काठमाडौ, जेष्ठ २८,
संयुक्त राष्ट्रसंघका महासचिव एवं काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरूले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी चार राजनीतिक दलहरूले गरेको १६ बुँदे सम्झौताको स्वागत गरेका छन् ।
राष्ट्रसंघका महासचिव वान कि–मुनले दलहरूले सोमबार नयाँ संविधान निर्माणका लागि गरेको सम्झौता नेपालको लोकतान्त्रिक विकासमा कोसेढुंगा भएको उल्लेख गरेका छन् । यो सम्झौतामा पुग्न नेपाली राजनीतिज्ञहरूले निरन्तर प्रयत्न गरेको र रचनात्मक नेतृत्व देखाएको भन्दै उनले सराहनासमेत गरेका छन् ।
‘यो नेपालको लोकतान्त्रिक विकासका निम्ति एउटा महत्त्वपूर्ण कोसेढुंगा हो,’ वानका प्रवक्ताद्वारा न्युयोर्कबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै राजनीतिक नेताहरूलाई सम्झौता कार्यान्वयन गर्ने निर्णायक कदमहरू चाल्न, थाती रहेका मुद्दाहरूमा काम गर्न र नेपाली जनताको बृहत्तर स्वार्थमा आधारित समावेशी परामर्शको माध्यमबाट संविधान मस्यौदा लेखन प्रक्रिया सम्पन्न गर्न राष्ट्रसंघ आह्वान गर्दछ ।’ वानले भूकम्पका कारण देश चुनौतीपूर्ण अवस्थामा रहेका बेला दलहरूबाट एकताबद्ध निर्णय आउनु प्रशंसायोग्य भएको बताएका छन् । उनले नेपाली दलहरू क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्यमा लाग्ने आशा व्यक्त गरेका छन् । र, राष्ट्रसंघले त्यसमा नेपाललाई निरन्तर सहयोग र समर्थन दिइरहनेसमेत जनाएका छन् ।
राजदूतहरूद्वारा सामूहिक प्रशंसा
काठमाडांैस्थित राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूले पनि नयाँ संविधान निर्माणका लागि नेपाली राजनीतिक नेताहरूले एकता–भाव देखाएको भन्दै त्यसको सामूहिक रूपमा स्वागत गरेका छन् ।
‘यो उल्लेखनीय उपलब्धि हो,’ करिब दुई दर्जन राजदूत/कूटनीतिज्ञहरूको मंगलबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता शान्ति प्रक्रियालाई अगाडि बढाउने र आधारभूत दस्तावेज (संविधान) लाई पूर्णता दिने महत्त्वपूर्ण कदम हो, जसले मुलुकको भावी विकासलाई निर्देशित गर्नेछ ।’ मंगलबार भारत, चीन, अमेरिका, बेलायत, जर्मनीलगायत २२ मुलुकका राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूको बैठकले संघीयतालगायत विवादित विषयमा चार दलले गरेको सहमतिको आधिकारिक रूपमा प्रशंसा गरेको हो । बैठकको समन्वय नेपालस्थित संयुक्त राष्ट्रसंघीय संयोजक जेमी गोल्डरिकले गरेका थिए । ‘नेपालका राजनीतिक शक्तिहरूलाई सम्झौताको भावना र नेपाली जनताको बृहत्तर आकांक्षाअनुरूप संविधान लेखन प्रक्रिया सम्पन्न गर्न अझ ठूलो प्रयत्न गर्न अन्तर्राष्ट्रिय समुदाय आग्रह गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
स्रोत : कान्तिपुर