ताजा खबर

कोरिया पठाइएका राहदानीमा त्रुटि नै त्रुटि

निकुञ्ज तिवारी
सोल, २०७२  जेठ ३१,

दक्षिण कोरिया पठाइएका मेसिन रिडेबल पासपोर्ट (एमआरपी)मा त्रुटि भेटिने क्रम झनै बढेको छ । सोलस्थित नेपाली दूतावासमार्फत रुपान्तरणका लागि पठाइएका राहदानीमा तस्बिर, उमेर, नाता सम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका थुप्रै ‘प्रिन्टिङ एरर’ छन् ।
दूतावासमार्फत करिब १ वर्षअघि आवेदन बुझाई रुपान्तरणका लागि नेपाल पठाइएको राहदानी २ पटकसम्म गल्ती भएर आएको छ । त्यस्ता राहदानी सच्याउन पुनः पठाइएको छ । १ वर्षसम्म पनि राहदानी हात नपरेपछि धेरै युवा अलमलमा परेका छन् ।

पर्वत थापाठाना– ४ का प्रकाश पौडेल र नागी– १ भोजपुरका सपराज राईका राहदानी २ पटकसम्म गल्ती भएर आएका छन् । “साह्रै लाजमर्दो भो,” पौडेल भन्दै थिए, “म १ वर्षदेखि राहदानीविहीन छु, पुरानो पासपोर्ट पनि छैन । अब भिसा लगाउने समय आउनै लाग्यो, तर राहदानीको पत्तो छैन ।”

पहिलोपटक २०१४ अक्टोबर १४ मा उनको राहदानी आएको थियो । त्यतिबेला नम्बर गल्ती परेपछि सच्चाउन पठाइएको राहदानी पुनः गल्ती दोहोरिएर आएछ । “दूतावासमा सम्पर्क गर्दा पुनः सच्चाउन पठाएका छौं भन्छन् तर भिसा सकिन लाग्यो । राहदानी हात परेको छैन,” उनले भने ।

जोरपाटी– ३ काठमाडौंका कर्मलामा शेर्पा, बर्दियाका राजेन्द्रबहादुर चन्द, रापाकोट– १ स्याङ्जाका हरिचरण चपाईंलगायतका राहदानी पनि त्रुटि छापिएर आएका छन् । ०७१ मंसिरमा आवेदन दिएकी इशानेश्वर– २ लमजुङकी विनिका भुजेलको राहदानीमा पनि ‘एरर’ देखिएपछि नेपाल पठाइएको छ । कोट– २ भोजपुरकी धर्मदेवी राईको निवेदन फर्म अस्वीकृत भएर फिर्ता आएको छ । उनीहरूले ०७१ भदौ–कात्तिकमा आवेदन दिएका थिए । यस्ता उदाहरण थुप्रै छन् ।

“दूतावासमार्फत सच्याउन पठाएका राहदानी पुनः गल्ती भई आउनु नेपालकै कमजोरी हो,” दूतावासका एक अधिकारीले नाम नखोल्न आग्रह गर्दै टेलिफोनमा भने, “पुनः पठाइएको राहदानी नआइपुगे वा पुरानो राहदानीले काम नगरे दूतावासमा सम्पर्क राख्नुपर्छ । भिसाको प्रक्रिया हामी मिलाउँछौं ।”

दूतावासले यहाँ कार्यरत नेपालीका लागि २०१० डिसेम्बरदेखि एमआरपी आवेदन खुला गरेको थियो । हालसम्म दूतावासमार्फत करिब ७ हजार नेपालीले एमआरपी बनाएका छन् । दूतावासले एमआरपीमार्फत १२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)लगायत अन्य सिलसिलामा कोरिया आएका नेपालीले राजधानी सोलस्थित नेपाली दूतावासमा नयाँ राहदानीका लागि १ लाख ८७ हजार ५ सय कोरियन वन (१७ हजार ६ सय रुपैयाँ) तिरिरहेका छन् । यो शुल्क नेपालको दाँजोमा ३ गुणा बढी छ।

हराएको, भिजेको वा अन्य कारणले अयोग्य ठहरिएको राहदानीका लागि दोब्बर दस्तुर ३ लाख ७५ हजार वन (करिब ३३ हजार रुपैयाँ) तोकिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार हस्तलिखित राहदानी सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्छ । म्याद सकिनुभन्दा ६ महिनाअघि राहदानीमा नयाँ भिसा लाग्दैन ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *