२०७२ जेष्ठ २२ शुक्रबार,
नयाँ पिँढीको जीवनशैलीमा आएका कतिपय खुला र परिवर्तित व्यवहारका एउटा नकारात्मक कडी सहरी समाजमा युवतीहरूमाझ भित्रिएको चुरोट संस्कृति हो।
महिला अम्मलीको संख्या दिन दुई गुणा रात चार गुणा बढ्दै गएको छ। सुरुमा फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीहरूको लहैलहमा लागेर सुरु गरेको धूमपानपछि लतका रूपमा विकसित हुन्छ र बिरामी, पीडा, विभिन्न किसिमका रोगको खाडलतिर घचेटिरहेको हुन्छ भने फजुल खर्च भइरहेको स्वयं अम्मलीहरूलाई पनि थाहा हुँदैन।
भर्खरका किशोरीमा चुरोटको लत मौलाउनुको पछाडि तिनको पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत, साथीसंगत, बढ्दो पश्चिमा संस्कृतिको आकर्षण र कतिपयहरूमा डिप्रेसन पनि कारक पाइन्छ।
अभिभावकको बेवास्ता, पश्चिमा संस्कृतिको आकर्षण, पैसाको दम्भ, साथीहरूको सरसंगत र नैतिक शिक्षाको अभावका कारण निजी क्याम्पस पढ्ने युवायुवतीमा चुरोट खाने बढेको देखिन्छ।
यद्यपि चुरोट सेवनले स्वास्थ्यमा हानी गर्छ भन्ने यिनीहरूलाई थाहा नभएको होइन। आधुनिक र पश्चिमी जीवनशैलीको नक्कल गर्ने नशाले, चुरोटको नशाले गर्ने नोक्सानी बिर्साइदिएको छ।
क्याबिन र डान्स रेस्टुराँमा काम गर्ने युवतीहरूमा पनि यो चुरोट संस्कृति झांगिएको छ। उनीहरूमा आधुनिक बन्ने होडमा भन्दा मानसिक तनाव, आर्थिक अभाव र पारिवारिक वातावरण नपाउँदा तथा ग्राहकको संगत र मालिकको कमाइका लागि चुरोट र रक्सीको लतमा फसेका छन्।
मोडलिङ र सिनेमामा काम गर्ने सेलिब्रिटीहरूमा पनि चुरोट संस्कृतिले जरा गाडेको छ। यस क्षेत्रका उनीहरू आदर्श व्यक्तित्वका रूपमा युवा पिँढीमा रहेका कारण चलचित्र, म्युजिक भिडियो, मोडलिङ तथा सञ्चार माध्यमबाट प्रभावित भएर किशोरीहरू चुरोटको लतमा परेका पाइन्छन्।
सहरमा रात्रि मनोरञ्जनस्थलमा काम गर्ने, मनोरञ्जन गर्न आउने, डान्स, डिस्कोजस्ता पार्टीहरूमा बढी उपस्थिति जनाउने महिलामा धूमपानको लत बढेको पाइन्छ।
चुरोट पिउनुलाई सामान्य मान्ने घरानिया एवं सम्पन्न परिवारका सहरी महिलाहरू र पीर वेदना बिर्साउन बिडीको मद्दत लिने गाउँघरका गरिब महिला दुवै अम्मली भएका छन्।
फैसनेवल, आकर्षक र डिस्को, बार, क्लबमा नि:शुल्क वितरण गरी युवतीहरूलाई उत्पादक कम्पनीले लोभ्याइरहेका पनि छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा नेपालमा धूमपानका कारण दैनिक ६७ जना व्यक्तिले ज्यान गुमाउने गरेका छन्। वर्षमा मृत्यु हुने २५ हजारमा पुरुष १५ हजार र महिला १० हजार छन्।
सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगको उपचारमा सरकारले प्रत्यक्ष रूपमा वार्षिक चार अर्ब र अप्रत्यक्ष रूपमा ४७ अर्बभन्दा बढी बजेट खर्च गर्ने गरेको छ। नेपालका २९ प्रतिशत महिलाले धूमपान गर्छन्।
अरू त अरू १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूमपान गरेको पाइन्छ। ७० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको विभिन्न स्वास्थ्य शिविरमा मुख परीक्षण गर्दाको अनुभव छ मेरो।
साथीका कारण ५३ प्रतिशतले आफन्तको सिको गरेर १९ प्रतिशत उत्सुकताले, आठ प्रतिशत लोग्नेको हौसलाले, दुई प्रतिशत इच्छा लागेर धूमपान गर्ने गरेको पाइन्छ।
धूमपान नगर्ने महिलाको भन्दा धूमपान गर्ने महिलाको मासिकचक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनैकुनै बेलामा अरूभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छन्।
महिलाको जीवरस निर्माण गर्ने ग्रन्थीहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाझोपना भई आमा बन्ने सुन्दर सपना चकनाचुर पार्छ, धूमपानले।
गर्भवती महिलाका लागि धूमपानले विषको भन्दा बढी काम गर्छ। गर्भावस्थामा धूमपान गर्नाले शिशुमा मस्तिष्क ज्वरोलगायतका ५० थरीका रोग लाग्ने, विभिन्न खतरा उत्पन्न हुने सम्भावना हुन्छ।
गर्भभित्रै शिशुको सुकेनास लागि मृत्यु हुने, अचानक मृत्यु, गर्भपात, कम समयमै शिशु जन्मने, कम तौल भएका शिशु जन्मने, शिशुको शारीरिक र मानसिक विकास अवरुद्ध हुन सक्ने, गर्भस्थ शिशु तथा जन्मेका बच्चालाई विभिन्न रोग लाग्ने सम्भावना र खतरा रहन्छ।
सन् २००५ मा काठमाडौं र ललितपुरमा गरिएको सर्वेक्षणमा धूमपान प्रयोग गर्ने आमाबाट जन्मिएका ६१.५ प्रतिशत शिशु कम तौलका थिए। महिलाको दूधमा निकोटिनको मात्रा रहने हुँदा शिशु स्वस्थ नहुने, झगडामात्र गरिरहने स्वभावका हुन्छ।
धुवाँले वरपरको वातावरण प्रदूषित भई सँगै रहने बालबालिका, वृद्धवृद्धालाई पनि असर पार्छ। धूमपानले महिलाको सौन्दर्यमा असर पार्छ।
धूमपानले मुख गन्ध आउने, दाँतमा कालो दाग रहने, दन्त लेउ र पत्थर बढाउने, दन्त सड्न, गिजासम्बन्धी रोगहरू, गिजाबाट रगत आउने, दाँत र गिजालाई बेरंगी पनि बनाउँछ। अनुहारमा विशेषगरी आँखा वरिपरी र गालामा चाउरी पर्छ।
महिलाले प्रतिदिन १० चुरोट ५० वर्षसम्म पिउनेमा पाँच गुणा बढी चाउरी परेको पाइएको छ। रौं र कपाललाई नकारात्मक असर पारी सुक्खा, छोटो, नराम्रो बनाउँछ। रक्तसञ्चारबाट छालामा अक्सिजन घटाउँछ।
नङलाई पहेँलो वा खैरो बनाउने, हातका औंला बेरूपी बनाउने काम गर्छ, धूमपानले। चुरोट, सुर्ती खाने महिलाको आर्थिक अवस्था कमजोर हुने, स्वास्थ्य कमजोर हुने तथा सामाजिक रूपले तिरस्कृत हुन पुग्ने अवस्था पनि आउँछ।
सबै तह र तप्कालाई जुनसुकै उमेर र लिंगलाई सुर्तीले नकारात्मक असर पार्छ। प्रशोधित सुर्तीमा दुई हजार पाँच सयभन्दा बढी रासायनिक तत्त्व हुन्छन् भने ४३ तत्त्वहरू क्यान्सर लगाउन सक्ने तत्त्वहरू हुन्छन्।
त्यही सुर्तीलाई बाल्दा चार हजार रसायन, चार सय विषालु पदार्थ र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्त्वहरू बन्छन्। धूमपानमा भएका तत्त्वहरू शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्तनली, श्वासप्रश्वास, प्रजनन, दन्त स्वास्थ्य, मस्तिष्कहरू लगायत शरीरका सम्पूर्ण अगंप्रत्यंगमा घातक असर पर्छ। श्वासप्रश्वास, मुटु रोगलगायतका २५ किसिमका रोग र दुई तिहाइ क्यान्सर बनाउँछ।
समस्याहरूको समाधानमा सहयोग पु:याउन, सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागूपदार्थको प्रवेशद्वार भएको आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा विश्व धूमपानरहित दिवस विभिन्न समसामयिक नारा तय गरी मनाइन्छ। यस वर्ष ‘गैरकानुनी सूर्तीजन्य पदार्थप्रति सचेत बनौं र प्रतिबन्ध गरौं’ भन्ने नारा थियो।
समग्र रूपमा घरमा महिलाको स्वास्थ्यस्थिति सबल रहँदा परिवारको त घरायसी वातावरण समुन्नत बन्छ नै यसले सामाजिक तथा आर्थिक क्रियाकलापका पक्षमा समेत सकारात्मक संकेत प्रदर्शन हुन्छ।
कडा नियम कानुन तर्जुमा र तिनका कडाइका साथ लागू गर्न गराउन र सुर्तीजन्य पदार्थको नियन्त्रणमा सम्पूर्ण नागरिक लाग्नै पर्छ।
स्रोत : अन्नपुर्णपोस्ट