ताजा खबर

मेलम्चीको सुरुङ खन्न कामदार अभाव

काठमाडौ, जेष्ठ २२,
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सुचारु हुन अझै केही समय लाग्ने भएको छ । विनाशकारी भूकम्पपछि कामदारको अभावले सुरुङ खन्ने काम सुचारु हुन नसकेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख घनश्याम भट्टराईले मजदुर खोजेर सुरुङ खन्ने काम सुचारु गर्न ठेकेदारलाई निर्देशन दिइएको बताए । ‘पहिलो चरणमा कामदार तत्काल खोजेर सुन्दरीजलबाट सुरुङ खन्ने काम सुरु गर्न निर्देशन दिएका छौं,’ उनले भने । चरणबद्ध रूपमा अन्य अडिटबाट काम सुचारु गरिने उनले बताए ।

आयोजनाले भूकम्पले सुरुङमा पुर्‍याएको क्षतिबारे प्राविधिकहरूले अध्ययन गरिरहेको दाबी गरे । ‘अध्ययन टोलीले निरीक्षण अनुगमन गरिरहेको छ, केही दिनभित्र सार्वजनिक गर्छौं,’ उनले भने, ‘खासै क्षति पुर्‍याए जस्तो छैन ।’ अम्बाथान अडिट प्रवेश गर्ने बाटो भने निकै क्षति भएको उनले जानकारी दिए ।

सरकारले २०७३ वैशाख १ गते मेलम्चीको पानी उपत्यकामा पुर्‍याउने घोषणा गरेको छ । तोकिएको अवधि आउन ९ महिनामात्र बाँकी हुँदा साढे २७ किमिमध्ये करिब १२ किमिमात्र सुरुङ खनिएको छ । भट्टराईले रातदिन काम गरे समयमै सुरुङ खन्ने काम सम्पन्न हुने दाबी गरे । ‘हेभी उपकरण र मजदुरको संख्या बढाए काम चाँडै हुन्छ, ठेकेदारले विभिन्न बहाना गरेर ढिलाइ गरिरहेको छ,’ उनले भने ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *