म विनाकुनै अप्ठ्यारो हिँडिरहेको छु । तर, पेट र मेरुदण्डको समस्याले मलाई पथपरहेजमा बस्न बाध्य बनाएको छ । मेरुदण्ड खिएकाले गर्दा मेरो ढाड दुख्छ । त्यही भएर गाडीमा लामो दूरीको यात्रा गर्नुहुँदैन । पाचनक्रिया अलिक कमजोर भएकाले खानपानमा परहेज अपनाउनुपरेको छ । ००० खाएको पचाउन गाह्रो हुन थालेपछि १५–१६ वर्षदेखि माछामासु खान ठ्याम्मै छोडेको छु । एलोपेथी, होमियोपेथी, आयुर्वेदिकलगायतका विभिन्न खाले डाक्टरसँग पेटलाई कसरी ठीक गर्ने भन्नेबारे सल्लाह मागेँ । सबैजनाले माछामासु छोडेर शाकाहारी बन्दा तपाईंलाई राम्रो हुन्छ भन्ने सुझाब दिनुभयो । त्यसपछि शाकाहारी बनेँ । ढाडमा समस्या देखा परेपछि डाक्टरहरूले गाडीमा लामो समयसम्म यात्रा नगर्न सल्लाह दिए । डाक्टरकोबाट एउटा पेटी पनि ल्याएको छु, कम्मरमा बाँध्ने । यो पेटी सधैँ बाँध्ने गर्छु (लुगा उचालेर ढाडमा बाँधेको पेटी देखाउँदै) । पेटी लगाउँदा ढाडलाई अलिक आड मिल्दो रहेछ । यसले आराम महसुस पनि गराउँछ । प्रेसरले नहानोस् भनेर ‘टु प्वाइन्ट फाइभ एमजी’को प्रेसरको औषधि खान थालेको छु । योबाहेक अरू औषधि खानुपरेको छैन । ००० खानपानमा म अनुशासित नै छु । जे पायो त्यही, जाहाँ पायो त्यहीँ खाँदिनँ । बिहान उठेपछि पानी पिउँछु । अनुकूल परेसम्म महपानी खान्छु । गर्मीमा चिसो पानीमा, ठण्डीमा मनतातो पानीमा मह मिसाएर खाने गर्छु । आजभोलि सिस्नुपानी खान थालेको छु । सिस्नुको धुलो पानीमा हालेर पिउँदा राम्रो गर्छ रे । महमा शरीरलाई फाइदा गर्ने अनेक तत्त्व हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने शक्ति प्रदान गर्छ । सिस्नुपानीले शरीरमा भिटामिन–ए’ आपूर्ति गर्छ रे । बिहान पानी पिएपछि चिया खान्छु । नास्ता खाँदिनँ । एकैपटक नौ अथवा सवा नौ बजे खाना खान्छु । ज्यादै ढिलो भएछ भने पनि साढे नौ बजेसम्ममा खाना खाइसक्छु । बिहानको खाना साधारण खालको हुन्छ– दाल, भात, तरकारी । दूध–दहीको मामलामा म अलिक लोभी नै छु । खानामा दूध–दही चाहिन्छ । अचारमा खासै इन्ट्रेस्ट छैन । पिनेको अचारमा पुदिना हालेको भेट्टाएँ भने चाहिँ रमाई–रमाई खान्छु । मैले मन पराउने भएकाले घरमा पुदिना हालेको अचार बनिरहन्छ । पुदिनाले पेटलाई पनि राम्रो गर्छ । अरू खालको अमिलो, पिरो, बट्टामा हालेको पुरानो अचार कहिल्यै खाँदिनँ । मौका परेसम्म मैले मकैको आँटा, गहुँको आँटा, जौको आँटाको परिकार खाने गरेको छुु । पाएसम्म खानामा आँटापिठोकै परिकार होस् भन्ने मेरो चाहना हुन्छ, विशेष गरी बिहानको खानामा । बेलुका कहिले रोटी खान्छु, कहिले भात । घरमा छु भने मेरो खाने टाइम सधँै एकनासको हुन्छ । कहिलेकाहीँ संविधानसभामा राति अबेरसम्म बैठक चल्छ । त्यतिवेला टाइममै खाना खान पाइँदैन । घरमै छु भने चाहिँ मैले बिहान र बेलुकाको खाना सधैँ एउटै टाइममा खाने गरेको छु । अर्थात्, नौ बजेदेखि साढे नौ बजेभित्रमा । खाने कुरा पनि शरीरका लागि औषधिजस्तै हो । जसरी शरीरमा लागोस् भन्नका लागि हामी निश्चित समयमा औषधि खान्छौँ, त्यस्तै खाना पनि शरीरमा लागोस् भन्नका लागि एउटै समयमा खाने नियम बसाल्नुपर्छ । खानाको मात्रा त मिलाउनैपर्छ, साथै टाइममा पनि गडबड हुन दिनुहुँदैन भन्ने मलाई लाग्छ । रातिको भन्दा बिहानको खाना अलिक बढी खाने गर्छु । किनकि, दिनभर दौडधुप गर्नुपर्छ, हिँडिरहने काम पर्छ । यसका लागि ऊर्जा चाहिन्छ । दिनभरिका लागि चाहिने ऊर्जा बिहानको खानाबाट जोहो गर्नुपर्ने हुन्छ । दिउँसो केही खाँदिनँ । बिहान र दिउँसो नास्ता गर्ने मेरो बानी छैन । कतै जाँदा सञ्जोग परेछ भने खाइएला पनि । तर बानी छैन । बिहान र रातिको खानाकै भरमा टिकेको छु । ००० कुनै वेला मलाई पथरीको समस्या थियो । तीनचोटि पथरीको अप्रेसन गरिसकेको छु । पथरी भएकाले गर्दा बढी पानी खाने बानी बसेको छ । दिनमा ६–सात लिटरसम्म पानी खाने गर्छु । घरबाहिर निस्किँदा झोलामा पानी लिएर जाँदिनँ । जारको पानी खान्छु । जारको पानी भेटिनँ भने सानो बोतलको पानी (मिनरल वाटर) किनेर खान्छु । होटलमा म हत्तपत्त जाँदिनँ । होटलमा छिरेर सकेसम्म केही खानुनपरे हुन्थ्यो भन्नेमा मेरो जोड रहने गर्छ । होटलमा मात्र होइन, घरबाहिर कतै खाँदै खाँदिनँ भन्दा पनि हुन्छ । निम्ता त थुप्रो ठाउँबाट आउँछन्, भोजभतेरमा सहभागी हुने । निमन्त्रणा मान्न भने पुग्ने गर्छु । म पार्टीमा गएको छु भनेर घरको भान्सामा मेरा लागि खाना नपकाउने भन्ने हुँदैन । किनकि, जुनसुकै पार्टीमा गए पनि घर फर्किएरै खाने गरेको छु । पार्टी, भोजभतेरमा सामेल हुन्छु मात्र । कुनै कारणवश बाहिर खाइएछ भने पेट गडबड भइहाल्छ । बाहिर खायो भने मानसिक असर पनि तत्काल परिहाल्छ । बाहिर खायो भने ठीक हुँदैन भन्ने खालको मनोविज्ञानले दिमागमा जरा गाडेजस्तो छ । ००० कुनै पनि पेय पदार्थको अम्मल मलाई छैन । रक्सी खाँदिनँ । दूध–दहीचाहिँ खान्छु । बैँस छँदा कहिलेकाहीँ रक्सी पनि खाइयो । त्यतिखेर ब्रान्डस्रान्डका भन्दा पनि गाउँघरमा बन्ने लोकल रक्सी वेला–वेलामा खाइयो । तर, राजनीतिमा लागेकाले रक्सीको मातमा डुबिएन । लामो समयसम्म भूमिगत बस्नुपर्‍यो । भूमिगत बस्ने मानिसले रक्सी खाएर हिँड्ने कुरा आउँदैन । किनकि, पार्टीको आफ््नै अनुशासन हुन्छ । फेरि प्रहरी आदिबाट बचेर हिँड्नुपर्ने हुन्छ । मातेर हिँड्यो भने सिआइडीले जतिवेला पनि समात्न सक्छ । ००० अरू पार्टीका नेताहरूसँग भेट हुँदा वेलाबखत मेरो स्वास्थ्यबारे सोधखोज गर्ने गर्छन् । यो उमेरमा पनि हिँडेर जताततै पुगिरहनुभएको हुन्छ भन्छन् । मैले नचिनेका मानिसले पनि भेट हुँदा ‘तपाईं त्यस्तै ६०–६५ वर्षको हुनुभयो होला’ भन्ने गर्छन् । ‘होइन, ७५ वर्षको भएँ’ भन्दा छक्क पर्छन् । माधवकुमार नेपालका पिताजी बितेपछि उहाँको घरमा गएको थिएँ । म पुगेपछि त्यहाँ भएका मानिसले मलाई भने, ‘तपाईं निकै लामो समयसम्म बाँच्नुहुन्छ ।’ ‘किन ?’ मैले सोधेँ । ‘तपाईंलाई जहिल्यै पनि पैदल हिँडिरहेको देख्छौँ हामी । यस्तो पैदल हिँड्ने मानिसलाई पनि कहीँ रोग लाग्छ ?’ साँच्चिकै म नियमित हिँड्ने गर्छु । किनकि, मसँग चढ्नलाई गाडी छैन । चाँडै जानु छ भने टेम्पो चढ्छु । औषतमा हरेक दिन कम्तीमा एक घन्टा त हिँडेकै हुन्छु । मिल्दाखेरि बिहान एकफेर घुमेर घर फर्किन्छु । ००० कसरत गर्दिनँ । कसरत गर्ने रहर त छ । तर, पैदल हिँड्ने गरेकाले कसरतको काम यसैले गर्ला भन्ने विश्वासले गर्दा कसरतमा त्यति ध्यान दिएको छैन । निद्रा पनि मलाई राम्रो लाग्छ । राति बिबिसी (नेपाली सेवा) सुनेपछि मलाई अटोमेटिकल्ली निद्रा लागिहाल्छ । वर्षौँदेखिको बानी हो यो । बिबिसी नित्य सुन्छु । बिबिसी समाचार सिद्धिनासाथ झुसुक्क निदाइहाल्छु । कहिलेकाहीँ त रेडियो अफ गर्न पनि भ्याउँदिनँ । बिबिसी सुनेर सुतेको म एकैपटक बिहान साढे चार–पाँच बजेतिर उठ्छु । यस्तै खानपान, रहनसहनमा बानी बसिसकेको छ । त्यस्तो अप्ठ्यारो पर्ने गरी स्वास्थ्यमा समस्या अहिलेसम्म आएको छैन । ०२३ सालतिर घाँटीभित्र खटिरो आयो । सासै फेर्न गाह्रो भयो । केही निल्न नहुने भयो । त्यतिवेला घाँटीको खटिरोले नै मलाई लैजान्छ कि क्या हो भन्ने लागेको थियो । २०–२२ दिनसम्म केही खान पनि भएन । बागलुङका एकजना सिपालु कम्पाउन्डरले घाँटीभित्र इन्जेक्सन छिराएर घाउ फुटाइदिए । त्यसपछि म बाँचेँ । पछि पथरीको अप्रेसन गर्दा केही गाह्रो पर्ने पो हो कि भन्ने हल्का लागेको थियो । मर्छु नै जस्तो चाहिँ लागेको थिएन । नभन्दै केही भएन ।

स्रोत : नया पत्रिका

Related posts