ताजा खबर

एमाओवादी नेतृत्वको विपक्षी मोर्चा फुट्ने

काठमाडौ, जेष्ठ २६ –
एमाओवादीले सत्तारूढ कांग्रेस र एमालेसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा संविधान निर्माणलगायत विषयमा सहमति गरेपछि उसको नेतृत्वमा रहेको ३० दलीय विपक्षी मोर्चा फुट्ने लगभग निश्चित भएको छ ।

मधेसी मोर्चाभित्रका नेताहरूले एमाओवादीले सहमतिका नाममा आफूलाई धोका दिएको भन्दै अलग्गै मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाहेक २८ दलले सीमांकन, नामांकनबिना प्रदेश संख्या तोकेको, पूर्व र पश्चिम तराईका पाँच जिल्लाबारे सहमतिमा उल्लेख नै नभएको भन्दै एमाओवादी नेतृत्वको विरोध गरेका छन् ।

बैठकमा एमाअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेसग परिस्थितिवश सम्झौता गर्नुपरेको बताएको तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले कान्तिपुरसँग बताए । एमाओवादीको निर्णयप्रति चुइँक्क नबोलेको भन्दै मधेसी र जनजाति दलहरूले गच्छदारको समेत विरोध गरेका छन् ।

बालुवाटारमा भएको बैठकबारे जानकारी गराउन एमाओवादी अध्यक्ष तथा ३० दलीय गठबन्धनका संयोजक पुष्पकमल दाहालले मधेसी तथा जनजाति समूहहरूलाई आफ्नो संसदीय कार्यालय सिंहदरबारमा बोलाएका थिए । सीमांकनबिना प्रदेश संख्या तय गरिएको भन्दै २८ दलले विरोध जनाए । बैठकमा फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर भने अनुपस्थित थिए । उनीहरूका प्रतिनिधिमात्रै सहभागी थिए । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले ३० दलीय मोर्चामा विभाजन आइसकेको दाबी गरे । मंगलबार ११ बजे बस्ने २८ दलको बैठकमा यसको औपचारिक घोषणा गरिने उनले दाबी गरे । कांग्रेस र एमाले नेतृत्वमा सरकार बनेलगत्तै गठन भएको ३० दलीय विपक्षी गठबन्धनमा फुट आए राजनीतिले नयाँ कोर्स लिने विश्लेषण मोर्चाभित्रकै नेताहरूले गरेका छन् । तमलोपा उपाध्यक्ष त्रिपाठीले सीमांकनबिना प्रदेश संख्या तोकेर एमाओवादीले आफूहरूलाई धोका दिएको आरोप लगाए । ‘अब नयाँ गठबन्धनको वातावरण बनेको छ,’ त्रिपाठीले कान्तिपुरसँग भने, ‘एमाओवादीको कांग्रेस र एमालेसँग सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने कुराले अबको गठबन्धनको दिशा निर्धारण हुन्छ ।

तत्काल आन्दोलनको कार्यक्रम घोषणा नगरे पनि संविधानसभाबाट बाहिरिन सक्ने संकेत मोर्चाभित्रका नेताहरूले दिएका छन् । ‘महाभूकम्पको विनाशबाट जनजीवन प्रभावित भएका बेला आन्दोलनको औचित्य पुष्टि गर्न गाह्रो हुन्छ, तर सत्तापक्षले यसैको फाइदा उठाउन खोजेको छ,’ मोर्चाका एक नेताले भने, ‘त्यसैले हामी संविधानसभाभित्र हुन सक्ने मनपरीविरुद्ध सभा नै बहिष्कार गरेर जनतासँगै आउन चाहन्छौं । संविधानसभाले फास्ट ट्रयाकका नाममा गर्ने मनपरीको साक्षी आफूहरू बस्न नसक्ने ती नेताले बताए ।

२८ दलले मंगलबार बिहान ११ बजे तमलोपा संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठक गर्ने जानकारी मोर्चाका नेताहरूले सोमबार अपराह्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

स्रोत : कान्तिपुर

Related posts