जेष्ठ २५ ,
राजेश हमाल
राजेश हमालजीसँग ‘चाहना’, ‘परिभाषा’, ‘सडक’ आदि गरी सात–आठवटा फिल्ममा सँगै काम गरेँ । उहाँमा निहित अभिनय क्षमतालाई कुनै पनि नेपाली निर्देशकले बाहिर निकाल्न सकेका छन्जस्तो मलाई लाग्दैन । उहाँको क्यालिबर राम्रोसँग सेल हुन सकेकै छैन । डाइरेक्टरहरूले उहाँलाई बोलाउने, ‘राजेश हमाल आउनुभयो, जे मन लाग्छ, गर्नुस्’जस्तो गरेर खुला छोडिदिइरहनुभएको छ । यसले गर्दा उहाँको खुबी बाहिर निस्किनै पाएको छैन । फिल्म ‘परिभाषा’मा एउटा सिन छ । एउटै फिल्ममा काम गरे पनि हामी त्यतिवेला एक–अर्काका प्रतिद्वन्द्वीजस्ता थियौँ । तर पनि, सिनलाई कसरी राम्रो बनाउने भन्नेबारे हामी सरसल्लाह गथ्र्यौँ । ‘परिभाषा’मा राजेशजीले गर्ने एउटा सिनमा मैले सुझाब दिँदै भनेँ, ‘यो सिनको भ्यालु ज्यादै हाई हुन्छ । यो तरिकाले सिन दियो भने भयंकर राम्रो हुन्छ ।’ जुनसुकै सिन दिँदा पनि राजेशजी चार–पाँच मिनेट टाइम लिनुहुन्थ्यो र सट दिइहाल्नुहुन्थ्यो । तर, त्यो सिनमा उहाँले दुई घन्टा लगाउनुभयो । एक पेज लामो डाइलग भन्नु थियो, राजेशजीले मलाई । ‘यो तरिकाले गर्नुभयो भने ‘यु क्यान डु इट । यो तपाईंको लाइफकै बेस्ट सिन हुनेछ ।’ मैले उहाँलाई भनेको थिएँ । नभन्दै उहाँले बेजोड सिन दिनुभयो । त्यतिवेला मलाई लाग्यो, यो मान्छेलाई गराउन सकियो भने बहुत गर्न सक्ने रहेछ । त्यतिवेलादेखि बनेको उहाँसँगको सम्बन्ध अझै कायम छ । अमेरिका आएका वेला हरेकपटक उहाँ मेरो घर आउनुहुन्छ ।
भुवन केसी
भुवन दाइसँग मैले एउटा मात्रै सिनेमामा काम गर्ने मौका पाएँ । मभन्दा सिनियर भएकाले उहाँलाई मैले सधँै आदरपूर्वक हेर्ने गरेको छु । दुई–चारपटक अमेरिका आउँदा उहाँ मेरैमा बस्नुभयो । त्यतिवेला उहाँलाई थप नजिकबाट चिन्ने मौका पाएँ । उहाँसम्बन्धी कन्ट्रोभर्सी मिडियामा आइरहन्छन् । त्यस्तो गराउन अलि–अलि उहाँ आफैँ रुचाउनुहुन्छ पनि । यस्ता कन्ट्रोभर्सीमा अलि–अलि सत्यता पनि होला, नत्र त्यसै पत्रपत्रिकाले किन लेख्थे होला र † एज अ ह्युमन बिइङ, उहाँ धेरै राम्रो मानिस हो । कलाकारका रूपमा पनि उहाँ नेपालको सुपरस्टार हो । नेपालमा सुपरस्टारिजमलाई जन्म दिने मानिसका रूपमा उहाँलाई मैले चिनेको छु । मेरो पहिलो फिल्म ‘विजय–पराजय’मा मैले उहाँसँग काम गरेँ । अहिले पनि उहाँसँग मेरो सम्पर्क छ । केही समयअघि छोराको बिहे गर्न उहाँ अमेरिका पुग्दा हाम्रो भेट भएको थियो । नेपाल आएको वेला उहाँलाई मैले पनि भेट्ने गरेको छु ।
शिव श्रेष्ठ
शिव श्रेष्ठ दाइ मलाई ‘जली’ टाइपको पर्सन लाग्छ, रमाइलो गरिरहनुपर्ने खालको । उहाँ जतिवेला पनि रमाइलो मुडमा रहनुहुन्छ । उहाँसँग मैले तीनवटा फिल्ममा काम गरेँ, ‘मनकामना’, ‘महामाया’ र ‘आमा’ । ‘मनकामना’मा काम गर्दा हामीले धेरै दिन बाहिर सँगै बस्नुपर्यो । त्यतिवेला मैले उहाँलाई जतिवेला पनि हाँसखेल, ठट्टा, रमाइलो गर्ने मुडमा पाएँ । सिरियस भएर गजधम्म बस्न उहाँले जान्नुभएकै छैन । त्यतिवेला उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो । अहिले पनि उहाँसँग मेरो वेला–वेलामा सम्पर्क भइरहन्छ । मभन्दा सिनियर भएकाले नेपाल आएको वेला उहाँलाई म हरेकपटक फोन गर्ने गर्छु ।
श्रीकृष्ण श्रेष्ठ
दु:खपूर्वक हामीले स्विकार्नुपर्छ कि अहिले ऊ हामीमाझ छैन । उसलाई फिल्म क्षेत्रमा सक्रिय गराउनमा मेरो पनि हात छ । उसलाई फिल्ममा काम गराउन मैले ठूलै राजनीति गर्नुपरेको थियो । त्यतिवेला म एकेडेमीको जागिरे थिएँ । म एक्टिङ विभागमा जागिर गर्थेँ, ऊ नृत्य विभागमा । एकेडेमीको वार्षिकोत्सवको अवसरमा एकपटक हामीले नाटक गर्नुपर्ने भयो । अनि हामी नजिकियौँ । टुबोर्ग बियरले भिडियो फिल्म बनाउने भयो । गौरी मल्ललगायत फिल्मका कलाकारलाई काम गराउने भनिएको थियो । ठूलो फिल्म नबनाए पनि बिग बजेटको फिल्म बनाउने योजना थियो । फिल्ममा रतन थापा सहनायक हुनुहुन्थ्यो, म नायक थिएँ । रतन थापाले समयमा नआउनेजस्ता काम गर्न थालेपछि मैले माहोल मिलाएर उहाँको ठाउँमा श्रीकृष्णलाई भित्र्याउने परिस्थिति बनाएँ । मैले भनेको डाइरेक्टरहरूले त्यतिवेला टेर्थे पनि । फिल्मको निर्देशक तीर्थ थापा हुनुहुन्थ्यो । ‘तीर्थजी, मसँग एकजना भाइ छन्, उनलाई लिऔँ’ भनी मैले प्रस्ताव गरेँ, जसलाई उहाँले स्वीकार गर्नुभयो । त्यसपछि धेरै फिल्ममा हामीले सँगै काम गर्यौँ । ‘पुकार’मा उसले मेरो एन्टिरोल गर्यो । ऊ भिलेन भयो, मैले हिरो भएर काम गरेँ । ‘चुनौती’ र ‘गोठालो’मा पनि सँगै काम गर्यौँ । ऊ पनि राम्रो एक्टर हो । हरेक विधामा उसको दख्खल थियो । म नाच्न जान्दिनथेँ । ऊ गजबसँग नाच्थ्यो । हामीबीच अनौपचारिक खालको सम्बन्ध थियो । उसलाई म भाइलाई जस्तै ‘बिहेभ’ गर्थेँ । दिल्लीमा रोग पत्ता लगाएर ऊ घर फर्किएपछि घरमा फोन गरेर मैले उसलाई भनेको थिएँ, ‘श्री, संसारकै बेस्ट हस्पिटल जोन हप्किन्स हो, जुन अमेरिकामा छ । अमेरिका आऊ, तिम्रो सम्पूर्ण उपचार म गराउँछु ।’ यो कुरा उसको बुबा र दाजुलाई पनि थाहा छ । ‘दाइ, दिल्लीकै औषधिले राम्रो गरिरहेको छ, सायद यसैले ठीक गर्छ होला, परेछ भने पछि आउँला,’ उसले भन्यो ।
सुनील थापा
म नेपाल आएको थाहा पाएपछि सुनील थापादाइले मलाई फोन गर्नुभयो । त्यतिवेला उहाँ एउटा मद्रासी फिल्मको छायांकन गर्न चार दिनका लागि नेपाल आउनुभएको थियो । त्यसपछि अनिल कपुरको ब्यानरमा बनेको ‘२४ आवर’ सिरियलको छायांकनका निम्ति उहाँले तत्काल मुम्बई जानुपर्ने थियो । त्यतिकैमा उहाँले मलाई फोन गरेर भन्नुभयो, ‘तँ तुरुन्त चितवन आइज, तँलाई म एक दिन कुर्छु ।’ उहाँले यति भनेपछि म पनि सबै काम थाती राखेर तत्काल चितवन गएँ । त्यति नजिकको सम्बन्ध छ हाम्रो । उहाँसँग मैले थुप्रै फिल्ममा काम गरेँ । तेस्रो फिल्म ‘अरुणिमा’पछिका मेरो बाँकी सबै फिल्ममा उहाँसँग काम गरेँ । ‘अरुणिमा’मा उहाँले मेरो दाइको रोल गर्नुभएको छ । त्योबाहेकका सबै फिल्ममा उहाँले भिलेनको रोल गर्नुभयो । हामी त्यतिवेला जवान थियौँ । उहाँको ब्यालेन्स कतिपय अवस्थामा बिग्रन्थ्यो । ब्यालेन्स बिग्रिएको वेला एक्सन सिन छायांकन गर्ने क्रममा मैले उहाँबाट थुप्रैपटक गोदाइ खाएको छु ।
नीर शाह
उहाँलाई म नेपालको बेस्ट एक्टर र चरित्र अभिनेता भन्न रुचाउँछु । उहाँसँग ‘धर्म’, ‘प्रेमपिण्ड’, ‘पुकार’लगायत थुप्रै फिल्ममा मैले काम गरेँ । नेपालमा मलाई दुईजनाका अगाडि क्यामेरा फेस गर्न डर लाग्छ, एउटा नीर शाह, अर्को गौरी मल्ल । अभिनय गर्दा उहाँहरू यति गहिराइमा डुब्नुहुन्छ कि एउटै फ्रेममा काम गरिरहेका वेला मेरो कमजोरीले गर्दा उहाँहरूलाई अप्ठ्यारो पर्ने पो हो कि भन्ने डर मलाई लाग्ने गर्छ । ‘प्रेमपिण्ड’को एउटा सिनमा उहाँले मलाई गालामा हिर्काउनुभएको छ । छायांकनका क्रममा मैले उहाँलाई भनेँ, ‘नीर राजा, यो सिनमा मलाई साँच्चिकै हिर्काउनुस् ।’ त्यसपछि उहाँ इमोसनमा डुबेर लामो डायलग बोल्दै आउनुभयो र गालामा बेस्कन हिर्काउनुभयो । म ढलिनँ । टोपी खस्यो । त्यही भएर टोपी खसेको क्षणको अर्को टेक लिनुपर्ने भयो । उहाँले थप्पड हान्दा मेरो गालामा डाम बस्नैपथ्र्यो । नबसेको भए मेकअप गरेर भए पनि बसाउनुपथ्र्यो । उहाँले थप्पड हान्दा साँच्चिकै गालामा डाम बस्यो, मेकअप म्यानले दु:ख गर्नैपरेन । दुई घन्टासम्म गाला झन्झनायो ।
दिलीप रायमाझी
दिलीप रायमाझी मलाई मनपर्ने व्यक्ति हो । मेरो अन्तिम फिल्ममा उसले पनि हिरो भएर काम गर्न पायो रे भन्ने थाहा पाउँदा ऊभन्दा सायद म बढी खुसी भएको थिएँ होला । त्यसअघि ऊ कोरियोग्राफरको एसिस्टेन्ट भएर काम गथ्र्यो । उसको काम कलाकारलाई नाच्ने स्टेप देखाइदिने हुन्थ्यो । ‘ल दाइ, यसरी नाच,’ जिस्किँदै ऊ भन्ने गथ्र्यो । उसँग पनि मेरो अनौपचारिक खालको सम्बन्ध थियो । कहिलेकाहीँ त रातभर तास खेलिन्थ्यो । मैले नेपाल छोडेको अन्तिम रात ऊ मसँगै थियो । त्यतिवेला फिल्म ‘रगत’को गीत छायांकन भइरहेको थियो । चार बजे बिहानसम्म उसले मलाई डान्स सिकाइरहेको थियो । ६ बजेको फ्लाइटबाट मैले अमेरिका जानु थियो । अमेरिका पुगेको केही वर्षपछि ‘दिलीप रायमाझी नेपालको नम्बर वान हिरो भयो रे’ भन्ने सुनेँ । असाध्यै खुसी लाग्यो । उसको फिल्म ‘दर्पणछाया’ धेरैपटक हेरेको छु । ऊ एकदमै राम्रो कलाकार हो । खै के भएर हो, अहिले पछाडि परिरहेको छ । तर, एक जमानामा उसले नेपाली सिने क्षेत्रमा एकछत्र राज गरेको हो ।
जीवन लुइँटेल
मैले जीवन लुइँटेलको हेरेको पहिलो फिल्म ‘रिदम’ हो । यसमा उहाँको पर्फम्यान्स साँच्चिकै राम्रो थियो । फिल्म बनाउने विकास आचार्य मेरो पुरानो साथी हुनुभएकाले अमेरिकामा सो गर्न उहाँहरूको टिम पुगेको थियो । अमेरिकामा जति ठाउँ फिल्म प्रदर्शन भयो, करिब–करिब सबै ठाउँमा गएर मैले हेर्नुपर्यो । मैले त्यस्तै १०–१२ पटकजति ‘रिदम’ हेरेँ । तर, मलाई कहिल्यै बोर लागेन । त्योभन्दा अगाडि म जीवनलाई चिन्दिनथेँ । ‘रिदम’ फिल्म हेरेपछि उहाँप्रति ममा राम्रो छाप बस्यो, उहाँ ‘क्यालिबर’ भएको आर्टिस्ट हुनुहुँदो रहेछ भन्ने लाग्यो । त्यसको केही समयपछि म ‘नाइँ नभन्नु ल–२’को छायांकनका लागि नेपाल आएँ । म आएको थाहा पाएपछि उहाँ भेट्न आउनुभयो । जसरी म सिनियरलाई रेस्पेक्ट गर्छु, त्यसैगरी जुनियरले रेस्पेक्ट गर्दा मलाई पनि खुसी लाग्ने नै भयो । व्यक्तिका रूपमा पनि मैले उहाँलाई राम्रो पाएँ । पछिल्लोपटक उहाँ अमेरिका हुँदा हामी धेरैपटक सँगै बस्यौँ । त्यतिवेला मैले उहाँ कवि पनि हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ । उहाँका धेरै कविता सुनियो । कहिलेकाहीँ म पनि कविता लेख्ने गर्छु । आफूले लेखेका कुरा पनि उहाँलाई सुनाएँ । एकले अर्काको कविताको तारिफ गर्दै ‘वाह, वाह’ भनियो ।
स्रोत : नया पत्रिका