ताजा खबर

नेपाली पोसाकलाई ‘सहुलियत’

काठमाडौ, जेष्ठ २४ –
भूकम्पका कारण नेपालको अर्थतन्त्र जोखिममा परेको भन्दै अमेरिकी सिनेटमा यहाँको तयारी पोसाकलाई भन्साररहित सुविधा दिन प्रस्ताव परेको छ। क्यालिफोर्नियाकी सिनेटर डायन फेनिस्टिनले जनवरीमा पेस गरेको विधेयकमा संशोधन गरी तत्काल सुविधा दिन माग गरेकी हुन्।

‘भूकम्पका कारण नेपाल समस्यामा परेको छ,’ उनले सुविधा माग गर्दै आफ्नो वेबसाइटमा उल्लेख गरेकी छन्, ‘अफ्रिकी देशहरूलाई यस्तो सुविधा दिइएकाले नेपाली तयारी पोसाकमा पनि भन्साररहित सुविधा दिन सकिन्छ।’

उनले गत मे १५ मा संशोधनको प्रस्ताव गरेको वेबसाइटमा उल्लेख छ। अमेरिकाको कुल तयारी पोसाकको आयातमा जम्मा शून्य दशमलव ०२ प्रतिशत मात्रै हिस्सा रहेको उनले उल्लेख गरेकी छन्। ‘जबकि उक्त सुविधाले संकटमा परेको नेपाललाई भने ठूलो राहत पुग्नेछ,’ उनले भनेकी छन्।

स्थानीय व्यवसायी पनि यस पटक अवसर भएको बताउँछन्। ‘अहिलेको अवस्थामा भन्साररहित सुविधा पाउने सम्भावना छ,’ तयारी पोसाक उद्योग संघका कोषाध्यक्ष सञ्जय अग्रवालले कान्तिपुुरसित भने। यसका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए। अमेरिकाका लागि नेपाली राजदूत अर्जुुन कार्कीले राष्ट्रपति बाराक ओबामासँगको भेटमा पनि यो विषय राखेको जानकारी पाएको उनले बताए। ‘अब सचिव वा मन्त्रीस्तरीय भ्रमण गरेर अवसरको सदुुपयोग गर्नुुपर्छ,’ उनले भने।

संघका पूर्वअध्यक्ष किरण साखका अनुसार भ्रमणअघि पूरा तयारी आवश्यक छ। ‘पूर्वराजदूतहरूसँग छलफल गरेर नेपाललाई माया गर्ने सिनेटर र संसद् पहिचान गर्नुपर्छ,’ उनले भने, ‘त्यहीअनुसार लबिङ गर्नुपर्छ।’

नेपालको तयारी पोसाकलाई भन्सार नतिरी पहुँच दिनेबारेको विधेयक यसअघि नै सिनेटमा पेस भइसकेको छ। फेनिस्टिनले उक्त विधेयक सुरुमा जनवरी ७ मा सिनेटमा दर्ता गराएकी हुन्। १३ एसियाली अतिकम विकसित मुलुकको अमेरिका बजार पहुँचका लागि निरन्तर प्रयास गरिरहेकी सिनेटर फेनिस्टिनको यस पटकको विधेयकमा भने नेपाललाई सुविधा दिनैपर्ने उल्लेख छ।

‘एसियाको गरिबतम् मुलुकमध्ये एक नेपालको तयारी पोसाकमा दिइँदै आएको कोटा खारेज भएपछि त्यहाँको उद्योग धराशायी भएको छ,’ फेनिस्टिनले विधेयकबारे सार्वजनिक गरेको धारणा उनको वेबसाइटमा छ ।

‘अमेरिकी बजारमा भन्सार नतिरी आउने वस्तुको हिस्सा ० दशमलव ५ प्रतिशतभन्दा कम भएकाले नेपाललाई सुविधा दिँदा केही फरक पर्दैन,’ उनको वेबसाइटमा भनिएको छ । अमेरिकी सिनेटको ११४ आंै कंग्रेसमा उनले दर्ता गराएको विधेयकको नाम ‘नेपाल ट्रेड प्रिफरेन्स एक्ट’ छ।

हाल नेपाली तयारी पोसाकले अमेरिका प्रवेश गर्न ११ दशमलव ५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ। यसलाई बढाएर ३२ प्रतिशतसम्म पु‍र्‍याउन सकिने अवस्था अमेरिकामा छ। जबकि त्यहाँको औसत भन्सार दर ४ प्रतिशतको हाराहारीमा छ। तयारी पोसाकमा बढी भन्सार लागेकाले नेपालजस्ता मुलुक समस्यामा परेका हुन्। जबकि अफ्रिकी अतिकम विकसित मुलुकले भन्सार नतिरी प्रवेश पाउँछन्। उनीहरूले अगुवा भन्ने व्यवस्थाअन्तर्गत उक्त सुविधा पाएका हुन्। ‘भूकम्पका कारण जोखिममा परेकाले सुविधा पाउने प्रशस्त सम्भावना छ,’ साखले भने।

अतिकम विकसित मुलुक (एलडीसी) लाई धनी देशहरूले भन्साररहित पहुँच दिनुपर्ने आवाज विश्व व्यापार संगठनलगायत अन्तर्रार्िष्ट्रयस्तरमै उठिराखेको छ। युरोपियन युनियन, भारतजस्ता मुलुकले एलडीसीका सबै उत्पादनलाई यो सुविधा दिइसकेका छन्। तर अमेरिकाले अन्य उत्पादनमा दिए पनि तयारी पोसाक, पस्मिनाजस्ता नेपालको तुलनात्मक लाभका वस्तुमा दिएको छैन।

यो सुविधा नदिनु र नेपालले पाइरहेको कोटा पनि खारेज भएपछि तयारी पोसाकको अमेरिकातर्फको निर्यात निरन्तर घटेको छ। कोटा खारेजीसँगै मुलुकभित्र पनि राजनीतिक अस्थिरता र लोडसेडिङजस्ता कारणले तयारी पोसाकको अमेरिका निर्यात धराशायी भएको हो। नेपाली तयारी पोसाकको अमेरिकातर्फको निर्यात १५ वर्षमा ९० प्रतिशतभन्दा बढीले घटेको छ। सन् २००१ मा १० अर्ब रुपैयाँ बराबरका पोसाक अमेरिका निर्यात भएको थियो। हाल यो रकम १ अर्ब १४ करोडको हाराहारीमा झरेको छ।

फेनिस्टिनको संशोधित प्रस्तावमा उल्लेख भएअनुसार तयारी पोसाक धराशायी हुँदा ८५ हजारले रोजगारी गुमाएका छन्। जसमध्ये ८० प्रतिशत महिला थिए। चार सयभन्दा बढी उत्पादक विस्थापित भए। अहिलेको विधेयकले फेरि एक पटक गुमेको बजार पाउने आशा व्यवसायीमा जगाएको छ।

यो विधेयक पारित भए नेपाली उत्पादन छिमेकी मुलुकहरू चीन, भारत र बंगलादेशको भन्दा ११ दशमलव ५ प्रतिशतसम्म सस्तो हुनेछ। फेनिस्टिनले यसरी एसियाली एलडीसीका लागि पहल गरेको चौथो पटक हो। यसअघि किट वन्ड र फेनिस्टिनले संयुक्त रूपमा यी मुलुकलाई भन्साररहित पहुँचका लागि पहल गरेका थिए। फेनिस्टिन अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाबाट सिनेटर हुन्। एउटा राज्यबाट २ जना मात्रै सिनेटर हुने हँुदा उनीहरूको त्यहाँको नीति निर्माण तहमा प्रभाव रहन्छ। यसअघि सबै अतिकम विकसित मुलुकका लागि प्रस्ताव आएको तर बंगलादेश र कम्बोडियाजस्ता मुलुकको निर्यात बढिरहेकाले पारित हुन नसकेको अड्कल नेपाली व्यवसायीको थियो।

यससँगै तिब्बती शरणार्थीको विषय पनि उठेपछि नेपाललाई समस्या परेको थियो। जुन अमेरिकी लगानी रहेको भोटेकोसी विवादसँग पनि त्यतिखेर जोडिएको थियो। यस पटक अमेरिकी बजारमा तयारी पोसाकको बजार निकै गुमाएको भन्दै डायनाले नेपालका लागि मात्रै विधेयक प्रस्तुत गरेकी छन्। उनले ३५ प्रतिशत नेपालमा मूल्य अभिवृद्धि भएको तयारी पोसाकलाई भन्साररहित पहुँच दिने बाटो खोली दिन राष्ट्रपतिसमक्ष आग्रह गरेकी छन्।

अमेरिकी प्रणालीमा सिनेट र हाउस अफ रेप्रिजेन्टले पारित गरेपछि त्यसलाई राष्ट्रपतिले सहीछाप गर्नुपर्छ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *