ताजा खबर

पोखरामा सहकारीको सुपथ मूल्य पसलमा ५ प्रतिशत छुट

दिननाथ बराल
पोखरा जेठ ३१,

पोखरा–८ नागढुङ्गामा रहेको सञ्चय वहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । पोखराका उपभोक्ताहरुलाई केहि सहुलियत दिने उद्धेश्यले उक्त सुपथ मुल्यको पसल संचालनमा ल्याएको सञ्चय सहकारीका अध्यक्ष नारायण कार्कीले बताए । उनका अनुसार उक्त पसलमा बजार मुल्य भन्दा करीब ५ प्रतिशत भन्दा बढी बिषेश छुट दिने व्याबस्था गरीएको छ । उक्त पसलमा दैनिक उपभोग्य बस्तु किरानाका सामानहरु उपलब्ध रहेका छन ।

करिब २५ लाख रूपैयाँको लागतमा सस्तो पसल सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताए । उनले भने “अबको समय भनेको उत्पादनको समय भएकोले हामीले दैनिक उपभोग्य बस्तुमा थोरै भए पनि सेवा दिने उद्धेश्यले यस्तो पसल खोलेका हौं ।” सहकारीहरु पैसा बचत र ऋण लगानीमा मात्र सीमित भएर नहुने बताउदै कार्कीले व्यावसायिक क्षेत्रमा आफुहरुले हात हालेको बताए ।

सहकारीले पसलको व्यवस्थापन हेर्नका लागि कोषाध्यक्ष यज्ञराज शर्माको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको प्रवन्ध निर्देशक जगन श्रेष्ठले बताए । उनले भने, ‘आवश्यकता अनुसार लगानी बिस्तार गरी पसललाई उपभोत्ताको माग अनुसार सेवा बिस्तार गर्नेछौं ।’ पारिवारिक वातावरणमा सेवा प्रदान गरी सस्तो मूल्यमा ग्राहकलाई सामान उपलब्ध गराउने श्रेष्ठले दाबी गरे । पसलमा हाल ३ जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

सहकारीले यस अगाडि माथिल्लो हुग्दी लघु जलविद्युत आयोजनामा १० लाख रूपैयाँ लगानी गरिसकेको छ । उक्त आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरु भइसकेको छ । सहकारीले पोखराको पृथ्वीचोकमा भवन बनाउने उद्देश्यले जग्गा खरीद गरिसकेको श्रेष्ठले बताए । आगामी आर्थिक वर्षदेखि सहकारीले कास्कीको लेखनाथमा सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको छ । सेवा केन्द्र स्थापना पछि लेखनाथ क्षेत्रका सर्वसाधरण जनता लाभान्वित हुने श्रेष्ठले बताए । ६ करोड ३० लाख रूपैयाँ शेयर पुँजी रहेको सहकारीमा १ हजार १ सय भन्दा बढी शेयर सदस्य रहेको उनले बताए ।

यसैविच, सञ्चालनमा आएको उक्त पसलको आइतबार कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले उद्घाटन गर्र्दै सहकारीले व्यावसायिक क्षेत्रमा लगानी गर्ने क्रम पछिल्लो क्रममा बढेको बताए । सञ्चय सहकारीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएर अन्य सहकारीलाई पनि व्यावसायिक क्षेत्रमा लगानी गर्न प्रेरणा मिल्ने गुरुङले जनाए । सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले वित्तीय कारोबारसँगै व्यावसायिक क्षेत्रमा पनि लगानी बढाउनु आजको आवश्यक भएको बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *