ताजा खबर

दक्षिण कोरियामा मर्सको संक्रमण बढ्यो

 २०७२ जेष्ठ २६ मंगलवार,
सोल : दक्षिण कोरियामा सोमबार यसअघिका तुलनामा सबैभन्दा धेरै नागरिकको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स)को संक्रमणबाट निधन भएको छ।सोमबारसम्म यसबाट संक्रमितमध्ये ६ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा मर्सको विषाणुबाट कयौंको ज्यान गएको छ।
दुई साता यतामात्र देखिएको संक्रमणका कारण त्यहाँको जनजीवन निकै प्रभावित तुल्याएको छ।दुई साताअघि चारजनामा यसको संक्रमण देखिएको थियो। सोमबारसम्म आइपुग्दा यसबाट संक्रमितको संख्या ८७ पुगेको छ।
अर्को एक समाचारअनुसार सोमबार मात्र यसका २३ जना विरामी भेटिएका छन्। एकै दिन यति ठूलो संख्यामा विरामी फेला परेको यो पहिलोपटक हो।
यो संक्रमणले दक्षिण कोरियामा आतंक सिर्जना गरेको छ। यस संक्रमणको त्रास फैलिएपछि त्यहाँको जनजीवनमा निकै ठूलो प्रभाव परेको छ।
दक्षिण कोरियामा यसको त्रासका कारण कम्तीमा पनि दुई हजार विद्यालय बन्द भएका छन् भने हजारौं स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकामा स्वास्थ्य जाँचका लागि राखिएको छ।
यस संक्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कयौं सतर्कता अपनाएको बताएको छ। रोकथामको प्रयास गरे पनि दिनहुँ नयाँ विरामी भेटिएका छन्।
सर्वसाधारणले सरकारले यस संक्रमणको नियन्त्रणका लागि आवश्यक सतर्कता एवं पूर्वतयारी गर्न नसकेको भन्दै आलोचना पनि गरेका छन्।
यस रोगको संक्रमण भएका पहिलो विरामी मे २० मा देखा परेका थिए। ६८ वर्षीय यी पुरुषले साउदी अरेबियाको भ्रमण गरेपछि उनमा यो रोग देखापरेको थियो।
यसपछि एक हजार ६ सय ६० व्यक्ति यस विषाणुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा आएको अनुमान गरिएको छ। उनीहरूलाई उपचारका लागि उच्च रूपमा पृथक् बनाइएको छ।
करिब एक सय ६० व्यक्तिलाई राज्यले तयार गरेको ठाउँमा पृथक् राखिएको छ। तिनीहरूलाई आफ्नै घरमा बस्न र अन्य व्यक्तिसँग भेट नगर्न भनिएको छ।
मर्सले साउदी अरेबियासहित २० मुलुकलाई प्रभावित बनाएको छ। यस विषाणु नियन्त्रण गर्न हालसम्म खोप तथा उपचार फेला परेको छैन।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts