पोखरा, २७ जेठ,
खेलकुदको राजधानी बनाउने पोखरेलीहरुको सपना अब क्रिकेट खेलले केहि हदसम्म पुरा गराउने भएको छ । पोखरामा अर्को अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण हुने भएपछि पोखरालाई खेलकुदको राजधानी बनाउ धेरै हदसम्म सफल हुने पोखरेलीहरुले अपेक्षा
गरेका छन ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा गत पुष २३ गते गठन भएको पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण समितिले कास्की लेखनाथ नगरपालिकाको वडा नम्बर १७ मा रहेको पशुपतिघाटको क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण गर्ने प्रस्ताव गरेकोमा लेखनाथ नगरपालिकाले उक्त प्रस्तावलाई स्वीकृत गरेको छ । साविक कास्कीको भरतपोखरीमा रहेको उक्त जग्गा क्रिकेट मैदान निमार्ण हुने भएपछि लेखनाथ नगरपालिका कार्यालयले समेत सो क्षेत्रलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण गर्ने गरी सर्वपक्षिय तथा सर्वदलीय बैठकबाट सार्वजनिक तथा प्रति जग्गा रोक्का समेत गरेको छ । पशुपतिघाटमा रहेको करीब ३ सय रोपनी क्षेत्रफलको कित्ता नम्बर ३९४ को जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन प्रयाप्त मात्रमा जग्गा रहेकोले सो क्षेत्रलाई नगरपालिकाले जेठ २६ गतेदेखि लागु हुनेगरी रोक्का गरेको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बताए ।
उनले भने ‘हामीले सो क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनको लागि जग्गा त दिन्छौं तर त्यस जग्गा समितिले संरक्षण गर्दै मैदान निमार्णमा छिट्टै लाग्नु पर्दछ यसमा हामीले सकेको सहयोग गछौं ।’
पोखरामा दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्णसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भए पछि यस क्षेत्रको समग्र आर्थिक विकास समेत हुने भएको पौडेलले बताए ।
उनले थपे पोखरामा दुर्ई वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्णसंगै पोखराको अर्थतन्त्र माथि उकासिन्छ । पोखरा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण समितिका संयोजक अशोक पालिखेको टोलीले उक्त जग्गाको खोजी गरेको हो । यसअघि समितिले लेखनाथको ढाडवेसी, लेखनाथको भण्डारढिकको खेलमैदान, हेमजाको सेतीनदी किनारा लामपाटन लगायातको क्षेत्रमा समितिले क्रिकेट मैदानको लागि जग्गाको अध्ययन अवलोकनगरेको थियो । पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण गर्न आवश्यक जग्गा उपलब्ध भएकोले अब निमार्ण प्रकृयालाई तत्काल अघि बढाउने निमार्ण समितिका संयोजक पालिखेले बताए ।
समितिमा इन्जिनियर तुल्सी भट्ट सहसंयोजक र अन्य सदस्यहरुमा डाक्टर विरेन्द्रसिंह गुरुङ, रतन गुरुङ, संजयकान्त सग्देल, प्रेमनारायण न्यौपाने, सुदर्शन रञ्जित, विरभद्र आचार्य र लेखनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रामचन्द्र पौडेल रहेका छन । रतन गुरुङ क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष तथा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ८ पोखराका सचिव समेत हुन भने संजयकान्त सिग्देल कास्की जिल्ला क्रिकेट संघका सचिव हुन ।
क्षेक्रीय क्रिकेट विकास समिति पोखराका कार्यवाहक अध्यक्ष देवेन्सन प्रजुले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नु राम्रो भएको बताउदै समिति निमार्ण प्रकृयामा गुनासो गरेका छन । उनले भने ‘समिति निमार्ण गर्दा संस्थागत भएन व्यक्तिलाई टिपेर समिति गठन गरेको छ यसमा हाम्रो गुनासो छ ।’
पोखरामा दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निमार्ण भए पछि काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगिता पोखरामा पनि गर्न सक्ने उनले दाबी गरे । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक अध्यक्ष दिपक कोईरालाले पोखरामा दुई वटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुनुले धेरै राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने ‘यो अवस्थामा पशुपतिघाटमा ३ सय रोपनी क्षेत्रफलको जमीन पाउनु ठुलो कुरा हो अब मैदान निमार्ण प्रकृयामा सवै लाग्नु पर्दछ ।’
कनै पनि अन्तरष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न दुई वटा अन्तरष्ट्रिय स्तरको मैदान आवश्यक पर्दछ । काठमाडौंमा चार वटा अन्तारष्ट्रिय क्रिकेट मैदान छन् भने पोखरामा हाल एउटा रहेको छ ।
स्रोत : पोखरापत्र