ताजा खबर

शेयर स्वामित्व सम्सोधन गर्न ओमको विशेष साधारण सभा

दिननाथ बराल

पोखरा  जेठ ३१,

शेयर स्वामित्व सम्सोधन गर्न पोखराको ओम फाईनान्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा शनिबार बसेको विशेष साधारण सभाले वित्तिय संस्थाको पुंजीको शेयर स्वामित्व संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने गरी परिवर्तन गर्न र सो गर्न प्रवन्धपत्रमा संशोधन गर्न बिषेश साधारण सभा आयोजना गरेको फाईनान्सले जनाएको छ । उक्त बैठकले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेकोे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धी मल्लले बताए ।

फाइनान्सको हालको शेयर स्वामित्व संस्थापक शेयरधनीको ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेको छ । अध्यक्ष सुशील कुमार गोशलीले कम्पनी मर्जरको लागि सकारात्मक रहेको बताउदै उपयुक्त मर्जर पार्टनरसंग मर्जर गर्न कम्पनी तयार रहेको जनाए । उनले भने “हामी पहिला मर्जरलाई पहिलो प्रथामिकता दिन्छौं, मर्जरमा उपयुक्त संस्था नभेटेको खण्डमा आफैले हकप्रद शेयर निष्काशन गरि पुंजी बृद्धि गर्ने योजनामा छौं । ”

चैत्र मसान्तसम्म फाईनान्सले ४ अर्ब ३७ करोड निक्षेप संकलन गरी ३ अर्ब ७३ करोड कर्जा लगानी गर्ने लक्ष्य राखेको फाईनान्सले जनाएको छ । चैत्र मसान्तसम्म १२ करोड ५३ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत मल्लले जनाए । कामना विकास बैंकसंग उक्त फाईनान्स मर्जरको प्रकृया अघि बढे पनि प्राविधिक कारणवश केहि समय अघि मर्जर नहुने टुंगो
लागेको हो ।

Related posts