२०७२ जेष्ठ २५ सोमबार,
ब्युनस आयर्स : अर्जेन्टिना र उरुग्वेले आइतबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फराकिलो जित हात पारेका छन्। अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बोलिभियालाई ५-० गोलको फराकिलो अन्तरले हरायो। उरुग्वेले भने ग्वाटेमालालाई ५-१ गोलले पन्छायो।
कोपा अमेरिकाको अभ्यास खेलका रूपमा रहको उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि सर्जियो एगुरोले ह्याट्रिक गरेका थिए। दुई गोल भने एन्जल डी मारियाले आफ्नो नाममा लेखाए। खेलको २५औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।
यसैगरी २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एगुरोले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। ३१औं मिनेटमा एगुरोले गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको अवस्थामा पुर्याए।
यसैगरी निर्धारित समयको ५१औं मिनेटमा एगुएरोले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिलाई ४-० गोलले अगाडि बढाएका थिए। डी मारियाले ५५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि अर्जेन्टिनाले खेलको नतिजालाई ५-० ले आफ्नो पक्षमा पारेको थियो।
उरुग्वेले ग्वाटेमालालाई ५-१ गोलले हरायो। उरुग्वेको जितमा एडिसन काभानीले दुई तथा डिएगो रोलान, जियोर्जिन डी आरासकेटा र एबेल हर्नान्डेजले एकएक गोलको योगदान गरेका थिए। ग्वाटेमालाका विल्सन क्लमेन्ट लालिनले एक गोल फर्काएका थिए।
अन्य मैत्रीपूर्ण फुटबल खेलमा इक्वेडरले पानामालाई ४-० गोलले र कोलम्बियाले कोस्टारिकालाई १-० गोलले पन्छाए। पारग्वे र होन्डुरसले भने २-२ गोलको बराबरी खेलेका थिए।
स्रोत : अन्नपुर्णपोस्ट