ताजा खबर

मनकामना मन्दिर जीर्णोद्धार सुरु

गोरखा, जेष्ठ २६  –
भत्काएर जीर्णोद्धार गर्न लागिएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको गजुर सोमबार झिकिएको छ । ढल्केर जीर्ण मन्दिरको जगैसम्म भत्काएर पुनर्निर्माण गर्न गजुर निकालेर सुरक्षित राखिएको हो ।

‘मन्दिर भत्काउने काम सुरु भयो,’ जीर्णोद्धार समिति अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘जगैसम्म भत्काएर पहिलेको जस्तै मन्दिर बनाउँछौं ।’ सुनको लेपन भएको गजुर निकालेर पूजाघरमा राखिएको छ । पाँच घेरा सुरक्षा बनाएर फलामको जाली भएको बाकस (भल्ट) भित्र गजुर राखिएको हो । पूजाघरका दुई ढोकाभित्र राखिएको भल्टमा तीनवटा ताला लगाएको छ । कोठादेखि गजुरसम्मको पाँचवटा चाबी प्रहरी चौकी, पुजारी, पुरातत्त्व विभाग र जीर्णोद्धार समितिको जिम्मामा छ ।

गजुर झिकेसँगै कालीगढ र मजदुर झिकाएर मन्दिरको छानो भत्काउन थालिने श्रेष्ठले बताए । जीर्ण मन्दिर भूकम्पपछि झनै कोल्टिएको थियो । मूलढोकासमेत बाङ्गिएपछि आउजाउ गर्न जोखिम हुने भन्दै भित्रबाट नियमित पूजा बन्द गरिएको छ । ‘पुजारीले बाहिर चौताराबाट नित्य पूजा गर्छन्’, उनले भने, ‘भक्तजन बाहिरबाटै दर्शन गरेर फर्कन्छन् ।’

मनकामना मन्दिर जीर्णोद्धार समिति बैठकले गत फागुन १५ मा क्षमापूजा गरेर काम थालेको थियो । ‘पुरानो स्वरूप नबिग्रने गरी जीर्णोद्धार तयारी पूरा भएको छ,’ उनले भने । मन्दिर जीर्णोद्धारका लागि आवश्यक सुन, तामा, काठ, इँटा र चुनासुर्की संकलन गरी सकिएको जानकारी समितिले दिएको छ । दुई वर्षभित्र जीर्णोद्धार सम्पन्न गर्ने समितिको लक्ष्य छ । यसका  लागि १४ करोड रुपैयाँ लाग्ने अनुमान छ । जीर्णोद्धारका क्रममा प्रयोगमा नआएका मन्दिरका सामग्री संग्रहालय बनाएर राखिने भएको छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *