ताजा खबर

एन प्याब्सान कास्कीद्वारा स्कुलमा शैक्षिक राहत

पोखरा, २६ जेठ,

एन प्याब्सान कास्कीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित गोर्खा जिल्लाको अश्राङ गाविस वडा नं.६ स्थित नवजागृति चण्डी उमाविमा अध्ययनरत विद्यार्थीलाई मङ्गलबार शैक्षिक राहत वितरण गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका पाँच सय जना विद्यार्थीलाई प्रतिविद्यार्थी एक थान झोला, एक दर्जन कापी, आधा दर्जन पेन्सिल र दुई थान कलम गरी सात लाख बराबरको शैक्षिक राहत वितरण गरेको हो ।

एन प्याब्सान कास्कीसँग आवद्घ विद्यालयहरूबाट शिक्षक कर्मचारीको एक दिन बराबरकोे तलब र विद्यार्थीबाट एक दिनको खाजा बापतको रकममार्फत झोला र शैक्षिक सामग्री खरीद गरी जिल्ला दैवीप्रकोप उद्घार समिति कास्की, क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा र जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा उक्त राहत वितरण गरिएको एन प्याब्सान कास्कीका उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।

कार्यक्रममा एन प्याब्सान कास्कीका अध्यक्ष राम बहादुर मोची, एन प्याब्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, जिल्ला उपाध्यक्षद्वय राम बहादुर थापा र शिवदत्त तिवारी, सचिव केशवशरण पौडेल, सहसचिव मनकाजी गुरुङ, सहकोषाध्यक्ष रत्ना गुरुङ, सदस्यहरू शारदा केसी, प्रेमराज अधिकारी, राजु केसी, गणेश भण्डारी, नारायणप्रसाद पाण्डे, विष्णुप्रसाद पौडेल, रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, हरिप्रसाद धमला, मोहन भण्डारीलगायतले शैक्षिक राहत सामग्री वितरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि विद्यालय निरीक्षक रूद्र शर्मा पौडेलले गोर्खालाई काँडा विझ्दा कास्कीले झिक्ने काम गरेकोमा एन प्याब्सान कास्कीप्रति आभार प्रकट गरे। उनले भूकम्पले गोर्खाका धेरै विद्यार्थीको मानो र छानो उडाएको जानकारी दिँदै यस्तो विपत्तिमा गरेको सहयोगले संस्थागत विद्यालयहरू पनि सामाजिक कार्यमा अग्रसर छन् भन्ने कुराको गतिलो प्रमाण मिलेको बताए ।

एन प्याब्सान कास्कीका अध्यक्ष राम बहादुर मोचीले विपत्तिमा दुःख पर्दा एकले अर्काेलाई गर्ने सहयोग नै उच्चकोटीको सहयोग हुने बताए । उनले  शिक्षकको तलब र विद्यार्थीको खाजा खर्च कटाएर सङ्कलन गरिएको रकमबाट शैक्षिक सामग्री खरिद गरिएको जानकारी दिँदै विपत् पर्दा हरेकलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानेर सहयोग गर्न आएको बताए ।

विद्यालयका प्राचार्य ठाकुरप्रसाद पाण्डेले भूकम्पबाट पीडित विद्यार्थीलाई सहयोगको लागि कास्कीबाट यहाँसम्म आएकोमा एन प्याब्सान कास्कीलाई धन्यवाद दिए । उनले २०१९ सालमा स्थापना भएको यस विद्यालय २०३१ देखि २०५३ सम्म निमावि, २०५४ देखि २०६५ सम्म मावि तथा २०६६ देखि उमाविको मान्यता पाई कक्षा सञ्चालन भइरहेको र एसएलसीमा सात पटक जिल्ला प्रथम तथा तीनपटक पश्चिमाञ्चल प्रथम भएको जानकारी दिए ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म आठ सय विद्यार्थीले अध्ययन गरेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक चन्द्रप्रसाद श्रेष्ठले स्वागत तथा अर्का शिक्षक भुमी गोतामेले सञ्चालन गरेका थिए ।

स्रोत : पोखरापत्र

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *