ताजा खबर

ग्रिसलाई मर्केलको चेतावनी

२०७२ जेष्ठ २७ ,

बर्लिन/ जर्मन चान्सलर एन्जेला मर्केलले तत्कालै योजना नबनाए ग्रिस युरोपेली मुलुकबाट बाहिरिने बताएकी छिन् । त्यसका लागि ग्रिसले लामो समय नपाउने उनको चेतावनी छ ।

जर्मनीमा जी–७ सम्मेलनपछि मर्केलले युरोपमा एकजुट भावना विकास गर्नका लागि पनि ग्रिसले छिट्टै प्रस्ताव गर्नुपर्ने बताएकी छिन् । ‘ग्रिसले समयमा प्रस्ताव बनाउन नसके,’ उनले भनेकी छिन्, ‘ग्रिस युरोपेली युनियनबाट बाहिरिन्छ । हामीले बारम्बार यो कुरा भन्दै आएका छौँ । ग्रिसले गम्भीर भएर सोचोस् ।’

उता, ग्रिसका वित्तमन्त्री यानिस वारुफाकिसले युरोपेली मुलुकले ग्रिसमाथि औँला उठाउनुभन्दा सहमतिमा जोड दिनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘अहिले औँला उठाएर समस्या समाधान हुँदैन, सम्झौता गरेर जानुपर्छ ।’ ग्रिसको वित्तीय अवस्था बलियो बनाउन आफूहरू लागिरहेको पनि उनले जानकारी दिएका छन् । जी–७ सम्मेलन जलवायु परिवर्तन, युक्रेनमा जारी संकट अन्त्य तथा चरमपन्थ विरोधका मुद्दामा केन्द्रित थियो ।

सम्मेलनको आयोजक राष्ट्र जर्मनीकी चान्सलर मर्केलले सम्मेलनमा ग्रिस संकट पनि केन्द्रमा रहेको बताएकी छिन् । जी–७ सम्मेलनलगत्तै मर्केलको यस्तो कडा प्रतिक्रिया आउनु ग्रिसको रुससँग सुध्रँदो सम्बन्धको उपज भएको विश्लेषण छ । ग्रिसलाई युरोपेली युनियनले बारम्बार चेतावनी दिएपछि रुसले सहयोग गर्ने वाचा गरेको थियो ।

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *