आइभरीविरुद्ध जर्मनीको गोल वर्षा

२०७२ जेष्ठ २६ ,
महिला विश्वकप फुटबल

ओटावा : महिला विश्वकप फुटबलमा जर्मनीले आइभरी कोस्टविरुद्ध गोलको वर्षा गरेको छ। जर्मनीले आइतबार राति भएको समूहगत चरणको खेलमा आइभरी कोस्टलाई १०-० गोलको फराकिलो अन्तरले हरायो। महिला विश्वकपको इतिहासमा यो दोस्रो ठूलो अन्तरको जित हो।

समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा जर्मनीको सजिलो जितमा सेलिया सासिक र एन्जा मिट्टागले ह्याट्रिक गरे। सेलियाले गरेको ह्याट्रिक महिला विश्वकपको इतिहासमै सबैभन्दा छिटो हो।
उनले खेल सुरु भएको ३१ मिनेटभित्रै ह्याट्रिक पूरा गरेकी थिइन्। खेलको तेस्रो मिनेटमै पहिलो गोल गरेकी सेलियाले १४औं मिनेटमा दोस्रो र ३१औं मिनेटमा तेस्रो गोल गरेकी थिइन्।
प्रारम्भदेखि नै एकपक्षीय रूपमा अघि बढेको उक्त खेलमा एन्जाले भने २९औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। ३५औं मिनेटमा व्यक्तिगत रूपमा दोस्रो गोल गरेकी एन्जाले ६४औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। सिमोन लाउडरले ७१औं मिनेटमा टोलीको अग्रतालाई ७-० बनाइन्।
यसैगरी ७५औं मिनेटमा सारा डेब्रिजले टोलीको लागि आठौं गोल गरिन्। खेलको प्रारम्भदेखि नै सुरु भएको जर्मनीको गोल गर्ने क्रम अन्त्यसम्म पनि रोकिएन्।
७९औं मिनेटमा मेलानी बेरिंगरले टोलीको अग्रतालाई ९-० बनाइन् भने ८६औं मिनेटमा एलेस्यान्ड्रा पोपले १०औं गोल गरिन्। जर्मनी दुई पटकको विश्वकप विजेता हो।
तुलनात्मक रूपमा महिला फुटबलमा आइभरीलाई कमजोर टोली मानिन्छ। आइभरीको महिला विश्वकपमा यो नै पहिलो सहभागिता पनि हो।
अनुभवको कमीका कारण आइभरीका खेलाडीले मैदानमा प्राविधिकभन्दा शारीरिक शक्तिको बढी प्रयोग गरेका थिए। सोही कारणले आइभरीका ६ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।
सोही समूहको अर्को खेलमा नर्वेले थाइल्यान्डलाई ४-० गोलले पराजित गर्‍यो। नर्वेको जितमा इसाबेल हेर्लो सनले दुई गोलको योगदान गरिन्।
उनले २९औं र ३४औं मिनेटमा गोल गरेकी थिइन्। यसअघि टिरिन रोनिङले १५औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेकी थिइन्। चौथो तथा अन्तिम गोल भने ६८औं मिनेटमा आडा हेगरबर्गले गरेकी थिइन्।
स्रोत : अन्नपुर्णपोस्ट

Related posts