ताजा खबर

नेमारको नेतृत्वमा ब्राजिलको आशा

२०७२ जेठ २७ ,

ब्राजिलसँग गत विश्वकपमा जर्मनीसँग व्यहोरेको ७–१ गोलको लज्जास्पद पराजयको पीडा अझै पनि छ । सेमिफाइनलको त्यो पराजयले ब्राजिललाई उपाधि होडबाट विमुख मात्रै बनाएको थिएन, हजारौँ घरेलु समर्थकबीच जर्मनीले ब्राजिललाई निकै नाजुक अवस्थामा पुर्‍याएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा समेत नेदरल्यान्ड्सको ३–० को जितले ब्राजिलमाथि थप पीडा थप्ने काम गरेको थियो । त्यसको वर्ष दिनपछि ब्राजिल फेरि अर्काे ठूलो प्रतियोगिताका लागि तयार भएको छ ।

विश्वच्याम्पियन बन्ने योजना गुमाइसकेको अवस्थामा ब्राजिल यसपटक दक्षिण अमेरिकी देशबीच च्याम्पियन बन्ने योजनामा छ । यसै साताबाट चिलीमा सुरु हुने प्रतियोगिताका लागि ब्राजिलले नयाँ प्रशिक्षक डुंगा र नयाँ कप्तान नेमारको नेतृत्वमा कडा मिहिनेत गरिरहेको छ । नयाँ कप्तान र प्रशिक्षकको नेतृत्वमा पछिल्लो समय सफलता हात पारिरहेकाले पनि ब्राजिल यसपटक आफ्नो योजना सफल हुनेमा विश्वस्त देखिएको छ । गत विश्वकपपछि लुइज फिलिप स्कोलारीलाई विस्थापित गरेका प्रशिक्षक डुंगाको नेतृत्वमा ब्राजिलले अहिलेसम्म पराजय व्यहोरेको छैन ।

आधिकारिक प्रतियोगितामा डुंगाको भाग्यपरीक्षा हुन बाँकी छ । प्रशिक्षक नियुक्त भएयता ब्राजिल डुंगाको नेतृत्वमा खेलेको नौ खेलमा पराजित भएको छैन । ब्राजिलले डुंगाको नेतृत्वमा खेलेको मैत्रीपूर्ण खेलमा कोलम्बिया, चिली, अर्जेन्टिना, फ्रान्स र मेक्सीकोलगायत देशलाई पराजित गरेको छ । यसअघि सन् २००७ को कोपा अमेरिकामा समेत ब्राजिलको राष्ट्रिय टोलीको नेतृत्व गरेका डुंगाले अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्राजिलको पुनरुत्थानका लागि नेमारको भूमिका महत्त्वपूर्ण बन्ने तर्क गरेका छन् । आफूले कार्यकाल सुरु गरेपछि पहिलो काम नेमारलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेका डुंगाले नेमारबाट बढिनै आशा गरेका छन् । डुंगा कप्तानको जिम्मेवारी सुम्पिएपछि नेमारको प्रदर्शनमा थप निखार आएकोसमेत दाबी गर्छन् । ‘यसमा अचम्मित हुनुपर्ने कुनै कारण छैन, तथ्यले नै देखाएको छ, कप्तानको जिम्मेवारी दिएपछि उनले राम्रो योगदान दिएका छन्,’ डुंगाले भनेका छन् । उनले नेमार चुनौती मन पराउने खेलाडी भएको बताए । ‘उनी यस्ता खेलाडी हुन्, जो चुनौतीको सामना गर्न रुचाउँछन्, जति बढी जिम्मेवारी दिइयो, उनी त्यति नै राम्रोसँग निर्वाह गर्छन्,’ डुंगाले भने, ‘नेमार युरोपियन फुटबलमा इतिहास रच्दै छन् ।’ गत शनिबार बार्सिलोनाका लागि च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेमार आइतबार मेक्सिकोविरुद्धको खेलमा भने अनुपस्थित थिए । नेमारले इन्जुरी समयमा गोल गरेपछि इटालियन क्लब युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको पाँचाँै उपाधि जितेको थियो ।

यो सिजन बार्सिलोनाले तीन ठूला उपाधि जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका नेमारले आफ्नो गोल संख्यासमेत ३९ पुर्‍याएका छन् । डुंगाले च्याम्पियन्स लिगको प्रदर्शन हेर्दा नेमार उत्कृष्ट फर्ममा रहेको र कोपा अमेरिकामा ब्राजिललाई उपाधि दाबेदार बनाउन त्यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । ‘समग्रमा उनी फर्ममा रहनु भनेको ब्राजिलका लागि फाइदा पुग्नु हो,’ उनले भने, ‘उनले फाइनलमा गोल गर्दै च्याम्पियन्स लिग उपाधि जितेका छन्, ब्राजिलले त्यसबाट फाइदा लिनेछ ।’ ब्राजिलले विश्वकपमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दाकै खेलाडीलाई टोलीमा समावेश गरे पनि कैयाँै नयाँ खेलाडीलाई समेत अवसर दिएको छ । जसले ब्राजिलको च्याम्पियन बन्ने योजनामा सघाउ पुग्न सक्नेछ । समूह ‘सी’मा परेको ब्राजिलले अर्काे आइतबार पेरुविरुद्धको खेलसँगै कोपा अमेरिकाको यात्रा सुरु गर्नेछ । यस्तै, जुन १७ मा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । जसलाई गत विश्वकपको क्वार्टरफाइनल ‘रिम्याच’का रूपमा हेरिएको छ । सोही खेलमा घाइते भएपछि नेमारले प्रतियोगिताका बाँकी खेल गुमाएका थिए ।

ब्राजिलले २१ जुनमा भेनेजुएलाको सामना गर्नेछ । ब्राजिल समूह विजेता बनेको अवस्थामा समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’मा उरुग्वे वा अर्जेन्टिनाको समूह उपविजेता बन्ने अवसर छ ।

स्रोत : नया पत्रिका

Related posts