२०७२ जेष्ठ २७ बुधवार,
काठमाडौं: अर्थमन्त्री डा. रामशरण महतले सरकारले दाता सम्मेलनमा पुनर्निर्माणको प्रस्ट नीति र कार्यक्रम देखाएर सहयोग माग्ने बताएका छन्। भूकम्पको क्षतिपछि पुनर्निर्माणका लागि सरकारसँग स्पष्ट योजना र कार्यनीति नै नभएको आरोप लागिरहेका बेला अर्थमन्त्री डा. महतले राहत वितरणमा जस्तो गल्तीकमजोरी पुनर्निर्माण खाका र कार्यान्वयनका क्रममा नदोहोरिने बताए।
समग्र क्षतिको विवरण आउनासाथ पुनर्निर्माण कार्यक्रम, योजना र प्याकेज तयार गरिने अर्थमन्त्री महतले अन्नपूर्ण पोस्ट् दैनिकसँगको अन्तरसंवादमा मंगलबार बताए। ‘सरकारले दातासामु निश्चित फ्रेमवर्क र नियमभित्र रहेर कार्यक्रम तय र त्यसको कार्यान्वयन तथा खर्च गर्ने विधिसमेत प्रस्तुत गर्नेछ’, उनले भने।
असार १० गते हुने दाता सम्मेलनमा जतिसक्दो धेरै दातृ राष्ट्रका प्रतिनिधि सहभागी गराई सहयोग रकम जुटाउने तयारीमा सरकार लागेको छ।
दाता स मेलनकै लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्न आफू बुधबार भारत जान लागेको उल्लेख गर्दै अर्थमन्त्री महतले नेपालीलाई हौसला दिन प्रधानमन्त्री मोदी दाता सम्मेलनमा सहभागी हुने अपेक्षा गरेको बताए।
बृहत् योजना र कार्यक्रम पेस गरेपछि दाताले सोहीअनुसार सहयोग गर्नेमा विश्वस्त देखिए पनि डा. महतले सरकारले दाताबाट कति रकम सहयोग पाउने अपेक्षा गरेको छ भन्नेचाहिँ खुलाएनन्।
विभिन्न सहयोगी मुलुकसहित विश्व बैंक, एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय निकायसँग पनि अनुदान तथा ऋण सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए। एसियाली विकास बैंक (एडीबी) बाट २० अर्ब रुपैयाँ हाराहारीमा सहयोगको आश्वासन पाएको पनि उनले जानकारी दिए।
भूकम्पबाट क्षति भएको संरचनाको पुनर्निर्माणका लागि आगामी बजेटमा प्रस्ट कार्यक्रम ल्याइने उनले बताए। पुनर्निर्माणका अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने भएकाले सरकारले बजेट निर्माणका लागि पनि दाता सम्मेलन कुरेको छ।
दाताको सहयोग आश्वासनकै आधारमा बजेटको आकार र कार्यक्रम निर्देशित हुने उनले संकेत गरे। मन्त्री महतका अनुसार सरकारले जुनसुकै प्रकारका सहयोग पनि एक द्वार प्रणालीबाट होस् भन्ने चाहेको छ।
संविधान निर्माणमा प्रमुख दलबीच सहमति भएकाले अबको मुद्दा विकासतर्फ केन्द्रित हुने जानकारी दिँदै अब बन्ने राष्ट्रिय सहमतिको सरकारले पुनर्निर्माणका काम अझ प्रभावकारी ढंगले अघि बढाउन सक्ने विश्वास मन्त्री महतले व्यक्त गरे।
स्रोत : अन्नपुर्णपोस्ट