ताजा खबर

ओलम्पिक विवाद मिलाउन रेफ्री मात्र बनेँ : सदस्यसचिव

२०७२ , जेठ २७,

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद मिलाउनु नसक्नुलाई आफ्नो चारवर्षे कार्यकालकै मुख्य कमजोरीका रूपमा लिएका छन् । चार वर्षको कार्यकाल आत्मसमीक्षासहित मंगलबार सदस्यसचिवका रूपमा अन्तिमपटक पत्रकार सम्मेलन गर्दै लामाले एनओसीको विवाद सुल्झाउनु नसक्नु कमजोरी रहेको बताएका हुन् ।

२९ जेठ २०६८ मा माओवादीको कोटामा सदस्यसचिव बनेका लामाको कार्यावधि २९ जेठमा सकिँदै छ । ‘ओलम्पिक कमिटीको विवाद मिलाउन मैले धेरै प्रयास गरेको थिएँ, सदस्यसचिवका रूपमा मैले त्यो विवाद मिलाउन नसकेकै हुँ,’ पत्रकार सम्मेलनमा लामाले भने, ‘मैले रेफ्रीको भूमिका मात्र निर्वाह गरेको थिएँ, एनओसीका दुवै पक्षका खेलाडीले गोल गर्न चाहेनन्, उनीहरू आफ्नै पोस्टमा बल खेलाएर बसे ।

 राजनीतिक प्रवृत्ति भएकाले ओलम्पिक कमिटीको विवाद सुझाउन नसकेको निस्कर्ष उनले निकालका छन् । ‘ओलम्पिक कमिटीको झगडा, प्रवृत्ति राजनीतिक भएको हाम्रो निस्कर्ष हो,’ उनले भने, ‘राष्ट्रियता र खेलकुदको आँखाबाट हेर्दा विवाद मिल्न धेरै समय लाग्दैन ।’ लामाले सुरुवाती क्रममा ध्रुवबहादुर प्रधान अध्यक्ष नेपाल ओलम्पिक कमिटीको समर्थन गरेका थिए । प्रधान समूहसँग सम्बन्ध बिग्रेपछि उनले रुक्मशमशेर राणा अध्यक्ष नेपाल ओलम्पिक कमिटीलाई समर्थन गरेका थिए ।

नेपाली खेलकुदकै सबैभन्दा पुरानो संघमध्ये एक नेपाल क्रिकेट संघ (क्यान) को चुनाव अनिवार्य भएकाले निर्वाचन गराएको सदस्यसचिव लामाले बताएका छन् । परिषद्को अनुरोध, निर्देशन र ऐन पालना नगर्ने क्यानलाई ट्रयाकमा ल्याउनकै लागि चुनाव गराएको उनले बताए । क्यानको नेतृत्व परिवर्तन गर्दा क्रिकेट क्षेत्रकै व्यक्तिको कुरा सुनेर निर्णय गर्नु आफ्नो गल्ती भएको लामाले आत्मालोचना गरेका छन् । ‘क्रिकेटकै एक्स्पर्ट र यसै खेलसम्बन्धी व्यक्तिसँग छलफल गरेको थिएँ, उनीहरूकै सल्लाह र सझुाबमै नेतृत्व परिवर्तन गर्ने निर्णय भयो, पछि फेरि त्यही नेतृत्वलाई चुनावी प्रक्रियाबाट छानेर ल्याएँ र सुरुको हाम्रो कदमलाई अनुमोदन गरेँ,’ ४० वर्ष तदर्थवादमा चलेको क्यानको चुनाव गर्नुको उद्देश्यबारे लामाले भने । दिनप्रतिदिन विवाद भइरहेको क्रिकेटलाई सही मार्गदिशा दिन सक्ने अर्को संस्थाको आवश्यकता महसुस गर्दै नेपाल क्रिकेट विकास बोर्डको प्रस्ताव अगाडि बढाएको उनले बताए । यसका लागि आफूले एक वर्षसम्म होमवर्क गरेको उनले जनाए ।

‘केही जाली–फटाहालाई पवित्र काम पनि पचेन, खेलकुदको दुर्भाग्य नै यही हो,’ उनले भने, ‘नेपालको क्रिकेट विकास र संस्थागत गर्न नेपाल क्रिकेट बोर्डको प्रस्ताव गरेको हुँ, मैले यो अवधारणा त्यतिकै ल्याएको होइन, यसका लागि एक वर्ष अभ्यास भएको छ ।’ पत्रकार सम्मेलनमा सदस्यसचिव लामाले खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि कडा टिप्पणी गरेका थिए । तल्लोस्तरका नेता खेलकुदमन्त्री बन्दा अहिलेको जस्तो अवस्था हुने उनले बताए । माथिल्लो स्तर र खेल बुझ्ने खेलकुदमन्त्री हुँदा खेलकुदमा कुनै विवाद नहुने सदस्यसचिव लामाको ठम्याइ छ । ‘तल्लोस्तरका नेता र खेल बुझ्दै नबुझेका खेलकुदमन्त्री हुँदा यस्तै हुने गर्छ, खेलसँग सम्बन्धित र माथिल्लो स्तरका नेता नै खेलकुदमन्त्री बन्दा त्यस्तो केही पनि हुँदैन, उनीहरूसँग काम गर्दा केही बाधा आउँदैन,’ चार वर्षको कार्यकालमा सात खेलकुदमन्त्रीसँगको सम्बन्धबारे लामाले भने, ‘वर्तमान खेलकुदमन्त्रीबाहेक मेरो कार्यकालमा आएका अन्य मन्त्रीसँगको सम्बन्ध निकै राम्रो रह्यो ।’

पौडेलले मन्त्री भएलगत्तै परिषद्मा आफ्नो मान्छे भित्र्याउने लामालाई हटाएका थिए । सर्वोच्च अदालतको स्टेअर्डरपछि लामाले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेका हुन् । तर, यो एक वर्षभित्र मन्त्री पौडेलले सदस्यसचिवका रूपमा लामालाई खासै काम गर्न दिएनन् । एक वर्ष विवादमै परे पनि बाँकी तीन वर्ष सदस्यसचिवका रूपमा लामा चर्चित रहेका थिए । उनले पदभार वहन गरेको पहिलो दिनमै आफू फोकस लाइटसहित प्रवेश गरेको बताए ।

पहिलो तीन वर्षमा लामाले कछुवाको गतिमा अगाडि बढिरहेको खेलकुदलाई खरायोको चालमा अग्रसर गराए । लामाले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, पुरस्कार र पद्धति निर्माणलाई विशेष जोड दिएका थिए । उनले तदर्थवादमा चलेका दर्जनाँै खेल संघलाई वैधानिक बनाउन निर्वाचन गराए । लामाको कार्यकालमा ९० भन्दा बढी संघले साधारणसभामार्फत नेतृत्व चयन गरेका छन् । उनकै कार्यकालमा छैटाँै राष्ट्रिय खेलकुद र लुम्बिनी बृहत् खेलकुद आयोजना भएको थियो । साथै, लामाले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न एकवर्षे प्रशिक्षण पनि लागू गरेका थिए । उनले राष्ट्रिय टिमका खेलाडीलाई एक वर्षको प्रशिक्षणको व्यवस्था मिलाएका थिए ।

स्रोत : नया पत्रिका

Related posts