ताजा खबर

जनसेवामा दलहरू

काभ्रे, जेष्ठ २३,
राजनीति दलहरू जिल्लाका भूकम्पपीडितसम्म पुगेर सेवा गरिरहेका छन् । उनीहरू आंशिक घर भत्काउन, व्यक्ति र विद्यालयका लागि टहरा बनाउने काममा जुटेका छन् । कांग्रेस, एमाले, एमाओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र दलका भ्रातृ संस्था अलग–अलग गाउँमा कार्यरत छन् । कांग्रेस झापा क्षेत्र नम्बर ७ को टोलीले अति प्रभावित नयाँगाउँ देउपुर गाविसमा टहरा निर्माण गरिरहेको छ । जस्तापातालगायत निर्माण सामग्रीसमेत लिएर आएको टोलीलाई काठमाडौं नेविसंघले सघाइरहेको छ ।

तरुण दल झापाको टोलीले काशीखण्ड १ मा ५० टहरा र १ विद्यालयका लागि टहरा निर्माण गर्दैछ । ‘केन्द्रीय नीतिअनुसार काभ्रेमा परिचालित भएका हौं,’ जिल्ला अध्यक्ष गोपाल तामाङले भने, ‘अरूको पीडामा सहयोग गर्न पाउादा खुसी छौं ।’ टोलीले बास, जस्तापातालगायत निर्माण सामग्री पनि साथमा ल्याएको थियो । नेविसंघ झापाको टोलीले महादेवस्थानस्थित उमा विद्या मन्दिरको पुनर्निर्माण गर्दैछ । नेपाल ट्ेरड युनियन कांग्रेसको निर्माण सम्बद्ध श्रमिक संघले पनि महादेवस्थान २ धाइटारमा ६ टहरा बनाएर केही चर्किएका संरचना भत्काउन मद्धत गरेको थियो ।

कांग्रेस बनेपा नगर समितिले १० घर र विपन्नका लागि २ सय ५० बोरा चामल वितरण गरेको छ भने सभासद कञ्चनचन्द्र बादेले व्यक्तिगत खर्चमा नगर क्षेत्रका अति विपन्न १० परिवारको टहरा निर्माण गरिदिएका छन् । जिल्लाका हरेक गाउँ पार्टी र भ्रातृ संस्था परिचालन गरिएको जिल्ला सभापति शिवप्रसाद हुमागाईंले जानकारी दिए । केन्द्रीय सदस्य बद्री पाण्डे र श्याम घिमिरेले जिल्लामा समन्वय गरिरहेका छन् ।

एमाले पनि चारै क्षेत्रमा स्वयंसेवक टोली परिचालन गरेको छ । कार्यालय सचिव बसुन्धरा हुमागाईंका अनुसार १ महिना श्रमदान गर्ने योजना छ । उपाध्यक्ष विद्या भण्डारीले निर्माणको अनुगमन गरिरहेकी छन् ।

एमाओवादीले जिल्लाका १९ विद्यालय, १ स्वास्थ्य चौकी र व्यक्तिका घर निर्माण गरेको छ । ‘पहिलो चरणको काम सक्यौं,’ जिल्ला अध्यक्ष दीनानाथ गौतमले भने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि चण्डेनी मण्डन गाविसमा अस्थायी टहरा निर्माण गर्न स्वयंसेवा गरिरहेको छ ।

तरुण दल पनि सक्रिय

कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचखाल ९ स्थित दनुवार बस्तीमा टहरा निर्माणका लागि सहयोग गरिरहेको छ । विपन्न र असहायका घर बनाउन तरुण दलका ४ दक्ष प्राविधिकसहित १५ स्वयंसेवक परिचालित छन् । त्यसका लागि समन्वय गरेका केन्द्रीय सदस्य महेश खरेलले त्यस क्षेत्रमा १ सय घर बनाउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार भत्किएको घरको सामान निकालेर बनाउँदा ४ हजारमा घर तयार हुन्छ ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *