घरमै उपचार गर्नुहोस्

२०७२ जेष्ठ ३१,

व्यस्तताका कारण समयमै खानपिन गर्न नसक्दा र प्रदूषित वातावरणमा रहनुपर्दा स–साना स्वास्थ्य समस्या देखा पर्न सक्छ । यस्ता रोगको उपचारका लागि डाक्टरकोमा गइरहनुपर्दैन, घरमै गर्न सकिन्छ ।

निद्रा लाग्दैन भने १० वटा बदाम पिस्ने र तातो दूधमा हाली सुत्नुभन्दा अघि पिउने गर्नाले गहिरो निद्रा लाग्छ ।

सुत्नुअघि गाईको घिउले पैताला मसाज गर्नाले पनि अनिद्राको समस्याबाट छुट्कारा पाइन्छ । त्यस्तै नरिवलको तेलमा थोरै पानी मिलाएर कपालको जरा, हात र पैतालामा मालिस गर्नाले मीठो निद्रा लाग्छ ।

कामको तनाव र दौडधुपका कारण अनुहार मलिन र क्लान्त देखिए पाकेको केरा पिसेर अनुहरमा फेसप्याकजसरी लगाई १५ मिनेटपछि धुने गर्नाले मुहारमा निखार आउँछ ।

घिउकुमारीको पत्ताबाट जेल निकाली यसमा निबुको रस मिसाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो र फ्रेस देखिन्छ ।

अपच हुने गर्छ भने एक चौथाइ मेथीदानालाई पानीसँग निल्नाले राहत मिल्छ ।

टाउको दुखिरहन्छ भने पाँचवटा बदाम पिसेर तातो दूधमा मिलाएर पिउनाले राहत मिल्छ । त्यस्तै कालो

मरिचको पाउडर र मह दूधमा राखी दिनको तीनपटक खानाले समेत आराम मिल्छ ।

कम्मर दुख्छ भने खानामा अदुवा हाल्न भुल्नुहुँदैन । सस्र्यौँको तेलमा पकाएको तरकारी खानुपर्छ । कालो मरिच, ल्वाङ र अदुवाको धुटोसमेत हालेको चिया खानुपर्छ ।

जुवानो र जिरा मिसाएर पिँधी पानीमा उमालेर कपडाले छानी चिनी मिलाएर पिउने गर्नाले एसिडिटीबाट राहत मिल्छ ।

दूधको तर र मिस्री मिलाई खानाले कमजोरी हट्छ ।

गहुँको टुसाको जुस बनाई बिहान खाली पेटमा पिउनाले रगत सफा हुन्छ ।

नुहाउनुभन्दा एक घन्टाअघि कपालमा मेथीदानाको पेस्ट लगाउनाले चाया हट्छ ।

धनियाँ, जिरा र चिनी बराबर मात्रामा मिलाई सेवन गर्नाले एसिडिटीका कारण हुने जलनबाट छुट्कारा पाइन्छ ।

हरेक बिहान लसुनका दुई पोटी पानीसँग खानाले जोर्नी दुखेको निको हुन्छ ।

एक गिलास मनतातो पानीमा कागतीको रस मिलाएर पिउनाले बाथ रोगका कारण हुने पीडाबाट छुट्कारा पाइन्छ ।

आधा चम्चा मेथीको चूर्णमा दही मिलाएर सेवन गर्नाले झाडापखाला कम हुन्छ ।

बिहान खाली पेटमा स्याउ खाने गर्नाले टाउको दु:ख्ने समस्याबाट मुक्ति पाइन्छ ।

दाँत किराले खाएर खुब दुख्ने गर्छ भने दाँतमा अलिकति हिंग भर्नाले पीडा कम हुन्छ ।

चार ग्राम त्रिफला चूर्ण दूध अथवा तातो पानीसँग खानाले कब्जियत निको हुँदै जान्छ ।

मिस्रीको तास्नीमा जिरा हाली महसँग खानाले पत्थरीको समस्या कम हुँदै जान्छ ।

स्रोत : नयापत्रिका

Related posts