ताजा खबर

कसरी बने निखिल एक्सन स्टर ?

२०७२ असार  १,

अभिनेता, निर्माता हुँदै भैरव फिल्मबाट निर्देशकका रूपमा समेत अघि बढेका निखिल उप्रेती अहिले तनावमा छन् । तनावको कारण त उही हो– भूकम्प र त्यसले आमनेपालीमा परेको दु:ख । यो दु:खको अवस्थामा उनी पनि स्वाभाविक रूपमा दु:खी छन् । नेपाली फिल्मको भविष्य कस्तो होला भन्ने चिन्ताले उनलाई झन् सताएको छ । करिब डेढ दशकको अवधिमा एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनी निरन्तर फिल्म निर्माण र अभिनय गर्न चाहन्छन् । आफू अभिनीत भैरव र लुटेरा दुवै फिल्मबाट औधी आशावादी रहेका निखिल अर्काे फिल्म निर्माणमा जुटिसकेका थिए, तर भूकम्पका कारण लथालिंग भएको छ । भैरव भने साउन अन्तिम साता रिलिज हुने सम्भावना अत्यधिक छ ।

पहिलो फिल्म पिँजडाबाटै एक्सन स्टारका रूपमा स्थापित निखिल आफ्नो भैरवले पुन: नेपाली फिल्ममा एक्सन ट्रेन्ड ल्याउने दाबी गर्छन् । नौ वर्ष मुम्बईमा स्टन्ट तथा सहायक निर्देशकका रूपमा आफूलाई निखारेका निखिलले आफूलाई एक्सन स्टार बनाउन निकै संघर्ष र मेहनत गरेका छन् । सर्लाहीका दिनेश उप्रेती निखिल बनेर अहिलेको अवस्थामा आइपुग्दासम्मका उनका प्रमुख स्मरण यस्ता छन् :

सानोमा साह्रै पिलन्धरे थिएँ म सानोमा दुब्लो, फु गरेपछि ढल्लाजस्तो साह्रै पिलन्धरे थिएँ । बच्चैदेखि ब्रुस ली र ज्याकी च्याङहरूको एक्सनबाट निकै प्रभावित थिएँ । उनीहरूको फिल्म हेर्न पाए सबथोक भुल्थेँ । त्यही प्रभाव ममा पर्‍यो । उनीहरू पनि दुब्ला, म पनि दुब्लो । मलाई लाग्यो, उनीहरूले झैँ मैले पनि गर्न सक्छु । त्यसपछि म मार्सलआर्ट खेल्न थालेँ । सम्मर सेट, जम्प सबै गर्थें । खेतको गरामा उफ्रिएर डल्ला फोरिन्थ्यो । रुख चढ्ने, उफ्रिने प्राक्टिस गर्थें । पर्खालमा हिँड्ने प्राक्टिस पनि गर्थें । ज्याकी, ब्रुस लीले फिल्ममा जेजे गर्थे, रियलममा मैले त्यही सिको गर्थें । त्यसो गर्दा मेरो हात, खुट्टा, दाँत कतिचोटि भाँचियो, भाँचियो । घरबाट गाली त कति खान्थेँ खान्थेँ । तर, मार्सलआर्टप्रतिको मेरो लगाव रत्तिभर पनि घटेन । अस्ति काठमाडौं आएका वेलामा ज्याकी च्याङलाई भेट्ने मन थियो । तर, उनी निकै कम समयका लागि आएकाले सम्भव भएन । तर, कुनै दिन त भेटुँला भन्ने छ ।

बलिउडमा ट्राई गरेँ एसएलसी पास गरेपछि काठमाडौं आएर पढाइका साथै उसु खेल्न थालेँ । त्यतिवेलासम्म म मार्सलआर्टमा तगडा भइसकेको थिएँ । साथीहरू मेरो चर्तिकलाको तारिफ गर्थे । उनीहरूले मलाई उक्साए– तँ फिल्ममा ट्राइ गर्, हिट हुन्छस् । तर, ममा हिरो बन्ने, अभिनय गर्ने न सपना थियो, न त योजना नै । साथीहरूको सल्लाह मलाई ठिक लाग्यो । फिल्म त खेल्ने, तर मैले यहाँ कोही चिनेको थिइनँ । त्यतिवेला यहाँ त्यति साह्रो एक्सन फिल्म पनि बन्दैनथे । त्यतिवेलाका चर्चित खलअभिनेता दाइ पवन मैनालीले मलाई कुनै दिन मैले फिल्म बनाएँ भने तिमीलाई हिरो बनाउँछु भन्नुभएको थियो । मैले सोचेँ, फिल्ममै ट्राइ गर्ने हो भने बलिउडमा किन नगर्ने ? त्यसपछि म मुम्बई पसेँ । त्यहाँ पनि मैले कसैलाई चिनेको थिइनँ । सीधै एक्टर स्टुडियोमा एड्मिसन लिएर ट्ेरनिङ गर्न थालेँ । त्यहाँ रानी मुखर्जी, रोहित सेठ्ठी, रजत मुखर्जी, रतन दारुवालाहरू मेरा क्लासमेट थिए । उनीहरू कोही अभिनयमा फोकस भए । तर, म भने एक्सनमा बढी फोकस भएँ । बिस्तारै एक्सन स्टन्टको काम पाउँदै गएँ । असिस्टेन्ट एक्सन डिरेक्टर भएर पनि काम गरेँ ।

मैले पहिलोपटक मिथुन चक्रवर्तीको डुब्लिकेट भएर काम गरेको थिएँ । पैसा पाइन्थ्यो, असिस्टेन्ट पनि गर्थें, स्टन्ट पनि गर्थें । काम र दामको कमी हुँदैनथ्यो । त्यतिवेला मैले साउथ हिरो राजकुमार, शिवराजकुमार, करिश्मा कपुर, बबी देओललगायत थुप्रै कलाकारको स्टन्ट गरेँ । अफला तुम गीतमा मैले स्टेजमा अक्षयकुमारको डमी पनि गरेँ । नौ वर्ष मुम्बई बस्दा एक्सनका धेरै काम गरेँ । पछि यहाँबाट पवन मैनाली दाइले पिँजडा फिल्ममा हिरो लिनका लागि बोलाउनुभयो । अनि म आएँ । यता आएपछि यतै व्यस्त भएँ । खतरनाक एक्सन स्टन्ट गरेँ पिँजडा फिल्ममा मैले एक्सनका नौला स्टन्टहरू प्रस्तुत गरेँ । कान्तिपुर पब्लिकेसनको सात तलाबाट हाम फालेँ । त्यो यति रिस्की थियो कि, अलिकति पनि ब्यालेन्स बिग्रिएको भए मेरो ज्यानै जान सक्थ्यो । मैले आफूमा भएको कलालाई प्रस्तुत गर्न कुनै कसर बाँकी राखिनँ । त्यही फिल्ममा मैले कुदिरहेको कारलाई फ्लाइङ किकले नाघेँ । जमलपुलबाट सम्मरसेट हानेँ । मैले सात तलाबाट हाम फालेको कुराले हंगामा मच्चियो । फिल्म पनि सुपरहिट भयो । भित्तामा हिँड्नु त मेरा लागि सामान्य नै हो ।

त्यसपछि मायाको जाल फिल्ममा मुग्लिङ पुलको तारमा हिँडेँ । सन्तान फिल्ममा बाइक उडाएर होर्डिङबोर्ड फोडेर निस्किएँ । त्यो स्टन्ट सट हाइ स्पिड क्यामेरामा रेकर्ड नभइदिनाले सोचेजति मज्जा आएन । प्राविधिक कमजोरीका कारण जुन रोमाञ्चकता आउनुपर्ने हो, फिल्ममा त्यो हुँदैन । त्यो सट दिँदा थोरै पनि मिस्टेक भएको भए ज्यान जान सक्थ्यो । त्यतिवेला मलाई लाग्यो, मैले मात्र गरेर हुँदैन, प्रविधिले पनि साथ दिनुपर्छ । सावधान फिल्ममा गाडीमुनि छिरेर अर्काेतिर निस्कने धेरै रिस्की सट दिएँ । चार टेक लिइएको थियो त्यो सर्ट, त्यसमा मेरो चारवटा पाइन्ट धुजाधुजा भएको थियो । कति खतरनाक एक्सन स्टन्टहरू त मैले बिर्सिसकेँ । पीडा मेरो साथी शारीरिक पीडाले म जति को पिरोलिएको होला । भाँचिएका, फुटेका ठाउँ, जोर्नीहरू जाडो वेलामा धेरै दुख्छन् । पहिला पहिला त पेनकिलर खाएर काम गर्थें । त्यो वेला नै त्यस्तै थियो । मलाई दर्द नहुने कुनै ठाउँ छैन । सिर्फ, मन मात्र दुखेन । अरू सब दुख्थ्यो । त्यसकारण मेरो दर्दसँग राम्रो दोस्ती छ । मलाई थाहा छ, नमरेसम्म दर्दले साथ दिइरहन्छ । यो दर्दलाई मेटाउने उपाय ध्यान र योग छ । आध्यात्मिक चेतना र लगावका कारण मैले शारीरिक पीडालाई सजिलै निमिट्यान्न पारेको छु । सबै हड्डी भाँचिएका छन् मेरो शरीरको कुनै हड्डी भाँचिन बाँकी छैन सायद । भाँचिनेजति सबै भाँचिएका छन् । मार्सलआर्ट खेल्दा होस् या एक्सन सर्ट दिँदा, हात, खुट्टा, दाँतदेखि नाकसम्म सबै भाँचिएको छ । पिँजडाको वेलामा अगाडिको दाँत भाँचियो । भाग्यविधाता र कृष्णअर्जुनको सुटिङमा देब्रे खुट्टा भाँचियो । तीन महिनाअघि एउटा हिन्दी फिल्मका लागि प्राक्टिस गर्दा दाहिने खुट्टा फ्याक्चर भयो । मनबाहेक मेरो नटुटेको र नफुटेको केही छैन । पहिला भन्दिनँ कुनै स्टन्ट दृश्य गर्नु छ भने घरका मान्छेसँग कहिल्यै भनिनँ, अहिले पनि भन्दिनँ । गरिसकेपछि न्युज पढेर आफैँ थाहा पाउँछन् । पहिल्यै भन्ने हो भने रुवाबासी मच्चिन सक्छ । आफ्नाको करबलले म कमजोर हुन सक्छु । त्यही भएर न सात तलाबाट हामफाल्दा, न पुलको तारमा हिँड्दा, न गाडीमुनि छिर्दा, न जिउमा आगो लगाउँदा, न त बाइक उडाउँदा मैले पहिला भनेँ । हातखुट्टा भाँचिएपछि, टाउको फुटेपछि आफैँ थाहा पाउँथे । यस्तो नगर भन्थे । म हुन्छ हुन्छ, ल ल भन्थेँ अनि फेरि गरिहाल्थेँ । फिल्मकै लागि स्काई डाइभर म नेपालको पहिलो सिभिल स्काई डाइभर हुँ । मैले त्यसको ट्रेनिङ बैंककमा लिएको हुँ । मसँग लाइसेन्स छ । स्काई डाइभर भनेको १२ हजार फिटमाथि उडिरहेको प्लेनबाट हामफाल्नेलाई स्काई डाइभर भनिन्छ । मैले ट्ेरनिङका क्रममा थुप्रैपटक हामफालेको छु । हाम्रोमा आर्मीहरू स्काई डाइभ गर्छन् । सिभिलमा यो कोर्स गरेको नेपाली मैले भेटेको छैन । तर, मैले भने फिल्ममै प्रस्तुत गर्ने लक्ष्यले त्यो कोर्स गरेको हुँ । खास हिन्दी फिल्मका लागि त्यो कोर्स गरेको हुँ । बहुत रिस्की हुन्छ । त्यो कोर्स गर्दा हलिउड नायक लियोनार्दोको खुट्टा भाँचिएको थियो । वल्र्डमै निकै कम कलाकारले मात्र त्यो कोर्स गरेका छन् । हरेक स्टन्टमा मृत्युलाई नियालेको छु मलाई मर्नदेखि पटक्कै डर लाग्दैन ।

जसरी मान्छे विनाकुनै योजना आमाको पेटमा उब्जन्छ, धर्तीमा झर्छ, त्यसैगरी कुन वेला, कसरी उसको मृत्यु हुन्छ, त्यो कसैले भन्न सक्दैन । जन्म र मृत्यु मान्छेको हातमा छैन । हामीले त मात्र कर्म गर्ने हो । अबुझले मात्र मृत्युको चिन्ता लिन्छ, त्रसित हुन्छ । जसरी विनाकुनै योजना जन्मियो, त्यसरी नै एक दिन मरिन्छ । मैले हरेक स्टन्टमा मृत्युलाई नजिकबाट नियालेको छु । यति त होला मेरो भौतिक शरीर भन्ने सोचाइ आउने गर्दछ । तर पनि म डराउँदिनँ । मलाई मृत्युदेखि रत्तिभर डर लाग्दैन । कम छैन भैरवको एक्सन भैरव फिल्मको एक्सन हलिउड, बलिउडका कुनै फिल्मको भन्दा कम छैन । हामी नेपालीले पनि दिमाग र प्रविधिको उत्ति नै प्रयोग गर्न सक्छौँ, जो उनीहरू सक्छन् । हामी कुनै कुरामा कमजोर छैनौँ । मात्र, हामी प्रयास गर्दैनौँ । मैले भैरवमा त्यही प्रयास गरेको छु । तर, त्यो सम्पूर्ण होइन । म अझ धेरै गर्न सक्छु । मैले धेरै काम गर्न बाँकी छ । अहिलेसम्म जति गरेको छु, त्यो केही पनि होइन ।

स्रोत : नया पत्रिका

Related posts