ताजा खबर

रोकिएका टेलिशृंखला सुचारु

२०७२ जेष्ठ २७,

टेलिभिजन च्यानलमा प्रसारण हुने टेलिशृंखला तथा कार्यक्रमहरूलाई भूकम्पले निकै असर पारेको छ । १२ वैशाखको महाभूकम्पले ल्याएको विपत्तिले गर्दा टेलिभिजनका नियमित कार्यक्रमहरू अवरुद्ध नै रहे । सामान्य बन्दै गएको दैनिकीलाई २९ वैशाखमा गएको अर्काे शक्तिशाली परकम्पले फेरि लथालिंग पार्‍यो । जसकारण त्यतिवेला रोकिएका कतिपय कार्यक्रम अझैसम्म पनि सुचारु हुन सकेका छैनन् । विशेषगरी आमदर्शकले रुचिका साथ हेर्ने गरेका हास्यटेलिशृंखलाहरू भूकम्पले गर्दा बढी मारमा परेका छन् ।

‘देश विपत्तिमा छ, मान्छेहरू रोइरहेका छन्, यस्तो वेलामा हामी कसरी हाँस्न सक्छौँ,’ चर्चित हास्यटेलिशृंखला तीतो सत्यकी दीपाश्री निरौला भन्छिन्, ‘त्यसकारण तीतो सत्य तत्काल प्रसारणमा नल्याउने निर्णयमा छौँ ।’ उनले दैनिकी पूर्ण रूपले सामान्य अवस्थामा बदलिएपछि मात्रै तीतो सत्य आउने बताइन् । ‘जनजीवन कम्प्लिट्ली नर्मल भयो भने असार मध्यतिरबाट तीतो सत्य ल्याउनेछौँ । तर, अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’

भूकम्पका कारण रोकिएको अर्काे चर्चित हास्यटेलिशृंखला जिरे खुर्सानी भने सोमबार प्रसारणमा आयो ।भूकम्प जानुअघि नै खिचिएको ‘स्टक एपिसोड’ प्रसारण गरिएको जिरे खुर्सानीको नयाँ सुटिङ कहिले थाल्ने भन्नेमा भने अन्योल नै छ । आफूहरू भूकम्पपीडितलाई राहत वितरण तथा त्रसित विद्यार्थी, अभिभावकलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत सामान्य दैनिकीमा फर्काउन लागिपरेकाले जिरे खुर्सानीको नयाँ एपिसोड सुटिङ गर्ने कि नगर्नेमा दोधार रहेको निर्देशकमध्येका जितु नेपालले बताए । ‘अहिले खुलेर हाँस्न सक्ने स्थिति छैन । त्यसैले के गर्ने भन्ने निर्णय गर्न सकेका छैनौँ,’ उनले भने, ‘शिवहरि पौडेल दाइ र मैले स्थिति नर्मलमा झरेपछि मात्रै नयाँ सुटिङ गर्ने कि भन्ने सल्लाह गरेका छौँ । हेरौँ, के हुन्छ ।’ जितुले जिरे खुर्सानीको अझै एक एपिसोड स्टक रहेकाले आउँदो सोमबार पनि दर्शकले नयाँ विषय नै हेर्न पाउने बताए ।

छोटो समयमा धेरै चर्चा कमाएको भद्रगोल भने गत शुक्रबारदेखि प्रसारणमा आयो । शुक्रबार ‘रिपिट’ प्रसारण भएको सिरियलको नयाँ भाग भने आउँदो शुक्रबारदेखि दर्शकले हेर्न पाउने जानकारी निर्देशक शंकर आचार्यले दिए । मिडिया एजेन्सीका कारण करिब दुई महिना प्रसारण रोकिएको भद्रगोल वैशाख ११ गते सुचारु भएको थियो । शुक्रबार प्रसारण हुने ६८औँ एपिसोडको बुधबार सुटिङ गर्न थालिएको निर्देशक आचार्यले बताए । ‘आज र भोलि सुटिङ गर्दै छौँ,’ उनले भने, ‘यो भागमा भूकम्पसम्बन्धी विषय प्रस्तुत गर्दै छौँ ।’

हास्यअभिनेता तथा निर्देशक दमन रुपाखेती बोल्नु न बास्नुको अवस्थामा पुगे । कारण थियो– उनको नयाँ टेलिसिरियल हाक्का हाक्की चैत २१ गते शनिबारबाट नेपाल टेलिभिजनमा प्रसारण सुरु भयो । चैत २८ मा दोस्रो भाग प्रसारण भयो । प्रतिक्रिया बुझ्दै थिए, वैशाख पहिलो शनिबार मिस नेपालको लाइभका कारण उनको सिरियल प्रसारण भएन । १२ वैशाखमा त भूकम्प आइहाल्यो । ‘कत्ति गरेर नयाँ सिरियल ल्याएको, दुई भाग प्रसारण भएपछि नै भागाभाग भइहाल्यो नि,’ दमनले भने, ‘एकातिर भूकम्पको तनाव, अर्काेतिर सिरियलको अवस्था के हुन्छ भन्ने तनाव । बडो सकस पो भयो । तर पनि गत शनिबारदेखि हाक्का हाक्की सुचारु भएको छ ।’ आफ्नो सिरियलले दर्शकको मन जित्दै गर्दा आइपरेको महाविपत्तिले सबैलाई रुवाएको अवस्थामा उनीहरूलाई राहत दिनका लागि भए पनि आफूले सिरियल प्रसारण सुचारु गराएको दमनले बताए । ‘अब कन्टिन्यु आउँछ,’ उनले भने, ‘स्थिति सामान्य भइन्जेल हाक्का हाक्की नियमित आइरहन्छ ।’

अर्काे चर्चित शृंखला मेरी बास्सै यसै सातादेखि प्रसारणमा आएको छ । मंगलबार सीताराम कट्टेल (धुर्मुस) अमेरिका जानुअघि खिचिएको स्टक एपिसोड प्रसारण गरिएको थियो । ‘अझै एक भाग पहिलाकै स्टक छ, त्यसपछि नयाँ सुटिङ गरिन्छ,’ सीतारामले भने, ‘अहिले त म गाउँगाउँमा चर्पी र स्कुल बनाउन लागिपरेको छु । अर्काे हप्तासम्म यो काम सकेर सुटिङमा लाग्नुपर्ला ।

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने डिठ्ठा साब पनि शुक्रबारदेखि सुचारु भएको छ । ‘भूकम्पले बर्बादै पार्‍यो नि,’ डिठ्ठा साबका निर्देशक तथा शीर्ष अभिनेता किशोर भण्डारीले भने, ‘अब भने जनजीवन सामान्य हुँदै गइरहेको छ, त्यसैले सिरियल सुचारु गरिएको हो ।’ भूकम्पका कारण पाँच भाग रोकिएको आफ्नो सिरियल अब भने नियमित हुने उनले बताए ।

त्यसैगरी, कान्तिपुर टिभीमै आउने हर्के हवल्दारको प्रसारण पनि सुचारु भएको छ । हास्यसिरियलसँगै अन्य विधाका सिरियल र कार्यक्रम पनि अहिले बिस्तारै पुरानै चालमा प्रसारण हुन थालेका छन् । तर, फिल्मसम्बन्धी कार्यक्रमहरूलाई भने ‘म्याटर’को समस्या परेको छ । त्यसैले कतिपयले नेपाली फिल्मको इतिहास तथा गीतहरूले प्रोग्राम भर्ने गरेका छन् ।

स्रोत : नया पत्रिका

Related posts