२०७२ जेष्ठ २५ ,
ढाका : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसिया (सार्क) एकजुट र संगठित हुनुपर्ने बताएका छन्। मोदीले भारत र बंगलादेशबीच विभिन्न सम्झौतापछि आइतबार सम्बोधन गर्ने क्रममा उक्त खुलासा गरेका हुन्।
मोदीले दक्षिण एसियाका मुलुक मिलेर अघि बढ्नुको विकल्प नभएको उनले स्पष्ट पनि पारे। उनले संसारका शक्तिशाली देशहरूले पनि एकतामा जोड दिएको दाबी गरे। उनले भने, ‘यो युगमा जतिसुकै शक्तिशाली देश भए पनि एक्लै केही गर्न सक्दैनन्।’
त्यसैले सार्क क्षेत्रका देशहरू पनि एकजुट र संगठित भएर सँगै बढ्नु अबको आवश्यकता भएको उनको धारणा थियो। उनले सार्कमा विस्तारवाद नभई विकासवादको राजनीति चल्नुपर्ने आफ्नो मान्यता रहेको खुलासा गरे।
यसैगरी यस क्षेत्रमा विद्युत् ऊर्जाका लागि नेपाल-भारत-बंगलादेश र भुटान मिलेर काम गर्नुपर्ने बताएका छन्।मोदीले आतंकवादको कडा विरोध गरे। उनले आतंकवादको कुनै क्षेत्र र सीमा नहुने बताए।
उनले भने, ‘आतंकवादीको कुनै मूल्य र आदर्श हुँदैन। यो त केवल मानवता विरोधी कार्य हो।’ उनले आतंकवादले संसारमा फुटाउने मात्र काम गर्ने गरेको बताए।
सार्क देशबीच पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने उनको आग्रह थियो। यसले सार्कका जनतालाई आपसमा जोड्न सहयोग पुग्ने उनले दाबी गरे।
भारतीय प्रधानमन्त्री मोदीले छिमेकीप्रति आफ्नो विशेष सद्भाव भएको पनि स्पष्ट पारे। उनले भने, ‘मैले प्रधानमन्त्रीको शपथ ग्रहणमै सार्क मुलुक सँगसँगै काँधमा काँध मिलाएर हिँड्नुपर्छ भन्ने सन्देश दिएको थिएँ।’ शपथ ग्रहण समारोहतर्फ लक्षित गर्दै सार्क देशका प्रमुखहरूको उपस्थिति त्यसको संकेत भएको उनको भनाइ थियो।
उनले यस क्षेत्रमा कयौं कुरा समानता भएको बताए। खानपान, रहनसहन, संस्कृतिले एकतामा बाँधेका छन्। उनले यस्ता विषय एकताका लागि महत्त्वपूर्ण भएको बताए।
उनले भारतले संयुक्त राष्ट्रसंघको स्थायी सदस्य बन्ने अपेक्षा गरेको पनि बताए। राष्ट्रसंघको आह्वानमा भारतले शान्ति सेना पठाउँदै आएको स्मरण गर्दै भने, ‘शान्ति स्थापना कार्यमा सहयोग गर्ने भारतले स्थायी सदस्यता पाउने विषयमा चिन्तित हुनुपर्ने ठाउँ छैन।’
मोदीले उक्त अवसरमा बंगाली भाषामा सम्बोधन गरेका थिए। उनले भने, ‘आज मेरो यात्रा पूरा हुँदै छ। तर म सोच्छु, मेरो यात्रा भर्खरै सुरु भएको छ।’ भारत-बंगलादेशबीच भएका विभिन्न सम्झौतापछि उनले प्रगाढ मित्रता सुरु भएकोतर्फ लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्।
दुई देशबीचको सम्बन्ध आत्मीय भएको पुष्टि गर्न खोज्दै मोदीले भने, ‘सूर्यको किरण पहिला बंगलादेशमा पर्छ अनि मात्र भारतमा पर्छ।’ छिमेकमा शान्ति र विकास भए, त्यसको प्रभाव अरू देशमा पनि पर्ने उनले स्पष्ट पारे। छिमेक पछि परे त्यसबाट पीडित हुनुपर्ने पनि उनको आशय थियो।
मोदीले सम्बोधन गर्दै भने, ‘पास पास होइन अब साथ साथ। मानिसहरू सोच्छन्, हामी छिमेकी मात्र हौं। अब छिमेकीको परिभाषा बदलेर सहयात्री पनि हौं।
‘अब यस क्षेत्रमा विकासको यात्रा कसैले रोक्न खोज्दैमा रोकिने छैन। उनले वर्तमान सरकारले बंगलादेशलाई विकासतर्फ डो:याउने अपेक्षा गरेको पनि बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले बंगलादेशमा पाएको सम्मान सबै भारतवासीको भएको उनले बताए। बंगलादेश र बंगाली जनतासँग आफू र भारतको भावनात्मक सम्बन्ध भएको उनको भनाइ छ।
राजनीतिक संकट हुँदाहुँदै पनि बंगलादेशले गरेको आर्थिक वृद्धिदरप्रति उनले प्रशंसा गरे। यस्तो अवस्थामा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्नु सामान्य नभएको उनले बताए।
स्रोत : अन्नपुर्णपोस्ट