ताजा खबर

सहमतिपछि उचालियो सेयर बजार

२०७२ जेष्ठ २६ मंगलवार,
काठमाडौं : प्रमुख राजनीतिक दलबीच संविधान निर्माणका लागि सहमति भएपछि सेयर बजारका लगानीकर्ता हौसिएका छन्।
बजार खुलेको १२ मिनेटमै तीन प्रतिशतभन्दा माथि गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १५ मिनेटका लागि कारोबार रोकेको थियो। अघिल्लो दिनको अन्तिम कारोबारको तुलनामा समग्र बजार तीन प्रतिशत बढेपछि १५ मिनेट कारोबार रोक्ने नियम छ। एकै दिन पाँच प्रतिशत बढेमा भने सोही दिनकै लागि कारोबार रोक्का हुन्छ।
पुँजी बजारमापक नेप्से परिसूचक मंगलबार २१.१० विन्दुले बढेर ९६६.५९ मा आइपुगेको छ भने कारोबार रकमसमेत ह्वात्तै बढेको छ। सुरुमा ३५ अंकसम्म बढेको बजारमा बिक्रीकर्ता आएपछि विस्तारै तल ओर्लिएको थियो।
भूकम्पपछि बजार खुल्दा नेप्से एक सय अंकसम्म तल झरेको थियो। आठ सय ५० अंकभन्दा तल तथा त्यस आसपासमा सेयर किनेका अल्पकालीन लगानीकर्ताले बेच्न थालेपछि बजारमा बिक्री चाप बढेको ब्रोकरले बताएका छन्।
स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले प्रमुख राजनीतिक दलबीच संविधान निर्माणमा सहमति भएपछि लगानीकर्ता उत्साहित देखिएका बताए। सुरुमा ३५ अंकले बढिसकेको बजारमा मध्यसमय भएपछि लगानीकर्ताले नाफा बुकिङ गर्न चाहेकाले केही बिक्री चाप परेको उनले बताए।
‘नयाँ लगानीकर्ता पनि थपिएका छन्। अब दिगो आर्थिक विकास हुने अपेक्षामा धेरैमा देखिएको छ,’ उनले भने। संविधान बन्ने सहमति भएकाले दिगो शान्ति तथा लगानी वातावरण बन्ने अपेक्षा लगानीकर्तामा रहेको छ।
संविधानमा सहमति भई राष्ट्रिय सरकार बन्नेतर्फ राजनीतिक दल अघि बढेकाले लगानी वातावरण बन्ने विश्वास बढेको छ। यही देखेर नयाँ लगानीकर्ता आएका हुन्। नेप्से एक हजार नजिक पुग्नै लागेकाले नयाँ लगानीकर्ता भने सेयर किन्दा सचेत हुन आवश्यक छ। यतिबेला बजारमा प्रवेश गरेकाहरूले कम्पनीको राम्रो अध्ययन गरेरमात्र सेयर किन्न बजारका विश्लेषकले सुझाव दिएका छन्।
नयाँ लगानीकर्ताले आकर्षक कमाइ भएका राम्रा कम्पनी छानेर सेयर किन्नुपर्ने सिजापतिले बताए। बजारमा लगानीयोग्य रकम (तरलता) बढेकाले सेयर बजार थपमाथि जान सहयोग गर्ने देखिन्छ भने अर्कोतिर आर्थिक वृद्धि दरमा संकुचन आउने प्रक्षेपणले दीर्घकालमा सेयर बजारलाई पनि नकारात्मक असर गर्न सक्छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ५३ करोड १० लाख ३१ हजार रुपैयाँभन्दा बढीको किनबेच भएको छ। पछिल्ला समय भएको यो कारोबार रकम निकै बढी हो। यस दिन ११ लाख ९६ हजार एक सय ५१ कित्ता सेयर कारोबार भएको हो। लगानीकर्ताको सम्पति मापन गर्ने बजारपुँजीकरण नौ खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ। मंगलबार कुल एक सय ३८ कम्पनीको सेयर किनबेच भएको छ।
एक घन्टा ढिला खुल्यो बजार 
नेपाल स्टक एक्सचेन्जलाई इन्टरनेट सेवा दिने कम्पनीको फाइबरमा आगलागी भएपपछि मंगलबार एक घन्टा ढिला सेयर बजार खुल्यो। नियमितरूपमा १२ बजे खुलेर तीन बजे बन्द हुने सेयर बजार मंगलबार एक बजे खुलेर चार बजेसम्म बन्द भएको हो।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *