ताजा खबर

जिब्राल्टरको पोस्टमा जर्मनीको सात गोल

२०७२ जेष्ठ ३२ ,
युरो कप छनोट फुटबल
लन्डन : युरो कप फुटबल-२०१६ का लागि भइरहेको छनोट खेलमा विश्वकप विजेता जर्मनीले शनिबार राति जिब्राल्टरलाई ७-० गोलको फराकिलो अन्तरले हरायो।
समूह ‘डी’ अन्तर्गत पोर्चुगलमा भएको खेलमा जर्मनीका लागि आन्द्रे सुर्लेले ह्याट्रिक गरे। यसैगरी याक्स क्रुजले दुई तथा इल्के गुन्डोगान र करिम बेलाराबीले एकएक गोल गरे।
त्यसपछि सुर्लेले गुन्डोगानको पासमा ६७औं र ओजिलको पासमा ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ८१औं मिनेटमा क्रुजले गरेको गोलमा सुर्लेले पास उपलब्ध गराएका थिए। समूहमा जर्मनी ६ खेलबाट चार जित, एक बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेर दोस्रो स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा रहेको पोल्यान्डले अपराजित रहँदै ६ खेलबाट १४ अंक जोडेको छ। जर्मनी गत साता भएको मैत्रीपूर्ण खेलमा अमेरिकासँग पराजित भएको थियो।
पहिलो पटक छनोट खेलिरहेको जिब्राल्टरले छनोटमा सबै खेल हारिसकेको छ। उसले यस क्रममा ३४ गोल खाएको छ भने एक गोलमात्र गरेको छ।
अर्को खेलमा पोल्यान्डले जर्जियालाई ४-० गोलले हरायो। पोलिस टोलीको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे। डियुज मिलिकले पनि एक गोल थपे। पहिलो हाफमा गोल गर्न नसकेको पोल्यान्ड दोस्रो हाफमा आक्रामक बनेको थियो।
मिलिकले ६२ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले ८९औं मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा दुई गोल थपेर ह्याट्रिक पूरा गरे।
लेवान्डोस्कीको अन्तिम गोलमा मिलिकले पास मिलाएका थिए। २६ वर्षीय लेवान्डोस्कीले अन्तर्राष्ट्रिय फुटबलमा ६८ खेल खेलेर २६ गोल गरेका छन्। समूहको तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट ११ र चौथो स्थानमा रहेको आयरल्यान्डले ६ खेलबाट नौ अंक जोडेका छन्। आयरल्यान्ड र स्कटल्यान्डबीचको खेल भने १-१ गोलको बराबरीमा सकियो।

फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले आर्मेनियालाई ३-२ गोलले हरायो। समूह ‘आई’ अन्तर्गत अर्मेनियाको मैदानमा भएको खेलमा पोर्चुगलका लागि तीनवटै गोल रोनाल्डोले गरे।
खेलमा सुरुआती अग्रता भने अर्मेनियाले १४औं मिनेटमा लिएको थियो। मार्कोस पिजेलीले उक्त गोल गरेका थिए। तर रोनाल्डोले पेनाल्टीमा गोल गर्दै २९औं मिनेटमा खेल बराबरीमा ल्याए।
रोनाल्डोले ५५औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। उनले ५८औं मिनेटमा अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा पोर्चुगल १० खेलाडीमा सीमित भएपछि अर्मेनियाले अर्को एक गोल फर्कायो। पोर्चुगल पाँच खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको डेनमार्कले पाँच खेलमा १० अंक जोडेको छ।

अल्बानियाले चार खेलबाट सात अंक जोडेको छ। डेनमार्कले सर्बियालाई २-० गोलले हरायो। ३० वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीका लागि एक सय २० खेलमा ५५ गोल गरेका छन्।
रोनाल्डोले आफूले खेलेको लगातार तेस्रो खेलमा ह्याट्रिक गरेका हुन्। यसअघि स्पेनिस क्लब रियल म्याड्रिडका लागि सिजनका अन्तिम दुई खेलमा पनि उनले ह्याट्रिक गरेका थिए।
समूह ‘एफ’ अन्तर्गत रोमानिया र उत्तरी आयरल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकियो। तालिकाको शीर्ष स्थानमा रहेको रोमानियाले ६ खेलबाट १४ र उत्तरी आयरल्यान्डले ६ खेलबाट १२ अंक जोडेको छ।

तेस्रो स्थानमा रहेको हंगेरीले ६ खेलबाट ११ अंक छ। हंगेरीले फिनल्यान्डलाई १-० गोलले हराएको हो। जोल्टान स्टिबरले ८२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts