ताजा खबर

शाहिदको विवाह ?

२०७२ जेष्ठ २९,

बलिउड स्टार शाहिद कपुरको विवाह मिरा राजपूतका साथ गोप्य रूपमा सम्पन्न हुने कुराले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ। चाँडै हुने वैवाहिक समारोहलाई गोप्य राख्न दुवै परिवारले सक्दो कसरत गरिरहेको बताइन्छ। शाहिदको विवाहलाई लिएर उनका प्रशंसकहरू अत्यधिक उत्साहित छन्, तर शाहिद स्वयं भने यो समारोहलाई निजी राख्न चाहन्छन्। विवाहलाई निजी समारोहका रूपमा लिँदै शाहिदले बलिउडका कसैलाई पनि निमन्त्रणा नगर्ने बताइएको छ। विवाह समारोहमा दुई परिवारका नजिकका आफन्तमात्र हुने अनुमान गरिएको छ। शाहिद र मिराको इन्गेजमेन्ट १४ जनवरीमा भएको थियो, जसलाई पनि गोप्य राखिएको थियो। सूत्रका अनुसार शाहिद र मिराका बीच ११ वर्षको अन्तर छ। मिरा २३ वर्षकी भइन् भने शाहिद ३४ वर्षका भए।

 

सलमान हलिउडमा?

‘यदि विदेशको कुनै सेलिब्रेटीलाई फलो गर्नु छ भने यिनलाई फलो गर्नुहोस्, यिनी हुन्— तपाईंको हिरो सिल्भेस्टर स्टेलनले। बलिउड अभिनेता सलमान खान ट्विट गर्दै आफ्ना प्रशंसकहरूसँग यसरी प्रस्तुत भएपछि हलिउड नायक स्टेलन भोलीपल्ट त्यसको जवाफी प्रतिक्रियाका साथ ट्विट गरे। रेम्बो, रकी तथा द एक्सपेन्डेबल्स नायक स्टेलन सलमानको प्रशंसाबाट प्रभावित भए। स्टेलनले लेखे– ‘म सुपर ट्यालेन्टेड इन्डियन सुपरस्टार सलमान खानलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो खुलेर प्रशंसा गरेका छन्। मलाई लाग्छ, हामी दुवैले एकसाथ एउटा एक्सन चलचित्रमा काम गर्नुपर्छ।’ स्टेलनले पछि फेरि अर्को ट्विटमा लेखे– ‘सलमान, म तिम्रा समर्पित फ्यान्सबाट प्रभावित छु। कुनै एक्सन चलचित्रलाई सफल बनाउनु छ भने यति धेरै ग्रेटफ्यान्सको आवश्यकता पर्छ जो आफूलाई मन परेको कलाकारप्रति समर्पित भाव राख्छन्।’ स्टेलनले ट्विटमै एउटा संकेत पनि दिएका छन्। उनले भनेका छन्– ‘सम्भवत: अब बन्ने एक्सपेन्डेबल्स चलचित्रमा हामीले एक साथ काम गर्नुपर्छ। स्मरण रहोस्, सन् २०१० यता द एक्सपेन्डेबल्स सिरिजका ३ चलचित्र प्रदर्शन भैसकेका छन् र तीनवटै ब्लकबस्टर हिट भएका थिए।

 

विवाहपछि बाईबाई : दीपिका

बलिउड अभिनेतृ दीपिका पादुकोणले विवाहपश्चात् अभिनय जीवनलाई बाईबाई गर्ने बताएकी छिन्। हालै एक अन्तर्वार्ताका क्रममा दीपिकाले भनेकी छिन्– ‘म अभिनयलाई छोडेर बिलकुल घरेलु जिन्दगी जिउन चाहन्छु। एउटा खुसियालीपूर्ण जीवन जुन अहिलेको लाइमलाइट भन्दा धेरै टाढा होस्, किनभने मेरा लागि परिवारभन्दा ठूलो कुरा केही छैन। त्यसले मलाई सम्पूर्णता प्रदान गर्छ।’ दीपिकाका अनुसार उनी विवाह कहिले हुन्छ भन्नेमा निश्चित छैनन्, तर जब उनको विवाह हुनेछ, त्यसपछि पर्दाको रंगीन संसार उनका निम्ति बिरानो बन्नेछ। दीपिकाका अभिभावकले पनि विवाहपश्चात् अभिनय छोड्न सल्लाह दिएका थिए, जुन कुरा दीपिकालाई पनि सही लागेको छ। ‘मलाई परिवारको महत्त्व कस्तो हुन्छ, राम्रोसँग थाहा छ,’ दिपिकाले भनेकी छिन्– म चाहन्छु, विवाहपश्चात् मेरा धेरै बच्चा हुन्। म ती बालबालिकाको रमाइलो वातावरणमा हराउन पाऊँ, जुन फिल्मी करियरभन्दा बेजोड हुनेछ।’

स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *