ताजा खबर

नेपालले युरोपमा ८ खेल खेल्ने

काठमाडौ, जेष्ठ २६  –
नेपाली क्रिकेटले विश्व ट्वान्टी–२० छनोट अगाडि तयारीका लागि युरोप भ्रमणमा खेलिने म्याचहरू र अभ्यास तय गरेको छ । आयरल्यान्ड र स्कटल्यान्डमा हुने ट्वान्टी–२० विश्वकप छनोटपूर्व नेपालले युरोपमा ८ खेल खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार नेपाल र नेदरल्यान्ड्सका बीच सोमबार चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने तय भएको छ । उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसलाई मान्यता पनि दिएको छ । प्रशिक्षक पुबुदु दसानायकेले नेपाललाई आधिकारिक खेल अत्यावश्यक भएको बताउँदै आएका थिए । त्यसअघि नेपालले एक साता लामो इंग्ल्यान्ड भ्रमणमा ४ अभ्यास खेल खेल्नेछ ।

‘प्रशिक्षक र संघबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नुपर्नेमा चिन्ता भइरहेको थियो, हाम्रो युरोप भ्रमण हुने भएपछि नेदरल्यान्ड्ससँगको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिन हामीले आईसीसीसमक्ष अनुरोध गरेका थियौं,’ घिमिरेले भनिन्, ‘ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा छिर्नु हाम्रा लागि अनिवार्य भइसकेको अवस्थामा हामीले आधिकारिक म्याच खेल्न लागेका हौं ।’

गत वर्षको मार्चमा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा नेपाल र नेदरल्यान्ड्सले स्मरणीय प्रदर्शन गरेपछि आईसीसीले जूनको अन्त्यमा नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । नेपालले विश्व ट्वान्टी–२० मा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । आयोजक बंगलादेशसँग पराजित भएको नेपाल झीनो रनरेट अन्तरमा दोस्रो चरणमा पुग्न सकेको थिएन । सोही प्रतियोगितामा आयरल्यान्डलाई पराजित गर्दै नेदरल्यान्ड्स दोस्रो चरणमा पुग्ने एक्लो एसोसिएट राष्ट्र बनेको थियो ।

एसियाली क्रिकेट परिषद्को पहलपछि नेपाल हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न श्रीलंका गएको थियो । तर वर्षाले एक खेलमात्र हुन दिएको थियो । क्यानको सक्रियता नदेखिंदा त्यसपछि भने कुनै आधिकारिक खेल नखेल्दा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता नै गुमाउने खतरा बढेको थियो । ‘हामीले पहल नगरेको होइन, हङकङसँग हामीले खेल्ने तय भइसकेको थियो, तर विश्व ट्वान्टी–२० छनोटमा एकै समूहमा भएपछि त्यसलाई स्थगित गरेका हौं,’ घिमिरेले भनिन् ।

विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा छिर्न कम्तीमा आठ खेल खेलेको हुनुपर्छ । नेदरल्यान्ड्ससँग चार खेल खेलेसँगै नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा छिर्नेछ । नेपालले विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्ड र हङकङसँग थप दुई आधिकारिक खेल खेल्नेछ । यी दुवै टोलीसँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता छ ।

हाल नेपाली टोली तयारीकै क्रममा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा छ । भारतीय क्रिकेट बोर्डको पूर्ण सहयोगमा नेपालले धर्मशालामा अभ्यास गरिरहेको हो । दुई हप्ता लामो अभ्यासपछि नेपाली टोली जून २० मा नेपाल फर्किनेछ । जून २३ मा नेपाली टोली इंग्ल्यान्ड लाग्नेछ । नेपालले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोनमा त्यसको भोलिपल्ट अभ्यास गर्नेछ । जून २५ मा नेपालले मिडलेक्स ११ सँग इंग्ल्यान्डमा पहिलो अभ्यास खेल खेल्नेछ । जून २६ मा फोस्टर र जून २९ मा ग्लोसेस्टरसायर र बाथ क्रिकेट क्लबसँग थप ३ अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली जून ३० को बिहान नेदरल्यान्ड्स लाग्नेछ । त्यही दिन नेपाल र नेदरल्यान्ड्सबीच पहिलो ट्वान्टी–२० खेल हुनेछ । जुलाई १, २ र ३ मा थप तीन आधिकारिक ट्वान्टी–२० खेल खेलेपछि नेपाली टोली जुलाई ४ मा उत्तरी आयरल्यान्ड पुग्नेछ ।

स्रोत : कान्तिपुर

Related posts