ताजा खबर

शनिबार भैरहवाको तापक्रम ४३ डिग्री नाग्यो

२३ जेष्ठ, २०७२,

भैरहवा–केही दिनदेखि बढेको गर्मीका कारण रुपन्देहीलगायत तराइको जनजीवन प्रभावित भएको छ।शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ। भैरहवास्थित गौतमबुद्ध बिमानस्थलमा रहेको मौसम शाखाका अनुसार शनिबार यस क्षेत्रको अधिकतम तापक्रम ४३ दशमलब ३ डिग्री सेल्सियस पुगेकेा छ।

शाखाका प्रमुख राजेश झाका अनुसार शनिबार तापक्रम ४३ दशमलब ३ डिग्री सेल्सियस मापन भएको जानकारी दिए।एकसाता अघि ४१ दशमलव १ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको थियो। भैरहवा स्थित मौसम शाखाका अनुसार गत वर्ष जेठ ७ गते सबैभन्दा बढी भैरहवाको तापक्रम ४२दशमलव६ डिग्री सेल्सियस मापन गरेको थियो।यसभन्दा अघिल्ला वर्षमा २०५५ सालमा भैरहवामा सबैभन्दा बढी ४४ दशमलव ८ डिगी्र सेल्सियस तापक्रम मापन गरिएको थियो। यो वर्ष जेठ महिना सुरु भएसगैं बुटवल भैरहवाको सरदर तापक्रम ३९ /४० डिग्री हाराहारीमा रहेको शाखाले जनाएको छ।

गर्मी अत्यधिक बढेपछि बजारमा चहल पहल निकै घटेको छ। गर्मीका कारण अत्यावश्यक काम बाहेकमा सबैसाधारण बाहिर निस्कन सकेका छैनन। शहर तथा चोकमा दिउँसो चहल पहल घटेको छ। गर्मीले विशेषगरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ।साना बालबालिका तथा बृद्धबृद्धालाई गर्मीले बढी असर गरेको छ।

बढ्दो गर्मीकै कारण बिभिन्न रोगका संक्रमण बढेपछि अस्पतालमा बिरामीको भिड लागेको छ। झाडापखाला, आउँ, ज्वरो, टाइफाइड, तथा जण्डिसका बिरामीको संख्या बढेको सरकारी तथा निजी अस्पतालहरुले जनाएका छन्। दैनिक एक सयको हाराहारीमा बिरामी आउने जिल्ला भिम अस्पताल भैरहवामा अहिले डेढसय बिरामी आउने गरेको अस्पतालको सुचना शाखाले जनाएको छ । बुटवलस्थित लुम्बिनी अंचल अस्पतालमा पनि गर्मीका कारण बिरामीको चाँप बढेपछि एउटै बेडमा दुइ तिन जना राखेर उपचार गर्नु पर्ने अवस्था आएको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए। अस्पताल आउने बिरामी मध्ये आधा भन्दा धेरै बालबालिका तथा बृद्धबृद्धा रहेको अस्पतालका सुचना अधिकृत रेग्मीले जानकारी दिए।

गर्मीमा बढी देखिने झाडापखाला आउ जस्ता रोगहरु महामारीको रुपमा देखा नपरेपनि बालबालिका तथा बृद्धबृद्धा बढी प्रभावित भएको उनले बताए। त्यस्तै यस क्षेत्रका निजी तथा सामुदायिक अस्पतालहरुमा पनि बिरामीको चाँप हवात्तै बढेकेा छ। गर्मी बढेपछि स साना बालबालिकामा ज्वरोको प्रकोप देखिएको आम्दा अस्पताल बुटवलले जनाएको छ। त्यस्तै यस क्षेत्रमा रहेका निजी अस्पतालहरुमा पनि बिरामीको सख्ंया उल्लेख्य बढेको सम्बन्धित अस्पतालहरुले जनाएका छन।

स्रोत : नागरिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *