के मोदी “तानाशाह” प्रधानमन्त्री हुन् ?

२०७२ जेष्ठ २३ ,

भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भइसकेको छ । एक वर्ष पूरा भएसँगै मोदी सरकारबारे अनेक कुरा बाहिर आएका छन् । केही विश्लेषकले मोदीले तानाशाही प्रवृत्ति देखाएको आलोचना पनि गरेका छन् । उपाध्यक्ष राहुल गान्धी लामो समय राजनीतिक छुट्टीमा बसेर नयाँ अवतारमा देखिएपछि कंग्रेसमा नयाँ उत्साह देखिएको छ । त्यो उत्साहका साथै कंग्रेसले मोदी र भाजपाको आलोचना पनि बढाएको छ । गुजरातमा १५ वर्ष शासन गरेका मोदीमाथि देशलाई पनि गुजरातको जस्तै मोडलमा चलाउन खोजेको आरोप लागेको छ । त्यसो त, मोदी आफैँले निर्वाचन अभियानमा गुजरात मोडल देशभर लागू गर्ने दाबी पनि गरेका थिए। मोदीले तानाशाही प्रवृत्ति देखाएको प्रमाणमा विश्लेषकहरूले अनेक उदाहरण दिएका छन् । पहिलो, प्रवीण तोगडियाको संरक्षण । गान्धीनगरका प्रवीण तोगडियालाई धार्मिक कट्टरपन्थी भन्नेहरू पनि छन् । उनले निर्वाचनअघि मोदीको पक्षमा खुलेर वकालत गरेका थिए । मोदी सरकार बनेपछि तोगडिया फेरि देश भ्रमणमा निस्किएका छन् । उनी हिन्दुत्वको पाठ सिकाउँदै आफ्नो नेता छवि उजागर गर्दैछन् । भाजपाका केही सदस्य, केही सांसद तथा मन्त्रीले पनि मुसलमान तथा इसाईविरुद्ध तोगडियाले अभिव्यक्ति दिएको आरोप लगाएका छन् । तर, मोदीले उनको चुपचाप समर्थन गरिरहेका छन् । दोस्रो, हिन्दुत्वको प्रचारमा लागेका राजनेताबारे मोदीले टिप्पणी पनि गरेका छैनन् । भारतीय विश्लेषक इन्दर मल्होत्रा भन्छन्, ‘हिन्दु महिलाले चार बच्चा जन्माउनुपर्ने, भारतमा रहेका सबै हिन्दु भएको जस्ता अभिव्यक्ति दिने नेतालाई मोदीले कहिल्यै टिप्पणी गरेका छैनन् । यो उनको अतिवादी सोच हो ।’ तेस्रो, मोदी पार्टी र सरकारमाथि नियन्त्रण जमाउने प्रयत्नमा लागिरहेका छन् । उनको वाक्पटुताको भारतमा मात्र होइन, विदेशमा पनि प्रशंसा भएको छ । यसको फाइदा उठाउँदै मोदीले आफ्ना वरपर तिनै मानिस राखेका छन् जो पहिले गुजरातमा पनि उनी निकट थिए । चौथो, भाजपा अध्यक्ष अमित शाह प्रधानमन्त्री मोदीनिकट मानिन्छन् । यी दुईलाई भारतीय राजनीतिका अन्तरंग मित्रका रूपमा पनि टिप्पणी गरिन्छ । मोदीले आफू प्रधानमन्त्री बनेपछि नै शाहलाई अध्यक्ष बनाएका थिए, प्रत्यक्ष/अप्रत्यक्ष प्रयासमा । त्यसैले, अहिले टिप्पणी गरिन्छ, ‘अहिलेको सरकारमा तीनजना मात्र छन् । मोदी, अमित शाह र अरुण जेट्ली ।’ यो टिप्पणीले मोदीले अन्य मन्त्री तथा भाजपा नेतालाई कुनै महत्त्व नदिएको प्रस्ट हुन्छ । लोकसभा निर्वाचनमा सानदार जित दर्ज गरेपछि मोदीले तानाशाह प्रवृत्ति देखाउन सक्ने अनुमान भएको थियो । यसका लागि भारतीय इतिहासको साक्षी लिइएको थियो । मार्च १९७१ मा इन्दिरा गान्धीले लोकसभा निर्वाचनमा सानदार जित हासिल गरेको र त्यही वर्ष १६ डिसेम्बरमा बंगलादेश स्वतन्त्रताको लडाइँमा जित हासिल गरेको प्रसंगलाई कोट्याइएको थियो । अहिले मोदीले पनि सानदार जित दर्ज गरेको र उनको महत्त्वाकांक्षा पनि बढेको विश्लेषण गर्न थालिएको छ । सन् १९३७ को नोभेम्बरमा कलकत्ता मोर्डन रिभ्यु पत्रिकामा लेखिएको थियो, ‘जवाहरलाल नेहरूसँग सतर्क रहनुहोस् । यस्ता मानिस खतरानक हुन्छन् । उनीहरू आफूलाई लोकतान्त्रिक र समाजवादी बताउँछन् । तर, जुनसुकै समय तानाशाहमा बदलिन सक्छन् ।’ पछिल्ला केही दिन मोदीले दिएका अभिव्यक्ति पनि यही प्रसंगसँग मिल्दाजुल्दा छन् । त्यसैले, उनीमाथि आशंका झन् बढेको छ । तर, अर्कातिर मोदीको प्रशंसा गर्ने र भारतीय विकासका लागि मोदीशैली मनपराउने पनि नभएका होइनन् । उनीहरू मोदीशैलीको प्रशंसा गर्दै मोदीले भारतको विकासमा ठूलो योगदान दिन सक्ने बताउँछन् । त्यसका लागि केही हदसम्म मोदीले तानाशाही प्रवृत्ति देखाउँदा पनि समस्या नहुने उनीहरूको तर्क छ । भाजपाका पहिला प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सन् १९९६ को पहिलो प्रधानमन्त्री कार्यकाल १३ दिन मात्र टिकेको थियो । तर, सन् १९९९ मा उनको नेतृत्वको गठबन्धनले निर्वाचनमा जितेको थियो । र, वाजपेयीले ५ वर्ष लगातार पहिलो गैरकंग्रेसी प्रधानमन्त्रीका रूपमा भारतीय राजनीतिक इतिहासमा आफ्नो नाम लेखाए । मोदीका लागि अबका चार वर्ष सुरक्षित छन् तर त्यसपछि के होला ? मोदीशैलीले यसको निर्धारण गर्नेछ ।

स्रोत : नयापत्रिका

Related posts