ताजा खबर

लागूऔषध कारोबारी बढे

काठमाडौ, जेष्ठ २४ –
विनाशकारी भूकम्पले सबै त्रासमा रहेको मौका छोपेर लागूऔषध कारोबारी सक्रिय भएका छन्। पीडित भएर शिविरमा बसेका युवालाई लागूऔषधको कुलतमा लगाउनेदेखि विदेशमा तस्करीको प्रयास गर्ने गिरोहलाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। ब्युरोले टुँडिखेल, जावलाखेल र जोरपाटीका भूकम्पपीडितको आश्रयस्थलमा गएर औषधिजन्य लागूऔषधको कारोबार गर्नेलाई पक्राउ गरेको छ।

पक्राउ परेकामा महोत्तरी डाम्हिमडै घर भएका २५ वर्षीय रन्धिर ठाकुर र मकवानपुर आग्रा घर भएका ५८ वर्षीय चन्द्रबहादुर मिजारलाई पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार यिनीहरूले भारतीय सीमाबाट लागूऔषध ल्याएर भूकम्पपीडित भएका स्थानमा गई त्यहाँका युवालाई बिक्री गर्ने गरेका थिए।

‘घरबार नभएर पालमा बस्न पुगेका युवालाई फकाउँदै लागूऔषध प्रयोग गर्न लगाएको पाइयो,’ एसपी सिंहले भने। प्रहरीले पालमा बसेर लागूऔषध प्रयोग गर्ने किशोरको सूचनाका आधारमा यिनीहरूलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार यो गिरोह यसअघि पनि लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेको थियो। यिनीहरूले औषधि पसलमा पाइने लागूऔषधको कारोबार गर्छन्।

खासगरी डाक्टरको प्रेस्क्रिप्सनमा मात्र पाइने औषधि भारतीय बजारबाट अवैध रूपमा ल्याएर बिक्री गर्ने गर्छन्। प्रहरीका अनुसार डाइजेपाम, बु्रपेनर्फिन र फेनारगन नामका औषधि उनीहरू बिक्री गर्ने गर्छन्। भारतीय बजारमा यी लागूऔषध खुला रूपमा बिक्री वितरण हुन्छ। त्यसलाई लुकाइछिपाइ काठमाडौं ल्याएर महँगोमा युवाहरूलाई बेच्ने गर्छन्।

यसैबीच वैशाख १४ गते स्वदेश फर्कन लागेका अस्ट्रियन नागरिक २ किलो ५ सय ८० ग्राम चरेससहित पक्राउ परे। कतार एयरवेजको उडानबाट जान लागेका ५३ वर्षीय बिल्हेलम वेसाउन्डललाई उक्त लागूऔषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको हो।

भूकम्पका कारण उनको उडान रद्द भएको थियो। मौका फ्लाइटमा जान लागेका उनले चरेस लैजान लागेका थिए। मैदाको पिठोभित्र लागूऔषध लुकाएर ओसारपसार गर्नेसमेत समातिएका छन् । कलंकीमा मैदाको बोराभित्र औषधिजन्य लागूऔषध बोकेर हिंडेका बाराका २८ वर्षीय लीलावती चमार र त्यहीकै ३० वर्षीय रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको हो। यिनीहरूलाई गिरोहले थाहा नदिई बोराभित्र राखेर एक स्थानबाट अर्को स्थानमा पठाउन लगाएका थिए। ब्युरोले उनीहरूलाई सामान लैजान लगाउनेको खोजी भइरहेको जनाएको छ।

भूकम्पपछि राहतमा मदत गर्न आएका जर्मन नागरिक पनि लागूऔषधसहित समातिए। उनी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा काम गर्ने भएकाले सरकारी वकिल कार्यालयले मुद्दा नचाउन नमिल्ने भन्दै रोहवरमा छाड्न लगायो।

जर्मन नागरिक अमिरइल माही स्माइल नेपालबाट तान्जानिया जान लागेका बेला ६ दशमलव ५ ग्राम चरेससहित समातिएका हुन्। वैशाख १४ गते नेपाल आएका ५७ वर्षीय उनी त्यसको ठीक एक महिनापछि जेठ १४ गते कतार एयरवेजबाट दारेसलाम जान लागेका बेला पक्राउ परेका थिए।

संयुक्त राष्ट्रसंघको मातहतमा रहेर काम गर्ने कर्मचारी कूटनैतिक मर्यादामा हुने भएकाले उनलाई मुद्दा चलाउन नमिलेको लागूऔषध ब्युरोले जनाएको छ। उनी तान्जानियाबाट नेपाल आउँदा राष्ट्रसंघले परराष्ट्र मन्त्रालयलाई खबर गर्नुपर्ने थियो। खबर नगरेका कारण उनी पक्राउ परेका थिए। ‘कूटनीतिक ओहदामा आएको व्यक्तिलाई सम्बन्धित मुलुकमा फिर्ता पठाइन्छ, मुद्दा चलाइँदैन,’ ब्युरोका एसपी सिंहले भने।

यस्तै भक्तपुर बस्ने ५६ वर्षीय नानुमाया फुयाल पनि लागूऔषध कारोबारको अभियोगमा समातिएकी छन्। गठ्ठाघर बस्ने उनलाई ब्युरोले काठमाडौं जडीबुटीबाट डाइजेपाम, ब्रुपेनर्फिन र फेनारगनसहित पक्राउ गरेको हो। यिनी पटक/पटक लागूऔषध कारोबारको अभियोगमा समातिंदै आएकी थिइन्। औषधिजन्य लागूऔषधमा कम सजाय हुने गरेका कारण यिनी छुटेर पनि पुन: त्यही पेसामा लाग्ने गरेको प्रहरीको भनाइ छ।

लागूऔषध ब्युरोले विपत्को बेलामा लागूऔषध कारोबारीले मौका छोप्ने भन्दै सक्रियता बढाएको  छ।  ब्युरोका प्रमुख नायब महानिरीक्षक केशरी घिमिरेले प्रहरी र सूचना संकलकहरूलाई सक्रिय बनाइएको बताए। ‘यस्तो बेलामा भूकम्प पीडितहरूलाई लक्ष्य बनाउनुका साथै थप कारोबारको सम्भावना हुन्छ,’ उनले भने, ‘यस्तो हुन नदिन हामी सक्रिय भएर लागेका छौं।’

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *