२०७२ जेष्ठ २३ शनिबार,
महिला सशक्तीकरणको कुरा गर्दा हलिउड सेलिब्रेटी विश्वमै उदाहरणीय मानिन्छन्। उनीहरू जति सशक्त र बिन्दास हुन्छन् निजी जीवनमा त्यत्तिकै अनौठा निर्णय पनि गर्छन्।
प्रेम, सेक्स, विवाह, सम्बन्धविच्छेद, सन्तान लाभजस्ता निजी जीवनका धेरै कुरा केवल उनीहरूको निर्णयमा निर्भर रहन्छ।
यहाँ केही हलिउड सेलिब्रेटीको चर्चा गरिएको छ, जो दमदार सिंगल मदरका रूपमा परिचित छन्।
आमा बनेपछि स्वस्थ र शान्ति
जनवरी जोन
अमेरिकी मोडेल तथा नायिका जनवरी जोन ३७ वर्षकी भइन्। प्रभावकारी सिंगल मदरमा उनको पनि नाम आउँछ। सन् २००७ मा चलचित्र ‘म्याड म्यान’को अभिनय सकेलगत्तै उनी गर्भवती बनेकी थिइन्।
उनको बच्चाका बाबुको बारेमा धेरैले जिज्ञासा राखे पनि यसबारेमा उनी मौन छिन्। एकल आमाले धेरै चुनौती सामना गर्नुपरे पनि असल आमाको भूमिका निर्वाह गरिरहेको उनी तर्क गर्छिन्।
एक अन्तर्वार्तामा जनवरीले भनेकी छन्, ‘मातृत्व कति प्यारो हुन्छ भने तपाईं कल्पना गर्न सक्नुहुन्न, चाहे त्यो एक्लो अभिभावक किन नहोस्।’ उनले आमा बनेपछि स्वस्थ र शान्ति पनि महसुस गरेको बताएकी छन्।
धर्मपुत्रबाट खुसी लिँदै
सान्द्रा बुलक
ओस्कार अवार्ड विजेता नायिका सान्द्रा बुलक हलिउडकी सफल नायिका मानिन्छिन्। उनको पछिल्लो चलचित्र ‘ग्राभिटी’ले हलिउड बक्स अफिसमा राम्रो प्रभाव पार्यो।
पर्दामा एकपछि अर्को गर्दै सफलता चुमेकी ५० वर्षीया सान्द्राको वैवाहिक जीवन भने सुखमय छैन। उनले जेस्सी जेम्ससँग विवाह गरेकी थिइन्।
तर जेम्स उनीप्रति इमन्दार नभएको र एकैपटक धेरै महिलासँग सम्बन्ध राख्ने गरेकाले पाँच वर्षभन्दा बढी उनीसँग रहन सकिनन्।
त्यसपछि सान्द्राले लुइस नाम गरेका धर्मपुत्र ग्रहण गरिन्। लुइसको साथ रमाइलो समय बिताउने गरेकी सान्द्रा प्रभावकारी एकल आमाका रूपमा परिचित छिन्।
प्रेमीबाट छोरी
हेल बेरी
मानिसको जिन्दगीमा सफलता र सुन्दरताले मात्रै खुसी ल्याउन सक्दैन भन्ने उदाहरण बनेकी छन् हलिउड अभिनेत्री हेल बेरी। नाम चलेका चिकित्सक, खेलाडी, मोडेल, अभिनेतासँग प्रेमसम्बन्धमा रहे पनि कसैसँग पनि उनी लामो समय रहन सकिनन्।
विवाह नै तीनपटक गरिन् तर सम्बन्धविच्छेद भएन। एकजना मोडेल प्रेमीबाट छोरीलाई जन्म दिएकी उनले छोरीको खुसीका लागि जे पनि गर्ने कसम खाएकी छन्।
हलिउडमा सर्वोत्कृष्ट अभिनेत्री, गोल्डन ग्लोब, इमी अवार्ड आदि पाइसकेकी छन्। चलचित्र ‘एक्स म्यान’को सिरिजमा काम गर्ने गरेकी उनले मिस वर्ल्ड १९८६मा छैटौं स्थान हासिल गरेकी थिइन्।
पतिसँग बिछोड पूर्वप्रेमीबाट छोरी
पद्मा लक्ष्मी
विश्वप्रख्यात साहित्यकार सलमान रुस्दीसँग विवाह गरेकी हलिउड नायिका एवं मोडेल पद्मा लक्ष्मी ४४ वर्षकी भइन्।
आफूभन्दा २३ वर्ष जेठो सलमानसँग विवाह गरे पनि चार वर्षभन्दा बढी वैवाहिक जीवन टिक्न सकेन। पत्नी पद्मा लक्ष्मीका लागि सलमानले ‘फ्युरी’ नामक उपन्यास लेखेका छन्।
पद्माकी एक छोरी छिन् तर छोरी सलमानबाट नभई डेल कम्प्युटरका मालिकका भाइ (पूर्वप्रेमी) बाट भएको भनिएको छ।
पूर्वप्रेमीसँग छोरीको रेखदेखका लागि कानुनी लडाइँ भइरहे पनि छोरीलाई आफैंले हुर्काइरहेकी छन्।
प्रेम एवं वैवाहिक जीवन असफल भएपछि हलिउडमा उनी दमदार एकल आमाका रूपमा स्थापित छिन्।
आफ्नै रोजाइमा सिंगल मम
म्याडोना
बहुप्रतिभाशाली आमाका रूपमा चिनिएकी विश्वप्रख्यात गायिका म्याडोना व्यक्तिगत जीवनमा जति उच्छृंखल भए पनि असल आमाका रूपमा चिनिएकी छन्।
पाँच वर्षमै आमा गुमाउनु परेको पीडा खेपेकी म्याडोनाले आफ्ना दुई र ग्रहण गरेका दुई गरी चारजना बच्चाको हेरचाह गर्दै आएकी छन्।
उनले एक छोरो पूर्वश्रीमान् र अर्को आफ्ना फिटनेस प्रशिक्षक प्रेमीबाट जन्माएकी हुन्।
कसैसँगको सम्बन्धमा लामो समय बस्न नसक्ने म्याडोनाले आमाको महत्त्व कस्तो हुन्छ भन्नेचाहिँ देखाइदिएकी छन्।
‘मल्टी टास्किङ इज माई मिडल नेम’ भन्ने गरेकी उनी एकल आमा हुनु आफ्नै रोजाइ भएको दाबी गर्छिन्।
दुई छोरा हेर्दै विवाहको पखाईमा
ब्रिट्नी स्पेयर्स
टिनएजमै चर्चित बनेकी गायिका ब्रिट्नी स्पेयर्सले चर्चाको शिखरमा रहेकै बेला आफ्नो बाल्यकालको साथीसँग विवाह गरिन्। तर, उनीहरूको विवाह केही दिनमै टुट्यो।
केही समयपछि अमेरिकी डान्सर केभिन फेडेरलिनसँग विवाह गरेकी उनले केभिनबाट दुईजना छोरो जन्माइन्। कान्छो छोरो जन्मिएको केही समयपछि ब्रिट्नीले कभिनसँग सम्बन्धविच्छेद गरिन्।
दुवै छोरोको रेखदेख भने ब्रिट्नीले नै गर्दै आएकी छन्। ३३ वर्षीया ब्रिट्नीले पुन: विवाह गर्ने चर्चा पटकपटक भएको छ।
विभिन्न व्यक्तिसँग नाम जोडिएको छ। तापनि अहिलेसम्म उनी एकल आमाका रूपमा रहेकी छन्।
दुई छोराकी ग्ल्यामरस आमा
केट हड्सन
गोल्डन ग्लोब, एकेडेमीजस्ता प्रतिष्ठित अवार्ड पाइसकेकी नायिका केट हड्सनका आमाबाबु उनी १८ महिनाको हुँदा अलग भएका थिए। बाल्यकालमा बाबुआमासँगै नभएको पीडा अनुभूति गरेकी उनको जीवनमा पनि त्यही घटना दोहोरिएको छ।
३६ वर्षीया हडसनको दुईवटा विवाह असफल भइसकेको छ। क्रिस रोबिन्सनसँग पहिलो विवाह गरेर लगभग ६ वर्ष सँगै बसे पनि असमझदारीका कारण आफैंले डिभोर्स मागेकी थिइन्।
रोबिन्सनको तर्फबाट उनले एक छोरा जन्माइन्। त्यसपछि मफ बेलामीसँग दोस्रो विवाह गरेकी केटले उनीबाट अर्को छोरा जन्माइन्।
स्रोत : अन्नपुर्णपोस्ट