ताजा खबर

१३२ मेट्रिक टन धानको बिऊ वितरण

गोरखा, २०७२ जेठ ३०,

भूकम्प प्रभावित कृषकहरुका लागि जिल्ला कृषि विकास कार्यालय गोरखाले उन्नत जातको धानको विऊ वितरण गरेको छ । भूकम्पले बिऊ राख्ने धान समेत पुरेका किसानलाई प्राथमिकतामा राखेर कार्यालयले धानको बिऊ वितरण गरेको हो ।

विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा १३२ मेट्रिक टन धानको बिऊ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,“कार्यालयको नियमित कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा करीब ९ मेट्रिक टन विऊ वितरण गरियो । बाँकी बिऊ भने गैरसरकारी संस्थाहरुले शतप्रतिशत अनुदानमा उपलब्ध गराएका छन् ।”

विश्व खाद्य तथा कृषि संगठनसँग सहकार्य गरेर जिल्ला कृषि विकास कार्यालयले गोरखा नगरपालिका सहित २८ गाविसमा २० मेट्रिक टन उन्नत जातको धानको विऊ वितरण गरेको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए ।

यस्तै केयर नेपालले ५ गाविसमा १५, सेभ द चिल्ड्रेनले आफ्नो कार्यक्रम सञ्चालन भएका १० गाविस र गोरखा नगरपालिकामा ४८ मेट्रिक टन बिऊ वितरण गरेको छ । सेभ द चिल्ड्रेनले थप २३ गाविसमा ३१ मेट्रिक टन समेत गर्दा जिल्लाभर करिब ८० मेट्रिक टन विऊ वितरण गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

असल छिमेकी कार्यक्रमले गोरखा नगरपालीकाको वडा नम्वर १२ र १३ सहित ४ गाविसमा ३ मेट्रिक टन धानको विऊ वितरण गरेको छ । किसानहरुलाई सावित्री, मकवानपुर १, रामधान, सुख्खा २, राधा ४, खुमल ४, हर्दिनाथ १ लगायत जातका विऊ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धानको विऊ उपलब्ध गराइएका किसानलाई ब्याड राख्ने विधि लगायत प्राविधिक पक्षका बारेमा पनि जानकारी दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए ।

जिल्लाका धान खेती हुने जमिनमा धान लगाउने क्रम पनि वर्षेनी घट्दै जान थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । हाल गोरखामा कुल खेतीयोग्य जमिनमध्ये १२ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ । तर श्रमशक्तिको अभाव, सिँचाईको असुविधा लगायतका कारण किसानहरुले खेत बाँझै राख्ने क्रम बढेको छ । चैते र घैया धान जेनतेन लगाएपनि वर्षे धान लगाउने बेला भने श्रमशक्तिको पनि ब्यापक अभाव हुने गरेको किसानहरुले बताएका छन् । ३÷४ वर्षमा धानको बिऊ परिवर्तन गरे किसानले गरेको लगानी धान्ने गरि उत्पादन लिन सकिने कृषि प्राविधिकहरुले बताएका छन् । आधुनिक कृषि प्रणालीको विकास र मलखाद सहज रुपमा उपलब्ध हुने सके धानखेतीबाट आम्दानी बढाउन सकिने विज्ञहरुको विश्वास छ ।

स्रोत : कारोबार

Related posts