न्युयोर्क, २०७२ जेठ २८,
फोब्र्सले सार्वजनिक गरेको विश्वमै बढी कमाउने १ सय खेलाडीको सूचीमा भारतीय क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी पनि परेका छन् । सूचीमा यो वर्ष पनि अमेरिकी बक्सर फ्लोइड मेवेदर परेका छन् । सूचीमा टाइगर उड, टेनिस स्टार रोजर फेडेरर र पोर्चुगलका फूटबल खेलाड क्रिश्चियानो रोनाल्डो पनि परेका छन् ।
धोनी फेब्र्सको विश्वकै बढी कमाउने खेलाडीको सूचीमा २३ औं स्थानमा परेका छन् । उनको यो स्थान गत वर्षको तुलनामा १ स्थान कम हो । धोनीले कुल आम्दानी ३ करोड १० लाख अमेरिकी डलर छ । यसमा तलब र पुरस्कारको ४० लाख र विज्ञापनबाट हुने २ करोड ७० लाखको आम्दानी समावेश छ ।
उनको आम्दानीमा गत वर्षको जुनदेखि यो वर्षको जुनसम्मको अवधिमा उनले पाएको तलब, पुरस्कारको राशी र लाभांश समावेश गरिएको छ । वार्षिक ३० करोड डलरको आम्दानी सहित मेवेदर यो वर्ष पनि सूचीको पहिलो स्थानमा परेका छन् । मेवेदर सूचीको पहिलो स्थानमा परेको यो लगातार चौथो वर्ष भएको फोब्र्सले जनाएको छ । मेवेदरको ३० करोडको आम्दानी कीर्तिमानी हो । यो भन्दा पहिले २००८ मा टाइगर उडले वार्षिक ११ करोड ५० लाख डलर कमाएको फोब्र्सले जनाएको छ । फोब्र्सले सार्वजनिक गरेको २०१५ को यो सूचीमा गत वर्ष चिनियाँ टेनिस खेलाडी ली नाले सन्यास लिएपछि २ मात्रै परेका छन् ।
२ करोड ९७ लाखको आम्दानी सहित रुसी टेनिस खेलाडी मारिया सारापोभा सूचीको २६ औं स्थानमा परेकी छिन् । २०१३ मा लागेको चोटबाट निको भएपछि सारापोभाले २०१४ को फ्रेन्च ओपन पनि जितेकी थिइन् । यो विजयसँगै उनलाई प्रायोजक कम्पनीहरु नाइ र हेडले आकर्षक बोनस दिएको फोब्र्सले जनाएको छ । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले २ करोड ४६ लाख डलर आम्दानी गरेकी छिन् । यो आम्दानी सहित उनी सूचीको ४७ औं स्थानमा परेकी छिन् । उच्च आम्दानी गर्ने १०० खेलाडीले विगत १२ महिनाको अवधिमा ३.२ अर्ब डलर आम्दानी गरेका छन् ।
उनीहरुको यो आम्दानी अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । १६ करोड डलरको आम्दानी सहित पाक्वीओ दोस्रो स्थानमा परेका छन् । यसपछि तेस्रो स्थानमा रियल म्याड्रिडाका खेलाडी क्रिश्चियानो रोनाल्डो परेका छन् । उनले यो अवधिमा ७ करोड ९६ लाख डलर आम्दानी गरेका छन् । ६ करोड ७० लाख डलरको आम्दानी सहित स्वीस टेनिस खेलाडी रोजर फेडरर पाँचौ स्थानमा परेका छन् ।
उनको आम्दानीमा प्रायोजक, प्रदर्शनी आयोजक र उपस्थितिबाट आएको ५ करोड ८० लाख डलर समावेश गरिएको छ । उनी २०१३ मा सातौ स्थानमा झरेका थिए । तर गत वर्ष भने उनी दोस्रो स्थानमा परेका थिए । यो सूचीमा टेनिस खेलाडी नोभाक जोकोभिच ४ करोड ८२ लाखको आम्दानी सहित १३ औं स्थानमा परेका छन् । अर्का टेनिस खेलाडी राफेल नाडाल २२ औ, फूटबल खेलाडी रुनी ३४ औ र जमैकाका धावक उसेन बोल्ट ७३ औं स्थानमा परेका छन् ।
स्रोत : कारोबार