ताजा खबर

गर्मीले बिरामी बढे

पोखरा, जेष्ठ २८,
चर्को गर्मीसँगै केही दिनयता विभिन्न रोगका बिरामी बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको छ ।

अत्यधिक गर्मी, दूषित पानी र खानपिनमा सावधानी नअपनाउँदा गण्डकी र धौलागिरिका केही जिल्लामा बिरामी संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन् । झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी र छालाका बिरामी बढ्न थालेका हुन् । ‘दूषित पानी र अस्वस्थकर खानाकै कारण बिरामी बढ्दै गएका छन्,’ क्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.श्रीकृष्ण श्रेष्ठले भने, ‘सरसफाइमा कमी भएकाले यस्तो भएको हो ।’ उनले गर्मीमा विभिन्न रोगका किटाणु पनि वृद्धि हुने भएकाले स्वास्थ्यमा सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

क्षेत्रीयसँगै यहाँका अन्य अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ । मणिपालमा पनि अघिल्ला महिनामा ५/६ सय बिरामी आउने गरेकामा अहिले ८ सयभन्दा बढी पुग्न थालेका छन् । एक कर्मचारीका अनुसार मणिपालमा शुक्रबार र आइतबार बढी बिरामी आउने गरेका छन् । ‘समग्रमा बिरामीको संख्या बढिरहेको छ,’ उनले भने । अन्य निजी अस्पतालमा पनि केही दिनयता बिरामीको चाप बढ्दै गएको छ ।

क्षेत्रीय अस्पतालमा पनि पछिल्लो समय दैनिक ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मेडिकल रेकर्ड अधिकृत वासुदेव बरालका अनुसार वैशाखमा १६ हजार ८ सय ७४ बिरामी आएका थिए । ‘पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको पाएका छौं,’ उनले भने, ‘सबै बिरामी मौसमी हुन् । विशेष गरी उच्च रक्तचाप, श्वासप्रश्वास, निमोनियाँका बिरामी बढी छन् ।’ धुलो, धुवाँ र चिसोका कारण श्वासप्रश्वासका बिरामी बढेको उनले बताए ।

सरसफाइमा विशेष ध्यान दिने, पानी उमालेर, फिल्टर गरेर वा घाममा तताएर खाएमा र खाना खानुअघि र पछि हातखुट्टा राम्रोसँग धोएमा रोग लाग्नबाट बच्न सकिने श्रेष्ठले बताए ।

स्रोत : कान्तिपुर

Related posts