ताजा खबर

वीरगन्ज भन्सारबाट ३६ करोड छुट

पर्सा, जेष्ठ २८ ,
महाभूकम्पपछि वीरगन्ज नाका हुँदै भारतबाट करिब ९० करोड रुपैयाँ बराबरको राहतमा ३६ करोड रुपैयाँभन्दा बढीको भन्सार छुट दिइएको छ । जिल्ला प्रशासनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वैशाख १४ देखि जेठ २० सम्म भारतबाट ल्याइएका राहत सामग्रीमा उक्त रकम भन्सार छुट दिएको हो ।

वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट गरी उक्त सामग्री भित्रिएको थियो । आयातित राहत सामग्रीमा चामल, दाल, चना, चिनी, बिस्कुट, हर्लिक्स, सातु, डोरी, टुथपेस्ट, काइँयो, सुजी, ब्यान्डेज, टुथब्रस, चाउचाउ, सारी, म्याक्सी, पुरुष धोती, चिउरा, मिक्स भुजिया, स्याम्पु, टाबेल, साबुन, बट्टा, नेलकटर, वासिङ पाउडर, मैनबत्ती, सुतीको लुगा, औषधि, बाल्टिनलगायत छ ।

यसमा भारतको बिहार र उत्तर प्रदेश सरकारले राहतस्वरूप पठाएको १ सय २० ट्रक सामान जोडिएको छैन । यस अवधिमा वीरगन्ज नाका हुँदै ६ सय ८६, सुख्खा बन्दरगाह हुँदै २ सय ५८ तथा स्थानीयस्तरमा २ सय ४९ व्यक्ति तथा विभिन्न संघसंस्थाबाट समेत संकलित १ सय ९१ समेत गरी कुल १ हजार १ सय ३५ ट्रक राहत भूकम्प प्रभावित जिल्लामा पठाएको प्रजिअ घिमिरेले जनाए ।

राहतमा भन्सार छुटको अवधि जेठ २० मै सकिए पनि अहिले पनि भारतका विभिन्न सहरबाट राहत आइरहेको छ । यसै कुरालाई मनन गरी सरकारले जेठ २५ देखि ३२ सम्म थप ७ दिन राहत सामग्रीमा भन्सार छुटको सुविधा थप गरेको घिमिरे बताउँछन् । अहिले पनि भारतबाट राहत बोकेर हिंडेका करिब ७० ट्रक बाटोमै रहेको अनुमान उनको छ ।

स्रोत : कान्तिपुर

Related posts