बुटवल, जेष्ठ २२ ,
एकमात्र विदेशी टिम दार्जिलिङ–११ को चुनौती सेमिफाइनलमा समाप्त पार्दै शुक्रबार आयोजक टिम रूपन्देही ११ बुटवलमा भइरहेको १८ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाइनलमा दीपक राईको ह्याट्रिक सहयोगमा रूपन्देहीले दार्जिलिङमाथि ५–२ को जित रच्यो । मनाङ–मस्र्याङ्दीसँग आबद्ध फरवार्ड दीपकले उच्चस्तरको क्लब फुटबलमा करिअरकै पहिलो ह्याट्रिक गरेका हुन् ।
खेल निकै रोमाञ्चक रह्यो । रूपन्देहीका पुकार गहतराजले १६ औं मिनेटमा गोलको खाता खोलेका थिए । पेनाल्टी क्षेत्रमा दार्जिलिङका दिवस तामाङले विमल घर्तीमगरलाई फल गर्दै लडाएपछि रूपन्देहीले पेनाल्टीको अवसर पाएको थियो र त्यसैमा पुकारले गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै रूपन्देहीले दोस्रो गोल गर्यो ।
दीपकले मैदानको मध्यभागबाट एक्लै अगाडि बढाउँदै लगेर २० औं मिनेटमा उत्कृष्ट गोल गर्दै रूपन्देहीको अग्रता दोब्बर पारेका थिए । पछाडि परेपछि दबाबमा देखिएको पाहुना टिम दार्जिलिङले पनि थुप्रै अवसर गुमाएको थियो । रेवन राईले ३६ औं मिनेटमा गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काउने आस दिलाएका थिए । तर, विमलले ४२ औं मिनेटमा गोल गर्दै रूपन्देहीलाई ३–१ ले अघि बढाए ।
रूपन्देहीका तर्फबाट दोस्रो हाफमा भएका दुवै गोल दीपकको नाममा रहे । उनले ५४ र ५९ आंै मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । उनी म्यान अफ द म्याच पनि भए । दार्जिलिडका लागि दोस्रो गोल भाइचुन राईले ७६ औं मिनेटमा गरे ।
स्रोत : अन्नपुर्णपोस्ट