२०७२ जेष्ठ २५ सोमबार,
बर्लिन : बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ले एउटा यस्तो पुस्ता जन्मायो जसले क्लब र अन्तर्राष्ट्रिय फुटबल दुवैमा सनसनी मच्चायो। यही पुस्ता स्पेनिस टोलीमा पनि हावी भयो, जसले स्पेनलाई चार वर्षको बीचमा दुईपटक युरो कप र एक पटक विश्वकप विजेता बनायो। यही पुस्ताले बार्सिलोनालाई क्लब फुटबलमा समेत सशक्त रूपमा उभ्यायो।
अर्जेन्टिनाका लियोनल मेसीलाई छाड्ने हो भने यो पुस्ताका धेरै खेलाडी स्पेनकै थिए। बार्सिलोना र स्पेन दुवैको सफलतामा महत्त्वपूर्ण रहँदै आएका ला मासियाका उत्पादन जावी हर्नान्डेज अब यी दुईमध्ये एकमा मात्र देखिने भएका छन्।
हर्नान्डेजले बार्सिलोनामा २४ वर्ष लामो बसाइ टुंग्याएका हुन्। शनिबार राति युरोपियन च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जित्दा कप्तान जावी नै थिए। बार्सिलोनाका लागि त्यो नै उनको अन्तिम खेल थियो।
टोलीको नियमित कप्तान आन्द्रेस इनियस्टाले ७८औं मिनेटमा मैदानबाट बाहिरिँदा कप्तानको ‘आर्म ब्यान्ड’ जावीलाई लगाइदिएका थिए। इनियस्टाकै स्थानमा जावी मैदानमा छिरेका थिए। उनलाई रंगशालामा उपस्थित दसौं हजार दर्शकले अभिवादन गरेका थिए।
जावीलाई मिडफिल्डका कुशल कलाकार मानिन्छ। सम्पूर्ण फुटबल समर्थकले मन पराउने थोरै खेलाडीमध्ये जावीको पनि नाम आउँछ। जावीले बार्सिलोनाका लागि २५ वटा उपाधि जिते, जसमध्ये पाँचवटा युरोपियन च्याम्पियन्स लिग रह्यो। उनले सन् १९९८ मा बार्सिलोनाको ‘ए’ डिभिजन टोलीमा ‘डेब्यु’ गरेयता यो क्लबका लागि सात सय ६७ खेल खेलेका छन्।
बार्सिलोनामा रहने क्रममा उनले क्लबको ‘टिकी टाका’ शैलीलाई प्ले मेकर रूपमा सशक्त बनाएका थिए। मध्यपंक्तिमा रहेर रक्षांपक्ति र अग्रपंक्तिका खेलाडीबीच तालमेल मिलाउन सक्नु उनको ठूलो खुबी थियो।
जावीले आफ्नो बिदाइ खेल स्मरणीय भएको बताए। ‘बिदाइको योभन्दा उत्तम तरिका अरू हुनै सक्दैन’, ३५ वर्षीय जावीले भने। उनले बार्सिलोनालाई सधैं सम्झिरहने बताए।
‘बार्सिलोनाका लागि अब खेल्दिनँ भन्ने दिमागमा आउँदा निकै गाह्रो हुँदो रहेछ’, उनले भने। स्पेनको टेरेस्सामा जन्मिएका जावी ११ वर्षको उमेरमा ला मासियामा आबद्ध भएका थिए।
सन् १९९८ मा इङ्लिस क्लब साउथ ह्याम्पटनविरुद्ध खेलेर उनले बार्सिलोनाको पहिलो डिभिजन टोलीमा ‘डेब्यु’ गरेका थिए। सोही वर्ष उनले स्पेनिस सुपर कपको फाइनलमा गोल गरे पनि बार्सिलोना मालोर्कासँग पराजित भएको थियो। तर प्रशिक्षक लुइस भान गालको आँखामा पर्न भने उनले भ्याए।
सन् १९९९ मा उनी एकाएक शिखरमा पुगे। बार्सिलोनाले त्यस वर्ष ला लिगाको उपाधि जित्यो भने जावी वर्ष खेलाडी घोषित भए। पेप गार्डिओला घाइते भएपछि बार्सिलोनाको मिडफिल्ड सम्हाल्ने जिम्मा जावीको काँधमा आयो, जसलाई उनले कुशलतापूर्वक निर्वाह गरे।
सन् २००० को सुरुआतमा बार्सिलोना आर्थिक संकटमा परे पनि न जावी बेचिए, न त उनी आफैंले त्यो चाहेका थिए। बार्सिलोनाले त्यतिबेलाका चर्चित खेलाडी लुइस फिगोलाई विश्व कीर्तिमानी स्थानान्तरण मूल्यमा बेचेर क्लबको आर्थिक सन्तुलन कायम गरेको थियो।
डेको, सामुएल इटो, रोनाल्डिन्होजस्ता खेलाडी टोलीमा भित्रिएपछि बार्सिलोनाले सन् २००५ र २००६ मा लगातार घरेलु लिगको उपाधि जित्यो। बार्सिलोनाले बहुप्रतीक्षित च्याम्पियन्स लिगको उपाधि पनि सन् २००६ मा जित्यो।
मिडफिल्डरका रूपमा जावीको भूमिका हरेकमा महत्त्वपूर्ण रह्यो। सन् २००८ मा स्पेनले जर्मनीलाई हराएर युरो कप जित्दा ठूलो योगदान गरेका जावीलाई त्यसपछि बायर्न म्युनिखले भित्र्याउने प्रयास पनि गरेको थियो। तर सोही वर्ष बार्सिलोनाको प्रशिक्षक भएर भित्रिएका गार्डिओलाले जावीलाई रोकेका थिए।
गार्डिओलाले प्रशिक्षकका रूपमा पहिलो वर्षमै ला लिगा, युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधि जिताएपछि जावी र बार्सिलोनाबीचको सम्बन्ध थप बलियो बनेको थियो।
जावीले सफलताको प्रेरणाका रूपमा मेसीलाई पाएका थिए। जावीले बार्सिलोनाका लागि घरेलु लिगमा ५८ सहित कुल ८४ गोल गरे। उनले अब कतारमा गएर व्यावसायिक फुटबल खेल्नेछन्।
स्रोत : अन्नपूर्णपोस्ट